Erani Mahal
बुटवल र बेलायत सरकारबीच 'सहरी उत्थानशीलता' परियोजना सञ्चालन गर्ने सहमति
69593998_537735730302783_812088658231296000_n

बुटवल - बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ । बुटवलको आर्थिक समृद्धिका साथसाथै संस्थागत क्षमता विकासका लागि दुवै पक्षले यो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार आयोजित एक कार्यक्रमका बीच बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गर्नुभएकाे छ ।

यो परियोजनाले तीनवटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बुटवल सहरको सुद्धृढीकरणका लागि आर्थिक वृद्धिलाई परियोजनाले पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा पूर्वाधार निर्माण र तेस्रो प्राथमिकतामा संस्थागत क्षमता विकासलाई राखिएको छ ।

परियोजनामा हस्ताक्षरपछि बोल्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नु रहेको बताउनुभयाे ।

बुटवललाई उत्थानशील सहर बनाउन प्रभावकारी र सक्षम संस्था पहिलो शर्त भएको भन्दै उनले यसका लागि परियोजनाले काम गर्ने बताउनुभयाे । त्यस्तै वातावरण संरक्षणका लागि हरित क्षेत्र निर्माण, सबैका लागि सेवा प्रवाह, सुरक्षित आवास, खानेपानीको सहज पहुँच, उचित सडक, शिक्षादीक्षाका लागि परियोजना सफल हुने बताइएकाे छ र

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगसँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले परियोजना सफल रुपमा कार्यान्वयन भए बुटवल आर्थिकरुपले समृद्ध हुने भन्दै यसका लागि निजी क्षेत्रको समेत साथ र सहयोग लिएर अघि नगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update