Erani Mahal
पाल्पाकाे विकासबारे समिक्षा : रामपुर नपा र अधिकांश कार्यालय अनुपस्थित
69952969_3057616024279990_3418315525439094784_n

अधिकांश स्थानीय तहकाे विकास समिक्षा प्रतिवेदन कमजाेर

पाल्पा – जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ९ र करिव ४०/५० कार्यालयमध्ये १५ वटा सरकारी कार्यालयले मात्र गत आर्थिक वर्षको उपलब्धी र चालु वर्षको बजेट तथा कार्यक्रम पेश गरेका थिए ।

रामपुर नगरपालिका, संघअन्तर्गत रहेका खानेपानी अर्घाखाँची, विशेष नापी, शिक्षा, सहरी विकास भैरहवा, विद्युत, टेलिकमलगायतका धेरै कार्यालय समीक्षा बैठकमा अनुपस्थित रहे । गोष्ठीका सहभागीहरुले जिल्लास्तरीय समीक्षा बैठकको अवज्ञा गर्नेहरुलाई लिखित निर्णय गरेर सचेत गराउनुपर्ने माग गरेका छन् ।


समीक्षा बैठकका प्रमुख अतिथि पूर्व मन्त्री प्रतिनिधिसभाका सांसद दलबहादुर रानाले चालु वर्ष समृद्धि र विकासको गति बढाउने वर्ष भएकाले त्यो भावना अनुसार काम गर्न सबैलाई आग्रह गर्नुभयो । व्यवस्था परिवर्तनपछि मूलक नयाँ अवस्थामा आएको तर बजेटसँगै स्थानीय तहसम्म विकृति सँगै आएकाले नेतृत्वले विकृति रोक्ने साहस गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले संविधानको भावना अनुसार कानुन बनिरहेको र समीक्षा गोष्ठीलाई वेवास्था गर्नेहरुलाई आगामी दिनका मूल्यांकन, अनुगमन र निर्देशन दिने बेलामा विशेष ख्याल राख्न जिल्ला समन्वय समितिका प्रमुखलाई आग्रह गर्नुभयो । सांसद रानाले सिद्धबाबालगायतका जोखिमयुक्त क्षेत्रका छिटो गाडि हिड्न मिल्ने बनाउन भएको बजेट नै परिचालन गर्दा पुग्ने भएकाले सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


प्रदेश सांसद वसन्त घर्ती मगरले आफूले प्रस्तुती राखेपछि हिंड्ने र सांसदहरु दर्शक बनेर बस्नुपर्ने अवस्थाले कर्मचारीहरुभित्र अराजकता र अनुशासनहिन भावना बढेको देखिएको बताउनुभयो । देश सांसद घर्तीले रामपुर नगरपालिका किन समीक्षामा आएन ? स्थानीय सरकार प्रमुख हुने संविधानअनुसारकै सरकारकै कार्यक्रमलाई अपमान गर्ने कारण के हो खोज्नुपर्ने बेला आएको छ भन्नुभभो ।

राप्रपाका नेता डुलबहादुर कुँवरले गतिविधि हेरिरहनुभएको छ, कर्मचारीहरुले झारा टार्ने गरी प्रस्तुत हुने, नआउने अवस्थाले व्युरोक्रयाटमा अराजकता देखिएको अनुभूति भयो भन्नुभयो । प्र

प्रदेश सांसद नारायणप्रसाद आचार्यले जिल्लाको विकास स्थिति थाहा पाउन भौतिक पूर्वाधार, आर्थिक, सामाजिक समिति निर्माण गरेर नियमित छलफल र समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले ठेक्का टेण्डरबाट हुने कामको प्रभावकारी अनुगमन हुन सकेन भन्नुभयो ।

प्रदेश सांसद डा पुरनमान बज्राचार्यले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा दैनिक एक हजार टिप्पर ओभरलोड लिएर हिंडने र त्यसवापत प्रहरी प्रशासनले कमिसन खाने परम्पराको अन्त्य गरी यो वर्ष तोकिएको लोडभन्दा बढी बोक्न नदिन, गति र समय कायम गरी टिप्पर चल्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

प्रदेश सांसद युवराज खनालले बजेट पार्न एउटा समस्या र परेको बजेट फ्रिज हुने अवस्थाले चिन्तित तुल्याएको बताउँदै चालु वर्ष त्यस्तो अवस्था आउन नदिन सबै कार्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डुलबहादुर कुँवरले स्थानीय, प्रदेश र संघले सञ्चालन गरेका योजना एकै प्रकृतिका हुने र एक द्वार प्रणाली नहुँदा तेहेरिने अवस्था आएको बताउनुभयो । वरिष्ठ पत्रकार मेघराज शर्माले विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको छ तर अनुगमन गर्नेले प्रतिवेदन सार्वजनिक नगर्ने अवस्था रोक्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारहरुमध्ये तिनाउ गाउँपालिकाको प्रस्तुति तुलनात्मक रुपमा राम्रो रहेको थियो । राजनैतिक नेतृत्व, कर्मचारी नेतृत्व र सूचना प्रविधि विज्ञ रहेका स्थानीय सरकारले समेत आफ्ना उपलब्धी र असल अभ्यासहरुलाई समीक्षा गोष्ठीमा देखाउन सकेनन् ।

करोडौँ बजेट खर्च गर्ने कार्यालयले समेत लगानीको उपलब्धी, समुदायले प्राप्त गरेको लाभ विश्लेषण नगरी वित्तीय खर्च देखाएका थिए । समीक्षा गोष्ठी जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update