X

जब बच्चा पेटबाट बाहिर निस्कियो–सबै प्रसव वेदना बिर्सिएँ

रानीमहल संवाददाता || १३ भाद्र २०७६,शुक्रबार ०९:३०
a

रश्मि अ सफल

64x64

२४ वर्षको उमेरमा विवाह भएको थियो, जतिबेला स्नातक तेस्रो वर्षमा अध्ययनरत थिएँ । जागिर थियो एउटा गैरसरकारी संस्थामा । काठमाडौँको बसाई । विवाहपछि घर व्यवहार, पढाइ र जागिर सबै कुरालाई मिलाएर लैजानुपर्ने परिस्थितिबाट गुज्रिएको थिएँ । अत्यन्तै व्यस्त जीवनशैली । गुजारा चलेकै थियो । पढाइ सकियोस्, जीवनशैली अलि सहज होस,् अनि बच्चा होस् भन्ने चाहना हामी दम्पतीकै थियो । तर काठमाडौँको जीवनशैली सधैँ उस्तै । कुनै दिन अत्यन्तै जरुरी पारिवारिक काम पर्यो भने पनि बिदाको दिन बाहेक अरू दिनमा त्यो काम गर्न सम्भव थिएन । सधैँको अस्तव्यस्त जिन्दगी ।

श्रीमान् र म दुवै बालअधिकारको क्षेत्रमा काम गथ्र्यौं । दुवैलाई बच्चा मनपर्ने । विवाह भएको एक वर्षपछि हामीले बच्चा जन्माउने योजना बनायौँ । योजना गरेको एक वर्षसम्म पनि मेरो गर्भ बसेन । त्यसपछि हामी दुवैले परीक्षण गरायौँ, तर दुवैको रिपोर्ट सामान्य नै थियो र पनि बच्चा नबस्दा हामी तनावमा थियौँ । विवाह गरेको २–३ वर्षसम्म पनि बच्चा नहुँदा परिवार, समाज, इष्टमित्रले गर्ने प्रश्नले झन् विचिलित हुन्थ्यौँ । हामीले चाहना गर्दागर्दै पनि बच्चा हुन नसकेको कुरा परिवार साथीभाइ, इष्टमित्र कसैलाई पनि सुनाएका थिएनौँ । अलिक समयपछि मैले मेरी दिदीलाई चाहिँ सुनाएकी थिएँ । हामी निराश भइसकेका थियौँ ।

२०६९ सालमा झापाको जिल्ला बालकल्याण समितिमा जागरिका लागि नाम निकालेँ । मेरो झापामा जागिर भएपछि दुवै जना काठमाडौँ छाडेर झापामै बस्न थाल्यौँ । २०७० साल माघ महिनामा एमए दोस्रो वर्षको परीक्षा दिनका लागि म काठमाडौँ (माइती) गएकी थिएँ । झापामा बस्न थालेकाले होला, म काठमाडौँ गए नै पिच्छे बिरामी पर्थें । सायद हावापानी नमिलेर होला । त्यसपटक पनि मलाई सन्चो भएन । घरको पानी खाँदा नि गन्हाउँथ्योे, जारको खाँदा पनि मीठो लाग्दैनथ्यो । मिनरल वाटर पनि रुच्दैनथ्यो । खाना पनि मीठो लाग्दैनथ्यो । जाडो महिनाको फलफूल पनि खान मन लाग्दैनथ्यो ।

मलाई खानासँग दाल मनपर्दैनथ्यो । एक दिन साँझ गेडागुडीको रससँग मैले साविकभन्दा धेरै खाना खाएकी थिएँ । खाना खाएको एकछिनमा एक गिलास मनतातो पानी खाएँ । पेट चसक्क भयो । एकछिनपछि टेवलबाट उठेर बेसिनमा गई चुठेँ । त्यसपछि पढ्नका लागि कोठमा जान लागेकी थिएँ, भान्छाको ढोकाबाट बाहिर निस्कन नपाउँदै मलाई बमिट आयो । म बेसिनसम्म पनि जान भ्याइनँ । कोठाभरि फोहोर भयो । बमिट हुनेवित्तिकै म फ्रेस भएँ । हत्त न पत्त मैले भान्छा सफा गर्न थालेँ । ममीले ‘भयो भयो नगर जा आराम गर’ भनेर कोठामा पठाउनुभयो ।

