Erani Mahal
संविधान दिवसकाे अवसरमा तानसेनमा विविध कार्यक्रम
71947418_2402692613341716_6647940166763675648_o

पाल्पा - संविधान दिवसमा आयाेजित कार्यक्रममा सहभागीहरूले बाटाे विकास, समृद्धि र सुशासनको भएकाे विधार व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुक्रबार तानसेनमा भएकाे प्रभातफेरि र सभाको कार्यक्रममा राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूले यस्तो कुरा बताएका हुन् ।

संविधानसभा सदस्य एवम् कार्यक्रममा प्रमुख अतिथि नारायणी शर्माले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिता संविधानको मुख्य उपलब्धी भएको बताउनुभयो । उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै जनताको हितमा काम अगाडि बढाउन सबैलाई आग्रह गर्नुभयो ।

नेकपाका अध्यक्ष तथा प्रदेश सांसद नारायणप्रसाद आचार्यले संविधान कार्यान्वयनसँगै विकास र समृद्धिको अभियानमा सरकार अगाडि बढेकाले सबैले सघाउनुपर्ने बताउनुभयो । विगतमा राज्य सत्ताको चरम दूरूपयोग गर्नेहरू नेकपाले प्राप्त अभिमतबाट आत्तिएर सरकारविरुद्ध भ्रम फैलाउन खोजेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति एवम् प्रदेश सांसद विरबहादुर रानाले गणतन्त्र र संविधानमा कसैबाट खतरा छैन, भए सरकार सञ्चालनकबाटै छ भन्नुभयो । भ्रष्टाचार गर्ने, कानुन बर्खिलाप गर्ने मान्छे पार्टीका नाममा संरक्षण गर्ने परिपाटीले संविधानको मर्म र भावनामा ठेस पुग्ने सभासद् रानाको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवरले कतिपय प्रावधानप्रति हाम्रो असहमति छ तर हामी संविधानलाई सम्मान र स्वीकार गर्दछौं भन्नुभयो ।

राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीले जनताको लामो संघर्षपछि प्राप्त संविधानकाे रक्षा र विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभयाे । कार्यक्रममा प्रमुख तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायतले शुभकामना व्यक्त गर्नुभयो । संविधान दिवस मूल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update