Erani Mahal
पाल्पाकाे लुम्विनी मेडिकल कलेजले विद्यार्थीसँग ३२ कराेड ९६ लाख बढी अशुल
citing-losses

पाल्पा - सरकारले बनाएकाे मेडिकल कलेजले लिनेबारे अध्ययन् गर्न बनेकाे छानविन समितिले देशभरिका मेडिकल कलेजहरूले विद्यार्थीसँग ताेकेभन्दा बढी शुल्क उठाएकाे प्रतिवेदन ल्याएकाे छ । मेडिकल कलेजले लिने शुल्कबारे त्रिभुवन विश्वविद्यालयले समेत छानबिन गरेको थियो ।

विश्वविद्यालयले रिपोर्ट लुकाएर मेडिकल कलेजलाई जोगाउन खोजेपछि ६ महिनाअघि प्रधानमन्त्री कार्यालयले छानबिनको जिम्मेवारी सतर्कता केन्द्रलाई दिएको थियो ।  सचिवलाई बुझाइएको प्रतिवेदनमा सञ्चालकहरूविरुद्ध सम्पति शुद्धीकरणअन्तर्गत छानबिन गर्नसमेत सुझाब दिइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ वटै निजी मेडिकल कलेजका सञ्चालकहरूको सम्पत्ति छानबिन अघि बढाइसकेको छ । नेपाल मेडिकल कलेज र चितवन मेडिकल कलेजको अतिरिक्त शुल्क लिएको विवरण छानबिन समितिले समावेश गर्न सकेको छैन । सो समितिको रिपोर्टसहित गरेर १४ वटा मेडिकल कलेजले तीन वर्षमा करिब तीन अर्ब ठगी गरेको पाइएको छानबिन समिति स्रोत बताउँछ ।
सरकारले तोकेभन्दा बढी शुल्क असुलेका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिएको छ । सो अवधिमा विद्यार्थीलाई रकम फिर्ता नगरिए कलेज सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने गृहमन्त्री रामबहादुर थापाले बताउनुभएकाे छ ।

सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको बैठकले अतिरिक्त शुल्क फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिने र अटेर गर्नेलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निर्णय गरेको हो ।

कलेजले शुल्कमा ठगेको भन्दै चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले सोमबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएको थियो । बैठकमा गृहसचिव प्रेम राई, शिक्षासचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयकी उपकुलपति सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेती, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (आइओएम)का डिन जगदीश अग्रवाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन डा. राजेन्द्र कोजूलगायत सहभागी रहनुभएकाे थियाे ।

सरकारले काठमाडौं उपत्यकामा एमबिबिएसका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । ट्युसन, ल्याब, लाइब्रेरीलगायत सबै शुल्क यसैभित्र समेटेको छ । तर, निजी मेडिकल कलेजले मनलाग्दी चर्को शुल्क असुलिरहेका नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ । 

विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजलाई ६ महिनाअघि नै निर्देशन दिएको थियो । तर, शिक्षाको निर्देशन कलेजहरूले टेरेका छैनन् । ८ चैत ०७५ मा शिक्षा मन्त्रालयले गण्डकी मेडिकल कलेजको त नाम नै तोकेर निर्देशन दिएको थियो । सो कलेजले विद्यार्थीअनुसार फरक–फरक शुल्क उठाएको विद्यार्थीको आरोप छ । छात्रवृत्तिका विद्यार्थीसँग ६ लाख र अन्यसँग १३ देखि २० लाखसम्म बढी उठाएको विद्यार्थीको दाबी छ । 

लुम्बिनी मेडिकल कलेज, पाल्पा
ठगी : ३२ करोड ९६ लाख

सन् ००९ देखि एमबिबिएस अध्ययनको अनुमति पाएको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजले पछिल्ला तीन वर्षको अवधिमा विद्यार्थीसँग ३२ करोड ९६ लाख ८४ हजार अवैध असुल गरेको छानबिन समितिको ठहर छ । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क उठाएको छ । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी गरिएको प्रतिवेदनमा उल्लेख छ । 

गण्डकी मेडिकल कलेज 
ठगी : ४३ करोड ५ लाख

पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट तीन वर्षमा ४३ करोड चार लाख ९० हजार ठगी गरेको छ । सन् ०१७/१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको छानबिन समितिको ठहर छ । ठगी प्रकरणमै कलेज सञ्चालक खुमा अर्याललगायत विरुद्ध गत वर्ष अदालतमा मुद्दा परेको थियो । धरौटीमा छुटेका उनीहरूले अहिले पनि ठगी जारी राखेका छन् । कलेजमा विद्यार्थीको तालाबन्दी जारी छ । 