ममीले मेरो खानपान मेरो अवस्था देखेर शंका गर्नुभयो घरमा (सासु) आमालाई फोन गरेर मेरो महिनावारीको बारे सोध्नुभयो । आमाले ‘नियमित छ, यताबाट भएरै गएकी हुन्’ भन्नुभयो । मेरो महिनावारी नियमित हुँदैनथ्यो । कहिलेकाहीँ ३ महिनापछि पनि हुन्थ्यो । ममीले आमालाई सोध्दा फागुन लागिसकेको थियो, तर मेरो पुस ९ गते मात्रै अन्तिम पटक महिनावारी भएको थियो ।

धेरै दिनदेखि खाना नरुचेकाले ग्यास्ट्रिक भयो र एक्कासि धेरै खाएकाले बमिट भयो भनेर मैले सामान्य स्पष्टीकरण दिएँ । मैले ममीलाई योजना गर्दागर्दै पनि आजसम्म गर्भ बस्न नसेकेको कुरा सुनाएकी थिइनँ र सुनाउन सक्ने अवस्थामा पनि थिइनँ । प्रायः ममीले गरेको शंका पूरा हुने गथ्र्यो । मैले भगवानसँग प्रार्थना गरेँ– भगवान्, ममीको शंका पूरा होस् । घरमा आमाबुबाको अपेक्षा पूरा होस् । समाजलाई जवाफ मिलोस् र हामी दम्पतीको चाहना पूरा होस् ।

ममीले आफ्नो शंका दिदीलाई पनि सुनाउनुभएछ । दिदीले मलाई फोन गरेर घरमै टेस्ट गर्ने तरिका सिकाइन् । ममीले एकुरेट नामको किट ल्याउनुभयो । मैले चेक गरेँ । एउटा धर्को गाढा भयो, अर्को मधुरो, हो कि होइन जस्तो देखियो । दिदीलाई सुनाएँ । दिदीले दुवै धर्को प्रष्ट हुनुपर्छ भनिन् । ममीको शंका त्यहीँ भंग भयो । अलिअलि पलाएको आशा पनि त्यहीँ चुँडियो । त्यसै दिन म धादिङ मामाघर गएँ– मामासँग बाइकमा । बाटो साह्रै अप्ठ्यारो थियो । मामाघर पुग्दा जिउ दुखेर थिलथिलो भएको थियो । तर मामाघर जानेवित्तिकै मलाई पानी पनि स्वादिलो लाग्यो, खाना पनि रुच्यो । सब सामान्य भयो । एक हप्तापछि म काठमाडौँ फर्किएँ । काठमाडौँको पानी फेरि नमीठो भयो । खाना त्यस्तै भयो ।

मलाई पटक्कै कुनै कुराको रुचि भएन । तर परीक्षा दिन गएको दिन बाहिर गएर नास्ता खान्थ्यौँ । बाहिरको नास्ताचाहिँ मीठो हुन्थ्यो । मेरो परीक्षा फागुनको अन्तिममा सकियो तर मलाई महिनावारी भएको थिएन र स्वास्थ्य पनि ठीक थिएन । एक दिन दिदीले अफिसबाट फोन गरेर ‘तेरो अस्तिको परीक्षण सकारात्मक जस्तो लाग्यो, एक पटक मेडिकल गएर चेक गराउनू है’ भनिन् । म परीक्षा दिन काठमाडौँ आएकी मान्छे, परीक्षाको तनाव छँदै छ, ज्यानलाई सन्चो छैन । अर्कोतिर यतिका वर्षसम्म बच्चा नभएको र यस्तो कुरा सुन्दा मलाई असह्य भइरहेको थियो । कसैलाई सुनाउन पनि सकेकी थिइनँ ।

