Erani Mahal
स्थानीय सरकारले कराेड खर्च गरेका बाटाहरू हिउँदमा धुलाम्य, वर्षातमा हिलाम्य !
70255315_755192231602304_4283171481854148608_n

छाेटा तर हिउँद-वर्षामा निर्बाध सवारी चल्ने बाटाे बनाउन ध्यान दिने की ?

पाल्पा - पाल्पामा हरेक वर्ष बाटाे खन्नका लागि जिल्लाका दश वटै स्थानीय तहहरूले कराेडाैँ रकम खर्च गरिरहेका छन् । तर ती कराेडाैँ खर्च गरेर बनाएका बाटाहरू अहिले काम नलाग्ने भएका छन् । २/४ घर परिवार भएकाे स्थानमा समेत भाेटकाे प्रभाव पार्न लाखाैँ खर्चेर बनाएका बाटाहरू अहिले कामै नलाग्ने भएका छन् ।

विकासमा दीर्घकालिन साेच भन्दा पनि जसाेतसाे लाखाैँ खर्चेर बाटाे बनाउने प्रवृत्ति पाल्पामा हावी भइरहेकाे छ । बाटाे वर्षातकाे समयमा हिड्न मिल्ने गरी बनाउने भन्दा पनि डाेजर प्रयाेग गरेर कसरी रकम खर्च गर्ने भन्ने साेचबाट विकासका काम भइरहेका छन् । यही साेचले बाटाे खनेकाे कही महिनाका लागि मात्र हुन्छ । बाटाे टिक्दैन, पानी परेपछि बाटाे पनि पानीले नै लाने गरेकाे छ ।

केही जनप्रतिनिधि त विकास भनेकाे डाेजर प्रयाेग गर्ने हाे भन्ने मानसिकताबाट ग्रसित छन् । सके आफ्नै नसके आफन्तका डाेजर चलाएर पैसा कमाउने मेसाेमा पनि जनप्रतिनिधि छन् । यसले हिउँदमा राताे माटाे खन्ने, वर्षातमा बगाउने र पुन पहिराे पन्छाउने नाममा फेरी डाेजर चलाउने र अन्तत कमाउने खेलमाजनप्रतिनिधि लागेकाे उपभाेक्ताकाे आराेप छ ।

अहिले पाल्पा जिल्लाका ग्रामीण क्षेत्रमा जाने सबैजसाे बाटाहरू सवारीसाधन चल्नै नसक्ने अवस्थामा छन् । पानीले बाटाहरू बगाएपछि यात्रु, बिरामी र अन्य मानिसहरूले सास्ती बेहाेर्न बाध्य छन् । स्थानीय सरकारकाे प्राथमिकतामा परेका बाटाहरू समेत सदरमुकाम तानसेनदेखि गाउँपालिका कार्यालयसम्म जान मुस्किल छ ।

सदरमुकाम तानसेनदेखि पश्चिम छहरा जाने बाटाे हिलाम्य छ । बाँसटारी खहरे झडेवा सडक पनि हिलाम्य छ । आर्यभाङ्ज्याङ्देखि रामपुर, निस्दी र पूर्वखाेला जाने बाटाे समेत क्षतविक्षत छ । लसुनेदेखि रम्भाकाे ५ सय मिटर सडक समेत राम्राे बन्न सकेकाे छैन ।

विगत लामाे समयदेखि तत्कालिन जिविस र गाविसले खर्च गरेर बनाएका बाटामा अहिले पनि लाखाैँ रकम राखेर खर्च गर्ने क्रम राेकिएकाे छैन । तर उक्त बाटाहरू वर्षातमा भने सवारी गुड्न सक्ने अवस्थामा छैन । स्थानीय तहहरूले प्राथमिकतामा राखेर लाखाैँ, कराेड बजेट राखेर बनाएका बाटाहरू अहिले पनि हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य बन्छन् ।

जनप्रतिनिधि निर्वाचित भएपछि सबैभन्दा धेरै रकम खर्च बाटाे निर्माणमा भएकाे छ । हरेक वर्ष सबैजसाे स्थानीय तहहरूले चार कराेडदेखि सात कराेडसम्म बजेट बाटाेमा खर्च गरेका छन् । तर १किलाेमिटर पनि बाटाे वर्षात र हिउँदमा हिड्न र सवारी निर्वाध संचालन गर्न लायक बनेकाे छैन ।

पाल्पामा सडक निर्माणकाे बजेट र खर्च हेर्ने हाे भने हरेक गाउँपालिका कार्यालयदेखि साेही गाउँपालिकाकै वडासम्म पुग्ने कालाेपत्रे सडक नै बनाउन सम्भव छ । तर विभिन्न बहानामा सडक कालाेपत्रे त के, वर्षामा निर्वाध सवारी चल्ने सक्ने अवस्था समेत बन्न सकेकाे छैन । यही कारणले अहिले पाल्पाकाे ग्रामीण भेगका सर्वसाधारण यात्रुले सास्ती बेहाेर्नु परेकाे छ ।

छाेटाे बाटाे बनाउने तर बाटाे हिउँद र वर्षामा पनि सवारी गुड्न सक्ने खालकाे बनाउन कुनै पनि स्थानीय तहहरूले ध्यान दिएका छैनन् । सबै स्थानमा बाटाे बनाउने तर कुनै पनि काम नलाग्ने बाटाे बनाउनेतर्फ सबैकाे ध्यान गएकाे देखिन्छ । - (समाचार टिप्पणी)

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update