नेसनल मेडिकल कलेज
ठगी : ३२ करोड ३५ लाख

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट ३२ करोड ३५ लाख ८१ हजार पाँच सय ठगी गरेको छ । कलेजले भर्ना शुल्क सरकारले तोकेभन्दा धेरै उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा समेत अवैध ढंगले अतिरिक्त शुल्क उठाउने गरेको छानबिन समितिको प्रतिवेदनमा छ ।

कलेज अफ मेडिकल साइन्सेस
ठगी : १० करोड ६१ लाख

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसले सन् ०१५ देखि ०१८ सम्म विद्यार्थीबाट १० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको सरकारी छानबिन समितिको ठहर छ । कलेजले भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी उठाएको छ । यसरी सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुलेको छ । कलेजले डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख अतिरिक्त लिएको छ । 

नोबेल मेडिकल कलेज
ठगी : ३५ करोड ४७ लाख

विराटनगरको नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार ११८ रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा उसले प्रतिविद्यार्थी भर्नामा सात लाख ४५ हजार अतिरिक्त उठाएको छ । त्यस्तै, अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुलेको छ । सन् ०१८ मा मात्रै कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार बढी उठाएको छ । 

काठमाडौं मेडिकल कलेज
ठगी : २७ करोड ८१ लाख

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीबाट २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगी गरेको छ । सन् ०१८ मा मात्रै उसले ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुलेको छ । त्यस्तै, छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार अवैध उठाएको छ । 

मणिपाल मेडिकल कलेज
ठगी : १० करोड ९ लाख

भारतीय लगानीमा पोखरामा सन् १९९२ देखि सञ्चालित मणिपाल कलेज अफ मेडिकल साइन्सेसले पछिल्लो सन् ०१५ देखि १८ सम्म विद्यार्थीबाट १० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुलेको छ । विभिन्न शीर्षक राखेर बढी शुल्क उठाएर ठगी गरिएको सरकारी अध्ययन समितिको ठहर छ । कलेजले एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म उठाएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेज
ठगी : २१ करोड ९१ लाख

नेपालगञ्ज मेडिकल कलेजले तीन वर्षमा विद्यार्थीसँग २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुलेको छ । सन् २०१८/१९ को ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी शुल्क लिइएको छ । त्यस्तै, छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले असुलिएको छ ।

किस्ट मेडिकल कलेज
ठगी : ५ करोड ९९ लाख

किस्ट मेडिकल कलेजले सन् ०१५ देखि १८ सम्म पाँच करोड ९९ लाख ३० हजार ठगी गरेको छ । अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी गरेका थिए । कलेजले उल्टै उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गरायो, करिअर सकाइदिने धम्की दियो । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत तीन वर्षमा प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख असुलेको छानबिन समितिको ठहर छ । 

युनिभर्सल मेडिकल कलेज
ठगी : ३२ करोड ७२ लाख

पछिल्ला तीन वर्षमा यो कलेजले विद्यार्थीबाट ३२ करोड ७२ लाख ३० हजार ठगी गरेको छ । छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि अतिरिक्त शुल्क उठाएको छ । ११५ विद्यार्थी रहेको यो कलेजले सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुलेको थियो । कलेजले सन् ०१५ देखि १८ सम्म सरकारले तोकेको भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त शुल्क उठाउँदै आएको छ ।

विराट मेडिकल कलेज
ठगी : १९ करोड ९ लाख

विराटनगरस्थित विराट मेडिकल कलेजले पछिल्ला तीन वर्षमा विद्यार्थीबाट १९ करोड नौ लाख ३३ हजार २८९ रुपैयाँ ठगी गरेको छ । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त उठाइएको छ । कलेजमा अध्ययनरत विदेशी विद्यार्थीको हकमा समितिले छानबिन गरेको छैन । 

देवदह मेडिकल कलेज
ठगी : ३ करोड ९० लाख

बुटवलस्थित देवदह मेडिकल कलेजले तीन करोड ८९ लाख ९४ हजार ठगी गरेको छ । सन् ०१५/१६ मा २४ सिट पाएको यो कलेजले भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय बढी असुलेको थियो । त्यस्तै, सन् ०१६/०१७ मा भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजार बढी उठायो । ०१७/१८ मा कलेजले ४० सिट पायो । त्यो वर्ष पनि प्रतिविद्यार्थी ६ लाख ११ हजार पाँच सयका बढी असुल्यो । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update