मेरो परीक्षा सकिएको भोलिपल्ट दिदी र म कालीमाटीको ए वान क्लिनिकमा गयौँ । टेष्ट गर्न दियौँ तर डाक्टर नआइपुगेकाले रिपोर्ट एक घण्टापछि मात्रै आउँछ भने । दिदीलाई अफिस जान ढिलो हुने भएकाले हामीले रिपोर्टको प्रतीक्षा नगरी चोक नजिकै अर्को मेडिकलमा गएर टेष्ट गरायौँ । तुरुन्तै रिपोर्ट आयो । ल्याबबाट सकारात्मक उत्तर आयो । दिदीले बधाई दिइन् तर मलाई विश्वास लागेन । त्यो मेडिकलमा गाइनोको डाक्टर पनि हुनुहुँदोरहेछ । त्यसपछि डाक्टरलाई भेटेँ । उहाँले ‘पहिलोचोटि हो ?’ भनेर सोध्नुभयो । मैले मुन्टो हल्लाएँ । उहाँले ‘खाना समय समयमा खानु, जंक फुड नखानु, धेरै यात्रा नगर्नु, यो यो टेष्ट गर्नु’ भनेर १०–१२ वटा टेष्टमा चिह्न लगाइदिनुभयो । म अलमल्ल परेँ । म अझै विश्वस्त थिइनँ । मैले पत्याउनै सकिनँ । त्यसपछि म डाक्टरको प्रेस्क्रिप्सन लिएर भोलिपल्ट बानेश्वरको सिभिल अस्पताल गएर सबै टेष्ट गराएँ र भिडियो एक्स रे पनि गराएपछि भने म ढुक्क भएँ ।

विवाह गरेको ५ वर्षपछि म आमा हुने भएछु । त्यही पनि गर्भ बसेको ३ महिना पुग्न लागेपछि बल्ल थाहा पाएँ । त्यो दिन यति खुसी थिएँ कि तयो खुसी म शब्दमा व्यक्त गर्नै सक्दिनँ । मैले भगवानलाई धन्यवाद दिएँ किनकी त्यस दिन मेरो ममीको शंका, आमाबुबाको अपेक्षा, समाजको प्रश्नको उत्तर र हाम्रो चाहना पूरा भएको थियो ।

चैतको पहिलो हप्ता म झापा फर्किएँ प्लेनमा । त्यतिबेला अतीतलाई सम्झिएँ । पहिलो ३ महिना अत्यन्तै जोखिमको अवस्था हो, कतिलाई बेड रेष्ट गर्नु भन्छन् । बच्चा खेर जाने प्रबल अवस्था भनिन्छ यस अवधिलाई । म त झापादेखि काठमाडौँसम्म एक्लै गाडीमा गएकी थिएँ । फेरि काठमाडौँदेखि धादिङसम्म पहाडको कच्ची बाटो ढुंगैढुंगा बिच्छ्याएको । त्यही पनि मोटरसाइकलमा दुईदुईचोटि यात्रा गरेको । ओहोे कति गाह्रो भएको थियो । धन्न केही भएन । गर्भ रहेको थाहा पाएको भए त किन त्यस्तो यात्रा गर्थे र ? सायद परीक्षा पनि दिन्नथेँ ।

