Erani Mahal
बालीघरे प्रथा छुट्याे : ज्यालादारीले दाम र सम्मान दुबै
DSC07721

पाल्पा - बालीघरे प्रथालाई ज्यालादारीमा परिणत गरेपछि आरनमा काम गर्ने पाल्पाका दलित समुदायले राम्रो आम्दानी सँगै उनीहरुले सम्मान समेत पाउन थालेका छन् । परम्परागत बालीघरे प्रथामा चलेको आरन पेशालाई परिवर्तन गर्दै ज्यालादारीमा परिणत गरेपछि घरेलु एवं कृषि औजार बनाउन दक्ष भएका दलित समुदायले राम्रो आम्दानी गर्न थालेका हुन् ।

बालीघरे प्रथाबाट सिकेको सीपलाई प्रयोग गरी समय अनुसार ज्यालादारीमा परिवर्तन गरी आम्दानीको माध्यम् बनाउन लागेको उनीहरू बताउँछन् । फलामका विभिन्न औजार बनाउने सीपबाट दक्ष भएका उनीहरू आफ्नो पेशाबाट बिस्थापित हुने अवस्थामा पुगेपछि पेशालाई ज्यालादारीमा परिवर्तन गरेर अघि बढेको यम्घा–टोक्सेका खुमबहादुर विश्वकर्माले बताउनुभयो ।


पहिले बावु बाजेको पालामा बालीघरे प्रथामा काम गर्दा आम्दानी हुँदैन थियो उहाँले भन्नुभयो अहिले पेशालाई आधुनिक बनाएर ज्यालादारीमा काम गरेपछि राम्रो आम्दानी भएको छ । बालीघरे प्रथा छाडेर ज्यालादारीमा काम गरेपछि काम अनुसारको सामाजिक सम्मान र फल प्राप्त भएको छ उहाँले भन्नुभयो दाम र सम्मान सँगै पाउनु हाम्रो लागि नयाँ अनुभव हो ।

बालीघरे प्रथामा आफूहरू ठगिएको महशुस गर्दै पाल्पाका आरनमा काम गर्ने दलित समुदायले आफ्नो सीप प्रयोग गरेर कृषि औजार तयार गर्छन् । यसको बिक्री गर्न समूह बनाएर बुटवल, पाल्पा, स्याङ्जासम्म निर्यात गरेको उनीहरूको भनाई छ । बालीघरे प्रथालाई व्यावसायिकतासँगै ज्यालादारीमा परिणत गर्दा कच्चा सामग्रीको सहज उपलब्धता र श्रमको मुल्य पाएकोमा उनीहरू उत्साहित बनेका छन् ।

यसका साथै समाजमा हेपिएर समेत बस्न नपरेको उनीहरुको भनाई छ । बावु बाजेदेखि सिक्दै आएको सीपको प्रयोग पनि हुने र आफ्नो पेशाबाट बिस्थापित पनि हुन नपर्ने भएकाले बालीघरे प्रथालाई ज्यालादारीमा परिवर्तन गरेर अघि बढेको माथागढी कसेनीका रुकबहादुर विकले बताउनुभयो ।

बावु बाजेदेखि आरनको काम सिकियो उहाँले भन्नुभयो वर्षभरि एक पाथी मकै, पाँच पाथी धानमा काम गर्दै आएकोमा अहिले वर्षभरिको कमाई एक/दुई दिनमै गर्न सकेको छु । पहिल बावु बाजे बसेको कसेनीको धामिघाबाट बसाइ सरेर आउदा पनि यहाँ पेशालाई व्यवसायिक बनाउन सहज भएको उहाँले बताउनुभयो ।


आरनको काम ज्यालादारीमा गर्दा कम परिश्रममा आर्थिक र समाजिक फाइदा हुने उनीहरू बताउँछन् । बालीघरे प्रथामा धेरै मिहिनेत गरेर पनि आर्थिक फाइदा लिन गाह्रो भएको थियो । बालीघरे प्रथा छाडेर एक्लैले आरनमा ज्यालादारीमा काम गर्दा सामाजिक रुपमा सम्मान र आर्थिक उपार्जन राम्रो भएको उहाँले बताउनुभयो ।

आरनमा कृषि औजारहरू हसिया, आसी, बन्चरा, कोदालो बनाउँदै आएका थिए भने अहिले फल टिप्ने औजार, भूसे चुल्हो, मकैं छोडाउने औजार बनाउँदै आएका छन् । आरनमा बन्दै आएका ति घरेलु एवं कृषि औजारहरू उनीहरूले मुल्य तोकेर बिक्री गर्ने गरेका छन् । बावु बाजेको सिकाएको सीत अहिले ज्यालादारी गरेपछि मात्र आफूहरूले फाइदा लिन सकेको उनीहरू बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update