Erani Mahal
कृषिमा नयाँ आयाम : वार्षिक १ कराेड ५० लाखकाे तरकारी बिक्री
Untitled-1-copy

पाल्पा - तरकारी बेचेर वर्षमै डेढ कराेडकाे कारोबार हुन्छ भन्दा तपाइलाई पत्याउन गाह्रो पर्छ । डेढ कराेडकाे काराेबार गर्दा वर्षमा ५०/६० लाख बचत गर्न सकिन्छ भन्दा अझै अपत्यारिलाे हुन सक्छ । तर पाल्पामा एक युवाले वर्षमै डेढ कराेडकाे तरकारी बिक्री गर्नुहुन्छ र कम्तीमा ५० लाख बचत गर्नुहुन्छ ।

स्वदेशमै खेती किसानी गरेर लाखाैँ आम्दानी गरेपछि युराेप र अमेरिका किन जानु पर्याे र ? स्वदेशमै युराेप र अमेरिका देख्नुभएका युवा हुनुहुन्छ रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वर अर्चलेका २९ वर्षिय सुदर्शन पन्त । पन्तले एक वर्षमा टमाटर, भेडे खुर्सानी र बोडी बिक्री गरेर ५० लाख भन्दा बढी बचत गर्न सफल हुनुभएको छ ।


स्नातक तहसम्मको अध्ययन् गर्नुभएका पन्तले करिब ७० रोपनी खेत र बारीमा तरकारी खेती गर्नुभएको छ । आधुनिक प्रविधि अपनाई उहाँले तरकारी खेती गर्नुभएको छ । गत वर्ष एक करोड बढीको छ सय क्वीण्टल भेडे खुर्सानी मत्र बिक्री गरेको उहाँले सुनाउनुभयो । गत वर्ष मात्र भेडे खुर्सानी एक करोडको बिक्री गरियो, बुटवलमा दिनहुँजसो एक जीप तरकारी बिक्री गरियो उहाँले भन्नुभयो ।

उहाँले भेडे खुर्सानीको ८० रुपियाँदेखि एक सय १० रुपियाँसम्म प्रतिकेजीको मुल्य आफूले पाएको उल्लेख गर्नुभयो । तानसेन, गुल्मी मा बजार नभएका कारण सबै तरकारी बुटवल बिक्रीमा लागि लैजाने गर्नुभएका छ । यस्तै टमाटर खेती पनि उहाँका लागि फापेको छ । टमाटर खेतीबाट पनि उहाँले ४० लाख भन्दा बढी गत वर्ष आम्दानी गर्नुभयो । लहरे बोडीबाट पनि राम्रै आम्दानी भएको सुदर्शनका बुवा विश्वराज पन्तले बताउनुभयो ।


दुई दशकदेखि सामान्य कृषिमा लागेको पन्त परिवारले २०६९ सालमा एभरग्रीन एग्रो फार्म दर्ता गरेपछि मात्र व्यावसाियक खेतीमा लागेको हो । पहिले उखु र अन्य तरकारी खेती गरिन्थ्यो विश्वराजले भन्नुभयो छोरो सुदर्शन विदेशबाट फर्किएर नारायणघाटमा मल्चिङ् प्रविधिबाट कृषि काम गर्ने सिकेपछि तरकारी खेती आधुनिक किसिमबाट गर्न सुरु गरेका हौँ ।


पन्तको कृषि फार्म निर्माण गर्न अहिलेसम्म एक करोडको लगानी भएको छ । रिडी खोलाबाट तीन सय मिटर माथि लिफ्टिङ् गरेर तरकारी खेतीका लागि पानी पम्प गरिएको छ । यस्तै ७० रोपनी जग्गामा मल्चिङ् प्रविधिबाट तरकारीको बोटको व्यवस्थापन गरिएको छ । भुमिगत रुपमा थोपा सिंचाईको व्यवस्थापन गरिएको छ । दुर्गम गाउँ भएकाले तरकारी ढुवानी गर्न दुई सय ५० मीटर तलको सडकबाट घिर्नी राखेर तरकारी तथा आवश्यक सामग्रीहरू ढुवानीको व्यवस्थापन गरिएको छ ।

उहाँको फार्ममा असिना पानीले तरकारीमा क्षति नपु¥याओस् भन्नका लागि नेटजाली लगाइएको छ । पन्तको कृषि फर्ममा दैनिक २५ जना काम गर्ने मानिस हुन्छन् । विदेशबाट फर्किएका युवासहित गाउँका महिला गरी २२ जना र तीन जना सर्खेत जिल्लाका काम गर्ने मानिस रहेको पन्तले बताउनुभयो । कृषि फार्ममा काम गर्ने मानिसको घण्टा अनुसार तलबभत्ता तोकिएको छ ।

यहाँ काम गर्ने मानिसले दैनिक तीन सय देखि पाँच सय ५० रुपियाँसम्म कमाउँछन् । साथै उनीहरुलाई नास्ता र खानाको व्यवस्थापन फार्मले नै गरिरहेको छ । पन्तको तरकारी खेतीमा स्थानीय सरकार र प्रदेश सरकारले सहयोग गरिरहेका छन् ।

स्थानीय सरकार रैनादेवी छहरा गाउँपालिकाले सिंचाई र ढुवानी व्यवस्थापनका लागि पाँच रुपियाँ सहयोग गरेको थियो । यस्तै ५ नं. प्रदेश सरकारले नेट जालीका लागि दश लाख रुपियाँ अनुदान दिएको पन्तले बताउनुभयो । यद्यपी अहिले पनि वास्तविक किसानले भन्दा पनि कागज राम्रो बनाउने नक्कली किसानले अनुदान पाउने क्रम रहेको उहाँको गुनासो छ । ‘वास्तविक किसानले अनुदान पाउने हो भने कृषि क्षेत्रबाटै देशको विकास हुन्त्यो उहाँले भन्नुभयो यहाँ त वास्तविक किसानले भन्दा कागज राम्रो बनाउने नक्कली किसानले मात्र अनुदान पाउने देखिएको छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update