Erani Mahal
'स्मार्ट कृषि गाउँ' बनाउन सक्रिय पाल्पाका किसान
krisi-suchana-kendra

पाल्पा – पाल्पाको अर्गली फोस्रान गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका स्थानीय किसान व्यावसायिक बाख्रापालनमा आकर्षित भएका छन् । ५ नं. प्रदेश सरकारको ५० लाख अनुदान पाएपछि यहाँका ७० घरधुरी किसान व्यावसायिक बाख्रापालनमा आकर्षित भएका हुन् ।


स्मार्ट कृषि गाउँ कार्यक्रम अनुसार एउटा माउ बाख्रा र बीउ बोका पाएपछि व्यावसायिक बाख्रा पालनमा आफूहरू उत्साहित बनेको तानसेन–१४, फोस्रानका स्थानीय बासिन्दाहरू बताउँछन् । तीन महिनाअघि प्रदेश सरकारको सहयोगमा बाख्रा र बोका पाएको फोस्रान स्मार्ट कृषि गाउँ उपभोक्ता समितिका सचिव तोयानारायण पाण्डेयले बताउनुभयो । पहिले बाख्रा पालन नगरेका किसान समेत अहिले उत्साहित भएर व्यावसायिक बाख्रापालनमा लागेका छन् उहाँले भन्नुभयो ।


यहाँका ७० घरधुरीले बाख्राको खोर निर्माण गर्न प्रदेश सरकारबाट प्रतिघरले १६ हजार रुपियाँ, तानसेन नगरपालिकाबाट चार हजार रुपियाँ अनुदान पाएका छन् । यस्तै माउ बाख्राका लागि १० हजार पाएको किसानको भनाई छ । उक्त समुहले दुई लाख ५० हजारमा पाँच वटा बोयर जातको बीउ बोका खरिद् गरेको छ । यस्तै कृषि सूचना केन्द्र निर्माण गरेको छ भने बाख्राको उपचार गर्ने डिपिङ् ट्याङ्की, तराजुलगायतका सामग्री व्यवस्थापन गरेको समूहका अध्यक्ष पुष्करनाथ पाण्डेयले बताउनुभयो ।

व्यावसायिक बाख्रा पालनका लागि किसानले एक साताको तालिम समेत पाइसकेका छन् । यस्तै बाख्रा राख्ने खोर, घाँस व्यवस्थापन गर्ने आवश्यक सामग्री समेत बनाइसकेको अध्यक्ष पाण्डेयले बताउनुभयो । पहिले एक÷दुई वटा बाख्रा पाल्ने किसानले स्मार्ट कृषि गाउँ कार्यक्रम सम्पन्न हुने अबधि पाँच वर्षभित्र कम्तीमा हरेक किसानको घरमा दश वटा माउ बाख्रा बनाउने यहाँका किसानहरूको लक्ष्य रहेको छ ।

प्रदेश सरकारले पहिलो वर्ष ५० लाख अनुदान दिएको थियो । यो अनुदान रकम हरेक वर्ष १५ प्रतिशतका दरले घटाउँदै लगिने योजना रहेको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अधिकृत यदुराम घिमिरेले बताउनुभयो । ५ नं. प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रम भनेर बनाएको यो कार्यक्रमले पाँच वर्षभित्रमा प्रविधि, जलवायु, खाद्यपोषण र बजारको क्षेत्रमा स्मार्ट बनाउने लक्ष्य छ ।

निर्वाचन क्षेत्र विशेष कार्यक्रम स्मार्ट कृषि गाउँका परिवारले पाँच वर्षपछि हरेक परिवारले कम्तीमा वार्षिक तीन लाख रुपियाँ खसीबोका बिक्री गरेर आम्दानी गर्ने लक्ष्य बनाएका छन् । यसका साथै अन्य तरकारी खेती, फलफुल खेती पनि किसानले गर्नेछन् । एउटा कृषि वा पशुपालन सम्बन्धी पाकेट क्षेत्र बनाएर यो कार्यक्रम लागु गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update