म गर्भवती भएको थाहा पाएको दिनदेखि मलाई यो संसार नै फरक लाग्न थाल्यो । माइतीमा ममीबुबाले गर्नुभएको व्यवहार, बोल्नुभएको शब्द, घरमा सासूससुराको माया र व्यवहार, श्रीमान्को हेरचाह सबैसबैले मलाई फरक अनुभूति भइरहेको थियो । मभित्र अर्को मान्छे छ, जसलाई मैले यो संसारमा ल्याउनु छ । मैले गरेको हरव्यवहारले मभित्रको मान्छेलाई प्रभाव पार्छ, त्यसैले मैले हरेक कार्य गर्दा संयमित हुनुपर्छ । मैले राम्रो कुरा मात्र सोच्नुपर्छ । राम्रो कुरा मात्र सुन्नुपर्छ, बोल्नुपर्छ । राम्रो खानुपर्छ । मैले जे गर्नुपर्छ, त्यो मेरो लागि होइन, आफूभित्रको बच्चालाई ख्याल गरेर मात्र गर्नुपर्छ । त्यस दिनदेखि मैले आफ्नो इच्छा त्यागिदिएँ, आफूलाई बिर्सिदिएँ ।

गर्भावस्थामा थ्रेडिङ गर्नुहुँदैन भनेर मैले राम्री हुन छाडिदिएँ । लिपिस्टक र नेलपोलिसको गन्ध र लिडले बच्चालाई असर गर्छ भनेर मैले त्यो पनि लगाउनै छाडेँ । हातको नङ पालेकी थिएँ, अन्जानमा पेट चिलाउँदा कन्याएर बच्चालाई असर गर्ला भनेर त्यो पनि काटिदिएँ । म सिम्पल थिएँ, झनै सादा भएँ । अनुहार सफा थियो । अनुहारभरि कालो पोतो आउन थाल्यो, सहर्ष स्वीकारेँ । मलाई आफ्नो चिन्ता थिएन, केवल आफ्नो गर्भभित्र रहेको बच्चाको मात्र चिन्ता थियो र के हुन्छ होला ? कस्तो हुन्छ होला ? अनुहार मेरो जस्तो हुन्छ कि उसको बाबाको जस्तो हुन्छ होला ? भन्ने मनमा कौतूहल जागिरहन्थ्यो ।

दिनहुँ नेटमा फेसबुक हेर्नुको साटो गर्भावस्थाको समस्या, खान हुने र नहुने कुरा, गर्न हुने र नहुने कुरा, कुनकुन हप्तामा बच्चा कस्तो हुन्छ र हुनुपर्छ भनेर सर्च गरेर हेर्थें र त्यसैअनुरूप आफुलाई परिवर्तन गर्ने कोसिस गर्थें । बच्चा ४ महिनाको भएपछि एकपटक फेरि भिडियो एक्सरे गराएँ । डाक्टरले ‘पानी पिउनुहुन्न ?’ भनेर गाली गर्नुभयो । ‘साल पनि तल झरेको छ, पूरै बेड रेष्ट गर्नु’ भन्नुभयो । मलाई साह्रै डर लाग्यो र चिन्ता पनि । म जागिरे मान्छे, घरबाट १५ किलोमिटर टाढा अफिस थियो । दिनहुँ स्कुटरमा जानुपथ्र्यो । बाटो फेरि पिच भत्किएर खाल्डाखुल्डी भएको थियो । डाक्टरको कुराले साह्रै अत्यायो ।

रातीराती एक्कासि खुट्टा बाउँडिन्थ्यो । मलाई पानी र फलफूल साह्रै मन पर्दैनथ्यो । जबर्जस्ती खान थालेँ । खाना पनि छिनछिनमा खाइरहन्थेँ । एकैपटक धेरै खाँदा बमिट हुन्थ्यो । बिहान उठ्ने वित्तिकै प्रायः बमिट हुन्थ्यो । हल्का रिङटा लाग्थ्यो । केही खाएपछि ठीक हुन्थ्यो र घरको काम गर्थें । आफैँ स्कुटर लिएर अफिस जान छाडेँ । त्यसपछि श्रीमान्ले मोटरसाइकलमा लैजानुहुन्थ्यो । मोटरसाइकलमा पनि एकातिर मात्र बसेर जाने गर्थें । अफिस नजिकै मामा–ससुराको, काका–ससुराको घर भएकाले कहिलेकाहीँ, धेरै काम भएको बेलामा, बिहानै अफिस जानुपर्दा उतै बस्थेँ ।
बच्चा ५ महिनाको भएपछि हल्का चलेको महसुस हुन थाल्यो । निकै अनौठो लाग्थ्यो ।

