Erani Mahal
पाल्पाकाे चुनढंगा निकासी व्यवस्थित गर्न धर्मकाँटा राखिदैं
TIPPER

सडक ध्वस्त कम गर्ने नागरिककाे स्वास्थ्यमा असर कम गर्ने पहलकदमी

पाल्पा – जथाभावी चुनढुंगा बोकेर सिद्धार्थ राजमार्ग ध्वस्त भएको भन्ने जनगुनासोलाई सम्बोधन गर्न पाल्पामा भएको सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा भएको बैठकले चुनढुंगा कति परिमाणमा बाहिर निकासी गर्नेे हो, त्यसको नापतौल गर्न धर्मकाटा राख्ने निर्णय गरेको छ ।


पाल्पा जिल्लाका खानी क्षेत्रबाट उत्खनन् भएको चुनढुंगा अहिले ट्रिप्परले बाक्न सक्ने जति निकासी गर्दै आएको छ । धर्मकाटा राखेपछि भने १० टनभन्दा बढी बोक्न नपाइने भएको छ । यसले सडक ध्वस्त हुनबाट रोकिनुका साथै राजश्व संकलन समेत प्रभावकारी बन्नेछ ।

खनिज पदार्थको उत्खनन्, निकासी र रोयल्टी संकलनलाई प्रभावकारी बनाउन धर्मकाँटा राख्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । धर्मकाँटा नहुँदा टिप्परले १५ टन भन्दा बढी ढुंगा बाेकेका थिए ।


ढकालले स्पष्ट नीति र मापदण्डको अभावमा स्रोतमाथिको द्वन्द्व देखिएकाले नागरिक समाजको आवाजलाई मध्यनजर गरी समाधानको बाटो लिइएको इरानीमहललाइ बताउनुभयो । खानीबाट ढुवानी गरिरहेका टिप्परले धर्मकाटा राखेपछि १० टनभन्दा बढी ढुवानी गर्न पाउने छैनन् भने तोकिएको गतिभन्दा बढी गतिमा ट्रिप्पर चलाउन पाइनेछैन । त्यसका लागि जिल्ला प्रहरी कार्यालयले अनुमगन गर्ने र कारबाही गर्न पाउने निर्णय समेत भएको छ ।


बैठकले चिडियाखोलादेखि झुम्सासम्मको सडकको खाल्डाखुल्डी पुर्ने, भाँसिएको र पहिरोले खसेको ठाउँ मिलाउने र ग्राभेल गरी सहज यातायात आवागमनको प्रबन्ध मिलाउने निर्णय गरेको छ । खानी उद्योगमा रहेका मिस्कट ल्याएर सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डलाई सहज बनाउन तीन दिनभित्र मर्मतको काम गर्न बैठकले निर्देशन दिएको छ ।


हिउँदमा खानी पहुँच मार्गसँग झुम्सा चिडियाखोला क्षेत्रमा नियमित पानी छर्किएर धुलो नउड्ने वातावरण बनाउने काम खानी सञ्चालकहरूले गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खानी उत्खनन र ढुवानीको नियमित अनुगमन गर्ने निर्णय गरिएको छ । यो निर्णयमा खानी उद्योगका सञ्चालक प्रतिनिधिहरु र टिप्पर व्यवसायीले समेत सहमति गरेका छन् ।


अहिले जिल्लाको दोभान, कचल, रहबास, ज्यामिरे, सिद्देश्वर, मस्यामलगायतका १० बढी खानीस्थलबाट दैनिक १ हजार पाँच सय टिप्पर भन्दा धेरै चुनढुंगा निकासी हुने गरेको छ । खानी उद्योगबाट निकासी हुने चुनढुंगा कति उत्खनन् हुन्छ र कति निकासी हुन्छ भन्ने आधिकारिक अभिलेख कहीँ राखेको पाइदैँन । खानी सञ्चालकहरुले चुनढुंगा लगे वापत प्रति टन ६० रुपैंया रोयल्टी सरकारलाई दिने गरेका छन् । यो दर सामान्य ढुंगामा लगाइने रोयल्टीभन्दा तीन गुणा सस्तो छ ।


उत्खनन्को परिमाण नाप तौल नगरी खानी सञ्चालक आफैले भने वमोजिम सरकारले रोयल्टी उठाउने गरेको छ । खानी उद्योग पहुँच मार्गका लागि सरकारले प्रत्येक वर्ष सरदर १५ करोड रुपैँया लगानी गरिरहेको छ । प्रकृतिको विनास र प्राकृतिक स्रोतको दोहन हुने गरी बहुमूल्य खनिज पदार्थ कौडीको मोलमा निकास हुँदा पाल्पालीहरू भने चुपचाप छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update