Erani Mahal
पाल्पा, गुल्मी र स्याङ्जा जाेड्ने तीनमुखे पुल ५ वर्षदेखि अलपत्र
pulnirman_yC0pHHsuOM

पाल्पा - पाल्पा, गुल्मी र स्याङजा जिल्लाकाे संगम स्थल रिडीमा बन्न लागेकाे तीनमुखे झोलुङ्गे पुल पाँच वर्षदेखि अलपत्र बनेकाे छ । पुल निर्माण गर्न ठेक्का पाएकाे ठेकेदारको चरम लापरबाहीले निर्माण कार्य पाँच वर्षदेखि अलपत्र बनेको हो। तीन वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर ठेकेदारको लापरबाहीले पुलको काम पाँच वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन। 

यो पुलले तानसेन नगरपालिका १४ को अर्गली, गुल्मीको रुरु गाउँपालिका १ को रिडी र स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ कारिकोट चण्डी भञ्ज्याङलाई जोड्ने छ। नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने भनिएको पुल निर्माण कार्य यसरी अलपत्र बन्दा यहाँका नागरिक निरास बनेका छन् ।

काम गर्न जिम्मा पाएकाे ठेकेदारले समयमा काम गर्न नसकेकाे स्थानीय बासिन्दा कमल श्रेष्ठले बताउनुभयाे । तीन वर्षसम्म कामै नगरी बित्याे, पछिल्लाे वर्ष केही काम गरेर त्यसै छाडेकाे छ उहाँले भन्नुभयाे लामाे समय काम गर्दा समेत सरकारी निकायले ठेकेदारलाइ कारबाही गर्न सकेकाे छैन ।

ठेकेदारले पाँच वर्षमा बल्लतल्ल नदीको बीच भागमा एउटा पिल्लर ठड्याइएको छ। तर अरु काम भएको खासै देखिएको छैन। '२०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नु पर्ने थियो । तर सम्झौता अनुसार २ वर्ष बढी म्याद गुज्रिसकेको छ।

समयमै निर्माण कार्य किन नसकिएको हो भन्नेबारे आफू बुझ्ने प्रयासमा रहेको रुरु गाउँपालिका १ का अध्यक्ष रामलाल विकले बताउनुभयाे ।  'तीन जिल्लाको संगमस्थल रिडी रुरु क्षेत्रको कालीगण्डकीमाथि नयाँ प्रविधिसहित पुल बनाउने योजना समयमै सम्पन्न गर्ने सरकारको योजना थियो। तर काम नगर्दा पुल कहिले बन्ने हो भन्ने अन्योल रहेको छ', अध्यक्ष विकले भन्नुभयाे ।

पुल बनाउने जिम्मा लिएको निर्माण कम्पनी रुविना मना जेभी कन्स्ट्रक्सनका ठेकेदार महेन्द्र अधिकारीले लाजै नमानी काम तीव्र गतिमा अगाडि बढेको दावी गर्नुभयाे । नेपालकै नमुना पुल भएकोले यसको प्राविधिक जानकारी नभएकोले निर्माण कार्यमा ढिलाई भएको ठेकेदार अधिकारीले स्वीकार गर्नुभयाे ।

२०७१ साल असार १० गते तत्कालीन मुख्य सचिव लिलामणि पौडेल र गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारीले संयुक्त रुपमा तीनमुखे पुलको शिलान्यास गर्नुभएकाे थियाे । सरकारले रुविना मना जेभी कन्स्ट्रक्सनसँग नौँ करोड ८८ लाख रुपियाँ लागतमा तीन मुखेपुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले पुलको बारेमा सामान्य सूचना दिने होर्डिङ बोर्ड समेत राखेको छैन। होर्डिङ बोर्ड नहुँदा काम कहिले सकिन्छ भन्नेमा स्थानीय अन्योलमा छन्। 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update