त्यति बेलासम्म बहिरबाट हेर्दा म प्रेग्नेन्ट छु भनेर कसैले थाहा पाउँदैनथ्यो । अफिसको कामले काठमाडौँमा गएकी थिएँ । अरूले देख्दा सामान्य नै थिएँ । तर, मेरो शरीर कति भारी थियो, मलाई कस्तो भएको छ, कसलाई थाहा थियो र ? काठमाडौँको गाडीमा यात्रा गर्न निकै गाह्रो थियो । सिट कसैले छाड्दैनथे । ‘मलाई सन्चो छैन, प्लिज उठिदिनुहोस् न’ भन्दा मान्छे रिसाएर हेर्थे । ‘हेर्दा त हट्टाकट्टा नै देखिनुहुन्छ त’ भनेर उल्टै भनाइ खान्थेँ । त्यतिबेला महिला सिटमा बसेका पुरुषलाई उठाउँथे, नमान्दा खलासीलाई भनेर उठाउन लाउँथे, कतिले त सरक्क मान्थे भने कतिले बाझ्न खोज्थे । म आफूलाई पुरुषको बराबरी ठान्ने गर्थें । कुनै काममा पुरुषभन्दा पछि हट्दिनथेँ । मलाई महिला आरक्षणको महत्त्व त्यतिबेला मात्रै महसुस भयो, जतिबेला म महिला भएकै कारणले गर्दा त्यो समस्या खेप्नुपरेको थियो ।

बच्चा हुर्कंदै थियो । फरक फरक महिनामा फरक फरक अनुभूति हुँदै थियो । सुरुका तीन–चार महिना खाना रुचेन । ५ महिनापछि खाना रुच्न थाल्यो, तर शरीर झनै भारी हुन थाल्यो । देब्रे खुट्टा छोटो भएजस्तो, हिँड्न नै अप्ठ्यारो हुन्थ्यो । आराम गर्न लाग्दा कम्मर दुखेर सहजै कोल्टे र्फेन सकिँदैनथ्यो । अरूले हेर्दा सबैलाई हुने नियमित प्रक्रिया हो जस्तो लाग्दो हो, मैले पनि अरूलाई देख्दा त्यस्तै सोच्थेँ तर कति गाह्रो हुन्थ्यो पलपल बिताउन, त्यो भोग्नेलाई मात्र थाहा थियो । तर त्यति पीडा हुँदा पनि एउटै कुराले खुसी तुल्याउँथ्यो कि म आमा हुँदैछु ।

जेठमा काठमाडौँ गएको बेलामा एउटा क्लिनिकमा भिडियो एक्सरे गराउँदा ‘छोरा छ कि छोरी ?’ भनेर सोधेकी थिएँ । डाक्टरले ‘पहिलो बच्चा हो ?’ भनेर सोधे ? मैले मुन्टो हल्लाएँ । डाक्टरले भने ‘लक्ष्मीको छोरी लक्ष्मी नै छ ।’ के होला ? भन्ने कौतूहल मेटिएको थियोे । अब कस्ती होली ? भन्ने कौतूहल चाहिँ बाँकी थियो । त्यतिबेलै डाक्टरले मलाई मेरो गर्भभित्रको छोरीले हात, खुट््टा चलाएको, उसको बसाइको अवस्था सबै भिडियोबाट देखाइदिनुभयो । त्यतिबेलै मेरो कानमा मेसिन लगाइदिएर बच्चाको ढुकढुकी पनि सुनाइदिनुभयो । त्यतिबेला बच्चाको धड्कनभन्दा हजारौँ गुणा बढी मेरो धड्कन धड्किरहेको थियो ।

