Erani Mahal
गर्भधारणका लागि सबैभन्दा उत्तम उमेर कुन ? जानी राख्नुहोस्
garva

अहिलेका युवा–युवती विवाहको विषयलाई लिएर त्यति हतार देखाउँदैनन् । यहाँसम्म कि विवाहपछि सन्तान उत्पादनका लागि पनि आफूहरुको जीवन राम्रोसँग सेटल नहुञ्जेल पर्खने र त्यसपछि मात्रै गर्भधारणको योजनामा लाग्ने गर्छन् ।

यसबाट वैवाहिक जीवनमा बाधिएका जोडीलाई जीवन जिउने कुरामा महत्वपूर्ण सहयोग पनि मिलिरहेको हुन्छ । तर गर्भधारणको विषयलाई हेर्ने हो भने एउटा उमेर समूहपछि महिलाहरुमा सन्तान उत्पादनको क्षमतामा ह्रास आउने हुन्छ । यसले तनाव उत्पन्न गराउने छ । उपयुक्त गर्भधारणको उमेर नाघिसकेको अवस्थामा गर्भधारण भएपनि गर्भपतन हुने तथा अन्य समस्या देखिन सक्छ ।

त्यसैले कुन–कुन उमेर समूहमा गर्भधारण गर्नु उपयुक्त हुन्छ त ?

२० देखि ३० वर्षसम्म

२० देखि ३० वर्ष उमेर समूहलाई गर्भधारणको सबैभन्दा उत्तम समय मानिन्छ । यो उमेर समूहमा महिलामा गर्भधारणसँग जोडिएका विभिन्न समस्या आउने आशंका अत्यन्तै कम हुन्छ ।

यो उमेर समूहका महिलाको शरीरमा सबैभन्दा बढी स्वस्थ अण्डा उत्पादन हुन्छ । जसका कारण समस्यारहित ढंगले गर्भधारण सफल रुपमा हुने सम्भावना बढी हुन्छ ।

३० देखि ३९ वर्षसम्म

यो उमेर समूहमा महिला प्रवेश गर्दैगर्दा उसको शरीरमा भएको अण्डाको संख्या कम हुँदै जाने गर्छ । महिलाको शरीमा करिब दश लाख अण्डा हुन्छ । किशोरावस्थाबाट माथिको उमेर बढ्दै जाँदा उक्त अण्डा ३ लाखमा झर्नेछ ।

यसमा ३ सयदेखि ४ सय अण्डा भने गर्भधारणका लागि सफल हुने खालका हुन्छन् । ३७ वर्षको उमेरसम्ममा मात्र २७ हजार अण्डा महिलाको शरीरमा हुन्छ । अण्डाको संख्या घट्दै जाँदा यो उमेरमा आइपुग्दा गर्भधारण गर्ने सम्भावना पनि कम हुँदै जान्छ ।

यो उमेर समूहमा महिलाले गर्भधारण गरे पनि उसले विभिन्न स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ । जसले उसको कोखमा हुर्कदै गरेका बच्चाको शारीरिक विकासमा पनि प्रभाव पार्दछ । साथै यो उमेरमा गर्भपतनको पनि उत्तिकै उच्च जोखिम हुन्छ ।

४० वर्षदेखि ४९ वर्षसम्म

एक अध्ययनअनुसार यो उमेर समूहमा महिलाले तीन महिनासम्म गर्भधारण गर्ने प्रयास गरेमा यसको सफलताको दर सात प्रतिशत मात्रै हुन्छ । यदि यो उमेर समूहकी महिलाले गर्भधारण गरेपनि उसको र बच्चाको स्वास्थ्यमा थुप्रै किसिमका जोखिम आउन सक्ने छन् ।

यस्ता जोखिमहरुमा गर्भपतन, निश्चित समयभन्दा अगाडि नै सुत्केरी, बच्चाको कम तौल, बच्चा जन्मदैदेखि रोगी, जन्मिएको बच्चाको मृत्युसम्म हुने सम्भावना अत्यन्तै धेरै हुन्छ ।

यो उमेर समूहकी महिलाले गर्भधारण गरेमा ब्लड प्रेसर (बीपी) वा सुगर (मधुमेह) को समस्या आमरुपमा हुने गर्दछ । यस्तै, गर्भपतनको सम्भावना पनि दुई गुणा बढी हुने गर्दछ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update