Erani Mahal
रूरू (रिडी) धाममा धार्मिक तथा सांस्कृतिक महोत्सव सुरू (फाेटाे फिचर)
69898798_990594617952633_4869854020098850816_n-1

पाल्पा - नेपालकै ४ धाममध्ये एक रूरू रिडी धाममा शनिबारदेखि महायज्ञ सुरू भएकाे छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा शनिबारदेखि विराट ज्ञानमहायज्ञ सुरु भएको हाे । असोज १७ गतेसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव एवं संगीतमय श्रीमद् भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले रुरु क्षेत्रको प्रचारप्रसार जुनसुकै बेला गर्न सकिने धारणा राख्नुभयो । उहाँले रुरु क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै यसको महत्व र गरिमा विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।


महायज्ञमा एक करोड दीप प्रज्वलन, एक करोड शिव पार्थिव लिंग निर्माण गरी पुजा गरिने, बनारस, हरिद्वार र पशुपतिनाथमा जस्तै प्रत्येक दिन कालीगण्डकी गंगामाताको विशेष ध्यान गरिने, ५१ हजार बढी व्यक्तिहरूबाट तुलादान गरिनेछ । यस्तै एक सय आठ तिर्थस्थलको जलसहित हेलिकोप्टर मार्फत पुष्प वृष्टि गरिएको छ ।

प्रत्येक घरको जमीनको माटो, अन्न, लिएर पुजन गरिने, ५१ सय शान्ति कलश पुजन गरिने लगायतका कार्यक्रम रहेका छन् । महायज्ञमा विश्व विख्यात श्रीमद् भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराजबाट संगीतमय कथावाचन हुने प्रचार–प्रसार संयोजक खेमराज पाण्डेले जानकारी दिनुभयो । महायज्ञमा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पोखरा, बुटवल लगायतका क्षेत्रमा हजारौं धार्मिक भक्तजनहरु सहभागी भएका छन् ।

महामहाेत्सवमा देशभरी र भारतबाट समेत भक्तजन आउने बताइएकाे छ । शनिबार बृहत र्याली सहित कार्यक्रम गरिएकाे थियाे । कार्यक्रममा पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरू, विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाका व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update