Erani Mahal
रूरू (रिडी) धाममा हुने महायज्ञमा सबैलाई सहभागी हुन आह्वान
69403679_494554857768401_4723141961651847168_n

पाल्पा – पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी रुरु धाममा आगामी भदौँ २८ गतेबाट असोज १७ गतेसम्म हुन लागेको धार्मिक एवं ज्ञान महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सोह्र श्राद्धको अवसर पारेर पितृ मोक्षका लागि आयोजना गरिएको धार्मिक ज्ञान महायज्ञको प्रचारप्रसारका लागि ५ नं. प्रदेश, गण्डकी प्रदेश र ३ नं. प्रदेशमा अयोजक समिति खटेको बताइएको छ ।


महायज्ञको जानकारी दिन बिहीबार रिडी धाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यज्ञका प्रमूख कथावाचक बाल योगेश्वर महाराजले रिडी धामको प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण गर्ने पवित्र उद्धेश्य राखेर महायज्ञ गर्न लागिएको जानकारी दिनुभयो । महायज्ञमा सबै धर्म, सम्प्रदाय, जातजाति, समुदायलाई सहभागी हुनका लागि आयोजकले आह्वान गरेको छ । यो पवित्र तीर्थस्थल सबैको हो यो महान पवित्र कार्यमा सहभागी हुन आह्वान गर्दछु आयोजक प्रमुख वाचक महाराजले भन्नुभयो ।

उहाँले नेपालको अन्य तीन धाममा विश्वका धेरै क्षेत्रबाट धार्मिक पर्यटक भित्रिने गरेको तर रुरु धाम सुनसान बनेको प्रति चिन्ता व्यक्त गर्दै रिडी धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । महाराजले महायज्ञ सफल भए पनि नभएपनि रुरु क्षेत्रमा शव नष्टस्थल निर्माण गर्नुपर्ने सहित अन्य धार्मिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।


उहाँका अनुसार अहिले विभिन्न जिल्लामा हिन्दुधर्मालम्बीहरुलाई रुरु धाममा आमन्त्रण गर्ने कार्यक्रम चलिरहेको छ । यस्तै विभिन्न ४३ जिल्लाबाट रुरु क्षेत्रको दर्शनका लागि भक्तजनहरु आउने अग्रिम जानकारी समेत आएको छ । यज्ञ सफल बनाउनका लागि १ हजार एक सय जनाको मूल समिति र विभिन्न उपसमिति समेत गठन गरी क्रियाशिल रहेको छ ।


पत्रकार सम्मेलनमा विभिन्न स्थानबाट रुरु धाममा आउने भक्तजनका लागि निशुल्क सवारीसाधनको व्यवस्था गरिएको छ । यस्तै खाना र बाँसको समेत व्यवस्था गरिएको छ । कुनै पनि भक्तलाई चन्दाका लागि बाध्यता नगरिएको बालयोगेश्वर महाराजले बताउनुभयो । स्वइच्छाले भक्तजनहरुले दान गर्न सक्नुहुनेछ भने रु २१ सय मा जुनसुकै बिवाह, श्राद्ध जस्ता कार्य गर्न सकिने व्यवस्था गरिएको आयोजक समितिका सदस्य एवं रुरु गाउँपालिका वडा नं. १ का अध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिनुभयो ।


कार्यक्रमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले महायज्ञ रुरु क्षेत्रको प्रचारप्रसार गर्न र धार्मिक पर्यटक बृद्धि गर्नमा सहयोग पुग्ने विस्वास गर्नुभयो । उहाँले पछिल्लो समय आफ्नो नजिकको तीर्थस्थललाई छाडेर भारत लगायतका क्षेत्रमा धार्मिक कार्यका लागि जाने मानिसहरुलाई आफ्नै धार्मिकस्थलमा आउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम रुरु गाउँपालिका वडा नं. १ का अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षता र संचारकर्मी चुरामणी तिमिल्सिनाको संचालनमा सम्पन्न भएको हो । आयोजकले २१ दिनको महायज्ञको अबधिभर पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update