Erani Mahal
मेडिकल कलेजले लिएकाे बढी शुल्क एक महिनामा फिर्ता हाेला ?
paisa

काठमाडौं - सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे कारबाही प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको हो ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार सरकारको आह्वान अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने निर्णय भएको छ ।

गृहमन्त्रालयमा भएको बैठकमा गृह सचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी, आईओएमका डीन जगदिश अग्रवाल लागयत पनि सहभागी हुनुभएकाे थियाे ।

बैठकमा गृहमन्त्री थापाले ०७२ सालपछि सरकारले मेडिकल शिक्षाको शुल्क तोकेपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक र कानूनी समाधान खोजिने बताउनुभएकाे थियाे ।

शिक्षामन्त्री पोखरेलले अघिल्लो वर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएका कलेजलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको स्मरण गराउँदै शुल्क फिर्ता नगरे सोही अनुरुप कारबाही अघि बढाउनुपर्ने प्रस्ताव राखेको थियाे ।

अहिले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने सरकारी सीमा छ । तर मेडिकल कलेजहरूले ताेकिएभन्दा दाेब्बर शुल्क अशुल गरिरहेका छन् । अभिभावक र विद्यार्थी समेत बढी शुल्क लिदा समेत बाेल्न सकेका छैनन् ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update