डाक्टरले भने अनुसार नियमित गर्भ परीक्षण गराइरहेकी थिएँ । क्याल्सियम र आइरन चक्की नियमित खाइरहेकी थिएँ । डाक्टरले असोज १६ गतेको डेट दिएका थिए । मेची अंचलकै राम्रो भनेर काठमाडौँमा नियमित परीक्षण गराएको डाक्टरले झापाको ओम मेचीमा चेकअप गराउनु भनेका थिए । ओम मेची दमकमा थियो, मेरो घरबाट ४० किलोमिटर टाढा । म असोज ३ गते फलोअपमा गएकी थिएँ । असोज १७ गते दशैँको टीका थियो । म असोजको १३ गतेसम्म अफिस गइरहेकी थिएँ । अफिसबाट राम्रो सहयोग थियो, सबैले माया गर्थे । प्राथमिकता दिन्थे, अनुभव सुनाउँथे । डक्टरले साह्रै भयो भने आउनु नत्र दशैँ मानेर आउनु भनेका थिए ।

१५ गते घरमा आफन्तहरु सबै मिलेर सप्तमी मनायौँ । घरमा काकाकाकी, दिदीभिनाजू, भान्जाहरू सबै आउनुभएको थियो । मैले अघिल्लो दिन १०–१२ प्याकेट फुरनदाना बनाएकी थिएँ । अष्टमीको दिन बिहानैदेखि मैले आमालाई पकाउन सघाएँ । काकीले ‘दशैँ मान्न दिने रहेछौ जस्तो लाग्यो । फुर्तिली देखिन्छ्यौ । दुई चार दिन केही हुन्न’ भन्नुभयो । मलाई पनि खुसी लाग्यो । साँझ सबै आआप्mनो घरमा जानुभयो ।

बेलुका खाना खाएर सुत्यौँ । राती १२ बजे अचानक जननेन्द्रियबाट पानी निकै गयो । झसंग भएँ । बाथरुम गएर सफा गरेँ र प्याड लगाएर सुतेँ । एक दिन नन्दले बच्चा हुने तीन–चार दिन अगाडि आधा लिटरजति पानी बगेको थियो फेरि केही भएन भन्नुभएको थियो । मैले सम्झिएँ । अब मेरो गर्भ भित्रको अर्को मान्छेले यो संसार देख्ने दिन नजिक आउँदै छ । त्यो रात म सुत्न सकिनँ । श्रीमान्लाई उठाएँ । एकछिन उठ्नुभयो । ‘हस्पिटल जाने त अहिले ? एम्बुलेन्स बोलाऊँ ?’ भन्नुभयो । मैले पर्दैन भनें । आमालाई उठाउन सकिनँ । दिनभरको थकान । बल्ल सुत्नुभएको छ भनेर बोलाइनँ । भोलिपल्ट बिहानै हस्पिटल जाने कुरा पहिले नै निधो गरेका थियौँ । रातभर झिमिक्क पनि गर्न सकिनँ । अनौठो तरिकाले कम्मर दुख्थ्यो । फेरि दुख्न छाडेपछि फ्रेस हुन्थ्यो । नदुखेको बेलामा झकाउन खोज्थेँ फेरि अनौठो तरिकाले विस्तारै दुख्थ्यो र सहनै सकिँदैन कि भन्दाभन्दा कम भएर फेरि केही नभएको जस्तो अनुभव हुन्थ्यो ।

