Erani Mahal
पाल्पामा डेंगुका बिरामी बढ्दैं  (संक्रमितकाे तथ्यांक सहित)
ss

तानसेन पाल्पामा डेंगु रोगबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या निरन्तर बढेको छ । साउन र भदौँ दुई महिनाको अबधिमै पाल्पामा २९ जना बिरामीमा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


भाइरल ज्वरोका बिरामी अस्पताल भर्ना भएपछि गरिएको स्वास्थ्य परिक्षणमा डेंगु सङ्क्रमित भएको भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । डेंगुबाट सङ्क्रमित सबैभन्दा धेरै तानसेन नगरपालिकामा भेटिएका छन् । नगरपालिकामा नौँ जना महिला र पाँच जना पुरुष गरी १४ जना डेंगु सङ्क्रमित भेटिएको न्यौपानेले बताउनुभयो ।


यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक जना पुरुष र एक जना महिला डेंगु सङ्क्रमित बिरामी छन् भने रामपुर नगरपालिकामा एक जना पुरुष बिरामी छन् । निस्दी गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् भने रम्भा गाउँपालिकामा एक जना पुरुष डेंगु ग्रसित बिरामी भेटिएका छन् ।


स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला, माथागढी गाउँपालिकामा एक÷एक जना महिला डेंगु सङ्क्रमित भेटिएका छन् । यस्तै पाल्पामा उपचार गरिरहेका अर्घाखाँची, गुल्मी र स्याङ्जा जिल्लाका बिरामी समेत डेंगु सङ्क्रमित भेटिएका छन् । गुल्मीमा तीन पुरुष र एक महिला, अर्घाखाँचीमा एक पुरुष र स्याङ्जामा एक महिला डेङ्गु रोगबाट सङ्क्रमित भएका लुम्विनी मेडिकल कलेज प्रभासका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । गत आवमा पाल्पामा सात जना बिरामीमा मात्र डें्गुको सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण रोक्ने जनचेतना अभियान

डेंगु सङ्क्रमण न्युनीकरण गर्न तानसेन नगरपालिका सहित दश स्थानीय तहहरूले जनचेतना अभियान सञ्चालन गरिरहेका छन् । तानसेन नगरपालिकाले टोल विकास संस्थामार्फत जनचेतना र सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रम्भा, पूर्वखोला, माथागढी, निस्दी गाउँपालिकाले समेत विभिन्न स्थानमा सरसफाई र जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले समेत सञ्चारमाध्यम्मार्फत सूचना प्रवाह गर्ने, जनचेतना फैलाउने काम गरिरहेको जनाएको छ ।

जलवायु परिवर्तनले डेंगु फैलाउने लामखुट्टे पहाडमा

पाल्पा बाहेक अन्य पहाडी जिल्लामा डेंगु प्रभावितको सङ्ख्या कम भएपनि पाल्पामा भने सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेङगुको प्रकोप बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यद्यपी पाल्पामा अहिलेसम्म डेंगु सङ्क्रमित कसैको पनि मृत्यु भईसकेको छैन । जलवायु परिवर्तनका कारण डेंगु संङ्क्रमण फैलाउने लामखुट्टे तराईबाट पहाडतर्फ लागेको हुन सक्ने पाल्पा अस्पतालका निमिक्त प्रमुख डा. पुष्प ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update