Erani Mahal
रामपुर नपा ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न
69381559_2436589863329403_6434503935947440128_n

पाल्पा रामपुर - रामपुर नगरपालिका वडा नं ६ ले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले वडा नम्बर ६ मा चिडियाखाना, गौशाला र नगरकै राम्रो सभाहल निर्माण भैरहेकोले अब वडा र जनसहभागीताबाट पनि उत्तिकै प्रेरणादायी काम गरेर साना -ठुला योजना समयमा नै सम्पन्न गरि आम नागरिकलाई विकासको आभास गराउनुपर्ने बताउनुभयो ।

कुमाल समुदायको पेशा व्यबसाय निरन्तरताको लागि गमला बनाउने सीप प्राथमिकतामा राखेको बताउदै तालपोखराको थप संरचनाका लागि मन्त्रालयबाट २५ लाख परेको जानकारी दिनुभयो । ६ सय मिटर पिच कार्यक्रम अन्तर्गत ११ सय मिटर पिच गरेर वडा न ६ का जनसमुदायले नगरकै नमुना काम गरेकोमा उहाले प्रशंसा गर्नुभयो । बेरुजु नबढाउन उपभोक्तालाई आग्रह गर्दै थापाले उज्यालो नगर कार्यक्रम यही बर्ष सकेर सबै घरमा बत्ती पुग्ने उल्लेख गर्नुभयो । साथै अबका घरमा सेफ्टी ट्यान्की अनिवार्य भएकाले ढल बग्ने नाला भन्दा सेफ्टी ट्यान्कीको विकास गर्ने लगायतका नगरका योजनाबारे जानकारी दिनुभएको थियो । साविक रामपुर गाविसका नागरिकलाई केही महिना भित्र लालपुर्जा बितरण गर्ने गरि काम गरिरहेको बताउदै नागरिकलाई मर्का नपरोस भनेर यस बर्ष कुनै पनि कर तप नगरिएको बताउनुभयो ।

वडाको प्रतिवेदन प्रस्तुत गर्दै वडाअध्यक्ष हुमनाथ न्यौपानेले गत आर्थिक वर्षमा वडामा संचालन भएका विभिन्न ५७ वटा योजनामध्ये ५५ योजना सम्पन्न गर्न सफल भएको बताउनुभयो । वडामा नगरबाट परेका चार वटा गौरवका योजनामध्ये एउटा सम्पन्न भएको र ३ वटा निर्माणाधिन अवस्थामा रहेको जानकारी उहाले दिनुभयो।

वडाअध्यक्ष न्यौपानेले गतबर्षको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै वडामा १ सय ४५ वटा घटना दर्ता भएको बताउनुभयो। जसमा वडाले तोकेको समय २० दिनभित्रमा विवाह र मृत्यु दर्ता गर्नेलाई प्रोत्साहन स्वरुप २ सय ५० रुपैया रकम दिदै आएको छ । वडाले गतवर्ष तीन लाख २३ हजार दुई सय २० रुपैयाँ राजश्व संकलन गरेको जनाइएको छ । साथै आगामी आर्थिक वर्षका लागी ४७ वटा योजना वडाले छनौट गरेको जानकारी दिइएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले सेवा प्रवाहमा नागरिकलाई छिटो छरितो र सन्तुष्टि हुने गरि काम गर्न सधै तत्पर रहेको बताउनुभयो । गुनासालाई सम्बन्धित व्यक्ति निकायले समाधान गर्दै सेवा लिने/ दिने संस्था बिच सहकार्य हुनु आवश्यक छ अर्यालले भन्नुभयो- एक योजनाले अर्का उपभोक्तालाई हौसला दिने गरि योजना सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

सोही अबसरमा लेखा अधिकृत रेणुराम ज्ञवाली, शिक्षा अधिकृत रमाकान्त अर्याल, वडा नं ७ का अध्यक्ष तीर्थप्रसाद पंगेनी, नेपाली कांग्रेस वडा सभापति कृष्णप्रसाद अर्याल, नेकपा वडा कमिटि अध्यक्ष सागरप्रसाद देवकोटा, राष्ट्रिय जनमोर्चाका रामप्रसाद गैरे, गौशाला निर्माण समिति अध्यक्ष ओमप्रकाश रेग्मी, दुर्गामन्दिर ठुलीआँली मोटरबाटो उपभोक्ता समिति अध्यक्ष घनश्याम देवकोटा, सल्लाहकार सुन्दरप्रसाद देवकोटाले वडाका योजना आवश्यक र प्राथमिकता बारे बोल्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update