Erani Mahal
पाल्पाकाे राजापानीबाट सालको काठ चोरी निकासी
69359149_744481475984437_8244606134636249088_n

पाल्पा - रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ राजापानीमा सालका काठ तस्करी भएको पाइएको छ । राजापानीको क्वरेछेडा नजिकै सरकारी वनक्षेत्रबाट पटक—पटक सालका काठ चोरी तस्करी हुन गरेको पाइएको हो । घर बनाउने नाममा सालका काठ काट्ने र उचित मौका छोपेर सालका चिरान काठ तराईतर्फ बेच्ने गरेको तथ्य फेला परेको छ ।


राजापानी सामुदायिक वन क्षेत्र नजिक राष्ट्रिय जंगल क्षेत्रमा १ सय १७ वटा सालका चिरान काठ फेला परेका छन् । स्थानीय कर्णबहादुर रास्कोटीले घर बनाउन भनि गत बैशाखमा काटेका उक्त काठ लुकीचोरी बेचबिखन गर्न थालेपछि स्थानीयले रैनादेवि छहरा सब डिभिजन वन कार्यालयलाई सूचना दिनुभएकाे हाे । सूचना पाएपछि वन कार्यालयले कारवाही प्रक्रिया अघि बढाएको छ ।


वन कार्यालयका प्रमुख प्रेम चौधरीले भन्नुभयाे, ‘घर बनाउने नाममा काठ काटिएको भएपनि प्रयोग भएको देखिदैन, हामीले लगत संकलन गरेर छानबिन प्रक्रिया थालेका छौं ।’ छानबिन पश्चात आवश्यक कारवाही गरिने चौधरीले बताउनुभयाे ।


नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले भन्नुभयाे, ‘कर्णबहादुरले घर बनाउन भनेर काटेको काठ दिनहुँ हराउन थाले, घर बनाएनन्, हिजोमात्रै काठ बाहिर गएको चाल पायौं, त्यसैले वन कार्यालयलाई मौखिक उजुरी गरेका हौं ।’ घर बनाउनको लागि भनेर काठ काटेको भएपनि घर नबनाएर काठ चोरी निकासी गर्न थालेपछि उजुरी गरिएको उहाँको भनाई थियो ।


स्थानीयले भूकम्पपीडित राष्कोेटीले नयाँ घर बनाउन काठ काटेको तर पहिलो किस्ता रकम समेत बुझेर पनि घर भने नबनाएको जानकारी दिनुभयाे । राष्कोटीले पुरानै घरलाई मर्मत गरी बस्नुभएको छ । गत बैशाखमा काटिएको सालको काठ जंगलबाट अन्यत्रै बेच्ने गरेको तर घर भने निर्माण नगरेको भन्दै स्थानीयले वन कार्यालयलाई उजुरी गरिदिएपछि वन कार्यालयले घटनास्थलमै पुगेर लगत संकलन गरेको हो ।

वन कार्यालयले भने ६० थान मात्र चिरान काठ भेटिएको दाबी गरेको छ । वन कार्यालय प्रमुख चौधरीका अनुसार ८० क्युफिट काठको लगत लिइएको र त्यस क्षेत्रमा फेरि पनि काठ खोजी गरिने उल्लेख गर्नुभयो । सालको चिरान काठ ८० क्युफिटकै पनि बजार मूल्य करिब चार लाख रुपैयाँ पर्छ । यी काठहरु विभिन्न ठाउँमा थुप्रो बनाएर स्याउलाले छोपेर राखिएको छ ।


सालका काठ काट्ने कर्णबहादुर भने सम्पर्कमा आउनुभएन । कर्णबहादुरका भाई गोबिन्द राष्कोटीले भन्नुभयाे, ‘बाबाले घर बनाउन काठ काट्नुभएको हो, घर बनाउने प्रक्रियामा ढिलो भएकाले काठ जंगलमै राखेका हाैँ।’


स्मरणीय छ गत वर्षपनि राष्कोटी परिवारले रातको समयमा एक ट्याक्टर सालको काठ तराईतर्फ झार्दैै गर्दा स्थानीयले पक्राउ गरी ४५ हजार रुपैयाँ जरिवाना गराएका थिए । राजापानी सामुदायिक वन क्षेत्रबाट काठ चोर्दै गर्दा सोही गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनको ट्क्टर अवैध काठसहित पक्राउ परेको थियो । सामुदायिक वनका पदाधिकारीले ट्याक्टर नियन्त्रणमा लिएर कारवाही गरेका स्थानीयबासीले बताउनुभयाे ।


राजापानीसहित यस क्षेत्रका बाघपानी, जोगदमार, ढाब, चिदीपानी, लौधपानी लगायतका चुरे क्षेत्रमा रहेका सामुदायिक बनबाट खासगरी बर्षायाम र चाडपर्वको बेला सालका काठ चोरी निकासी हुन गरेका छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update