Erani Mahal
मृत्यु संस्कारले निम्त्याएकाे अर्को   नयाँ जोखिम !
kiriya-putree

पाल्पा - विभिन्न जातजातिमा आफ्नो परम्परा अनुसार मृत्यु सस्कार गरिन्छ । मृत्यु संस्कारको काम १३ दिनबाट घटाएर पाँच वा सात दिन गर्नुपर्छ भन्ने विषयमा बहस शुरु भएको केही वर्ष बितिसकेको छ । १३ दिन किरिया बस्ने प्रचलनलाई नेपालमा कतै कतै घटाईदै गएको पनि छ ।


तर यो भन्दा ठूलो बहसको विषय मृत्यु संस्कारमा किरिया बस्ने ब्यक्तिको स्वास्थ्य अवस्थाबारे उठान गर्न आवश्यक देखिएको छ । किरियामा बस्ने (किरियापुत्री) ब्यक्ति कति स्वस्थ छ भन्ने जाँच बिना सीमीत खानपानमा गरिने यो संस्कारले अर्को मृत्युको खतरा उत्पन्न गराएको छ ।
यस्तै एउटा घटना पाल्पाको रामपुरमा घटेको छ ।

रामपुर नगरपालिका वडा नं. ६ स्थित रामपुरमा नेपाली काँग्रेसका नेता देवराज ढकालको घरमा यस्तो घटना घटेको हो । नेता ढकालको आमा बितेको चार दिनमा किरिया बसेकै समयमा उहाँकी पत्नी गौरा ढकालको ज्यान गएको छ ।

८४ वर्षीया सासु भिमकुमारी ढकालको मृत्युपछि किरिया बस्नुभएकी ६७ वर्षीया गौरा ढकालको किरिया बसेकै अवस्थामा गत भदौ १४ गते निधन भएपछि मृत्यु संस्कारको काम भन्दा महत्पूर्ण कुरा किरियापुत्रिको स्वास्थ्य जाँच र रोगीलाई मुत्यु संस्कार गर्नमा छुट दिनुपर्ने नयाँ अभ्यास शुरु गर्न आवश्यक देखिएको छ । मधुमेह र न्यून रक्तचापकोे बिरामी ढकालले किरिया बसेको बेला नुन नखाएपछि एक्कासी स्वास्थ्यमा समस्या भएको र निधन भएको हो ।


मृत्यु संस्कारलाई कट्टरताको साथ लागु गर्ने पुरानो पुस्ताले यस घटनाबाट शिक्षा लिन आवश्यक देखिएको छ । आमा गौरा ढकालको आकश्मिक निधनपछि किरियामा बसेका छोरा डा. झपेन्द्र ढकालले भन्नुभयो, ‘संस्कार मान्नुपर्छ तर अस्वस्थ मानिसले जोखिम मोल्नुहुँदैन भन्ने पाठ सबैले सिक्न जरुरी देखियो ।’ संस्कारको नाममा दीर्घ रोगीहरुले यस्तो जोखिम मोल्न नहुने उहाँको भनाई छ । स्वास्थ्य अवस्थामा खराबी आउनासाथ उपचार थालिएको भएपनि आमालाई बचाउन नसकेकोप्रति ढकालले दुःख ब्यक्त गर्नुभयो ।


ढकालका अर्का छोरा भोजेन्द्रप्रकाश ढकालले रितिरिवाजका नाममा मानिसको स्वस्थ्यमा जोखिम हुने गरी मृत्यु संस्कारका काम गर्न नहुने एउटा नयाँ पाठ समाजले सिक्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति समेत रहनुभएका नेता देवराज ढकाललाई आमाको निधनपछि छैठाैं दिनमा पत्नी गुमाउनु पर्दाको पीडा ब्यक्त गर्न गाह्रो भयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो कुरा स्वास्थ्य रहेछ, त्यसलै संस्कार मान्दा स्वस्थ्यप्रति चनाखो हुन जरुरी छ ।’ विभिन्न संघसंस्थामा आबद्ध सामाजिक अभियन्ता समेत रहनुभएका ढकालकी पत्नी गौरा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्थ्यो ।


ढकाल परिवारमा समवेदना ब्यक्त गर्न रामपुर पुग्नुभएका बुटवलका अस्पताल संचालकद्धय माधव थापा र जंगबहादुर थापाले रामपुरको यो घटनाले समाजमा मृत्यु संस्कारको नाममा गरिने कामकाजलाई छोंटोछरितो बनाउनुपर्ने समेत सन्देश छोडेको बताउनुभयो ।


खासगरी पुरानो पुस्ताले चलिआएको परम्परा छोड्न तयार नभएको देखिन्छ । तर नयाँ पुस्ता भने यी पुराना परम्परालाई समयानुकुल खुकुलो बनाउनुपर्छ भन्ने ठान्छ । रामपुर घटना मात्र होइन यसअघि नवलपरासी जिल्लामा पनि यस्तै प्रकारको घटना घटेको थियो । १३ दिन किरिया गरेका किरियापुत्रीको १४ औं दिनको दिन निधन भएको थियो ।

यसको कारण सहजै अनुमान लगाउन सकिन्छ कि हामी शरीरलाई चाहिने खानेकुरा खान बारेर सीमीत खानेकुराले कठोर संस्कार गर्न बाध्य छौं, जसको कारण स्वास्थ्य समस्याले ज्याननै लिन्छ । यसर्थ संस्कारका नाममा गरिने परम्परागत कार्यलाई समयानुकुल बैज्ञानिक प्रयोगमा ढाल्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update