मलाई सुत्केरी व्यथा लागिसकेको रहेछ । मलाई थाहा थिएन, अन्तिम अवस्थामा त्यसैगरी दुख्छ भनेर । म त के कुरामा ढुक्क थिएँ भने अझ दुई–तिन दिन लाग्छ होला । बिहान ५ बजे उठेर नुहाएँ । सामान्य पानी बगिराखेकै थियो । प्याड लगाएकी थिएँ । ८ बजे हस्पिटल खुल्थ्यो । विर्तामोडसम्म बाइकमा गएर त्यहाँबाट गाडीमा जाने योजना थियो । तर मलाई विर्तामोडसम्म बाइकमा जाने आँट थिएन ।

मैले नुहाइसकेर दही, चिउरा र केरा खाएँ । श्रीमान् उठेर तयार भएपछि एम्बुलेन्स बोलायौँ । एम्बुलेन्स आइपुग्दासम्म आमाले खाना पकाइसक्नुभएछ । मासुको तातो रससँग खाना खाएर म र श्रीमान् एम्बुलेन्समा गयौँ । भान्जाले एम्बुलेन्स ल्याउनुभएको थियो । उहाँ पनि सँगै हस्पिटल जानुभयो । आमाले ‘म पनि जान्छु’ भन्नुभएको थियो । मैले ‘आजै पर्दैन आमा’ भनें । बाटोभरि राती दुखेझैँ भइरह्यो । ९ बजे हस्पिटल पुग्यौँ । १० बजे डाक्टर चेकअपमा आए । मैले रेगुलर चेकअप भनेर नाम टिपाएकाले कुर्नुपर्याे । चेक गरियो । ‘तपाईंहरू एकदम ठीक समयमा आउनुभएछ । ४ घर खुलसिक्यो अब बढीमा दुई घण्टामा बच्चा जन्मिन्छ’ उनले भने ।

मेरो श्रीमान् छक्क पर्दै ‘डाक्टरसा’ब यति छिट्टै ? उनलाई त दुखेकै छैन त’ भन्नुभयो । मलाई हाँसो उठ्यो । मलाई दुख्दा उहाँलाई नि दुख्ने भए थाहा पाउनुहुन्थ्यो, कति दुखेको छ भनेर । नर्सले ‘कसैकसैको सहने बानी हुन्छ नि त’ भन्नुभयो । मलाई अलिक राहत मिल्यो । डाक्टरले ‘२ जना महिलालाई बोलाउनू’ भनेछन् । अघि आमालाई नहिँड्नु भनेको तुरुन्तै बोलाउनुपर्याे । मलाई भर्ना गरियो । जीवनमै पहिलोचोटि हस्पिटल भर्ना भएकी थिएँ म । डर लागि नै रहेको थियो । साँच्चै भन्ने हो भने आफूलाई माया मारिसकेकी थिएँ मैले, युद्धमा गएको सैनिकले झैँ । बच्चा जन्माउन नसकेर ज्यान गुमाएको, आमा र बच्चा दुवै मरेका, कतिको बच्चा मात्र बाँचेका अनेक घटना, समाचारहरूको याद आउन थाल्यो । जे होला होला । आँखाभरि आँसु थियो । प्रसव वेदना उत्तिकै थियो । हस्पिटलको बेडमा सुताइसकेपछि झन् छिटोछिटो दुख्न थाल्यो । यो प्रकृति पनि अनौठो लाग्न थाल्यो । दुखाइको पराकाष्ठा नाघ्न लागेपछि चट्टै निको हुन्थ्यो र फेरि एकछिनमा दुख्न सुरु हुन्थ्यो ।

लेवर रुममा लगेपछि निकै नै गाह्रो भयो । बल गर्नै नसक्ने भएछु । मैले मेरो श्रीमान्लाई बोलाइदिन अनुरोध गरेँ । नर्सले मिल्दैन भन्नुभयो । त्यसपछि मलाई दुईवटा फ्रुटी खान दिनुभयो र बल गर्न लगाउनुभयो । साँच्चै मृत्युसँग युद्ध जितेर, आफ्नो माया मारेर बल गरेपछि बच्चा जन्मियो । पेटभित्रको बच्चा निस्किएपछि बाहिर पेटमाथि राखिदिए नर्सहरूले । अत्यन्तै न्यानो स्पर्श । अहिले सम्झँदा पनि त्यो स्पर्श ताजै लाग्छ, आनन्द लाग्छ । जन्मिएको एकछिनमै बच्चा रोएको सुनेँ । अघिको प्रसव–वेदना सबै बिर्सिएँ । गहभरि आँसु भरिएर आयो । संसार जितेकी थिएँ मैले जस्तो लाग्यो । मृत्युलाई पछारेकी थिएँ । कतिखेर हेरौँ लागेको थियो ।

नर्सले बच्चालाई सफा गरेर बाहिर लानु अगाडि ‘ल हेर्नुहोस् तपाईंकी छोरी कति राम्री छिन्’ भनेर आमाको साडीमा पोको पारिएको अवस्थामा मलाई देखाए । म जिउँदो लास जसरी लडिरहेकी थिएँ । शरीर उठ्न सकेको थिएन । मैले छोरीलाई हेरेँ र मुसुक्क हाँसेँ । रातो कपडामा गोरी थिई छोरी । सबैतिर लुटुपुटु पारेर अनुहार मात्रै देखाइदिएका थिए । मलाई कतिखेर छातीमा टाँसौँ भएको थियो, नर्सहरूले बाहिर लगिदिए ।

प्रसव–वेदना सहेको १२ घण्टापछि छोरी जन्मिएकी थिई । लेवर रुमको काम सकिएपछि मलाई वार्डमा सारियो । बेडमा पुगेँ आमा, आमाजु, जेठानी दिदी र छोराहरू आउनुभएको रहेछ । नातिनीलाई देखेर हजुरआमा प्रफुल्ल हुनुहुन्थ्यो । सबै खुसी थिए । गद्गद् देखिन्थे । म बेडमा बस्न नसकेर उभिइरहेकी थिएँ । रिङटा लाग्दै थियो । पेट अत्यन्तै खाली खाली के नभएको नभएको जस्तो भइरहेको थियो । बेडमा बस्न खोजँे, बस्न सकिनँ । सुत्न पनि सकिनँ । निकै गाह्रो र असहज भइरहेको थियो । सबै वेडमा सुत्केरीहरू मात्रै थिए । बल्लबल्ल ढल्किएर सुतेँ । आमाले नजिकै ल्याएर छोरीलाई सुताइदिनुभयो । छोरीलाई विस्तारै छोएँ । कोमल, छुँदा पनि दाग लाग्छ कि ? दुख्छ कि जस्ती । छोरीलाई सुम्सुम्याएपछि दुःख पनि जादूले छु मन्तर गरेजस्तो लाग्यो । सबै बिर्सिएछु ।

‘अब दूध चुसाउनू’ भन्दै नर्स आइन् । गर्भबाट बाहिर आएको एक घण्टा भएको छैन, कसरी चुसाउने हो ? फेरि दूध आउने हो कि होइन ? नर्सले बच्चालाई मसँगै टँसाएर राखिदिइन् र दूध निचोरी दिइन् । दायाँबायाँ सबै जना थिए । मलाई अप्ठ्यारो लाग्दै थियो । तर अप्ठ्यारो मानेर काम थिएन । मलाई अचम्म लाग्यो– दूध निचोर्दा थोपाथोपा आयो । बच्चाको मुखमा निप्पल लगाइदिएपछि बच्चाले दूध तान्दा मलाई झनै अनौठो लाग्यो । भित्रभित्र कस्तोकस्तो लाग्यो । त्यो सुखको, त्यो आनन्दको अनुभूति लेख्नका लागि मैले अहिले सकिरहेकी छैन । सायद त्यही नै हो– आमा बन्दाको सुखानुभूति अनि त्यही नै होला मातृत्व ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५