Erani Mahal
पाल्पामा स्वास्थ्य विमाका बिरामीलाई सास्ती नै सास्ती
bima-1-copy

रिफरले निम्त्याएकाे समस्या समाधान गर्न कसैकाे ध्यान पुगेन

तानसेन –पाल्पामा स्वास्थ्य विमा गरेका बिरामीहरूले उपचारमा सास्ती बेहोर्नु परेको छ । विमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका हुन् ।


सरकारी अस्पतालमा उपचार नभएपछि रिफरका लागि मात्र तीन दिनसम्म बिरामीले दुःख पाएका छन् । पाल्पामा एक लाख १० हजार भन्दा बढी स्वास्थ्यको बिमित परिवार छन् । अहिले पाल्पा अस्पतालमा दिनहुँ चार सय बढी विमाका लागि रिफर लिने बिरामी आउँछन् तर उनीहरूले रिफर लिदा नै झण्झट बेहोर्नु परेको बताउँछन् ।

स्वास्थ्य विमा गरेका बिरामी तानसेनस्थित पाल्पा अस्पतालमा रिफर कार्डका लागि घण्टौँ लाइनमा बस्दै ।


सरकारी अस्पतालको उपचार गर्ने क्षमता नहुँदा विमा गरेका अधिकांश बिरामीको उपचार अन्तै गर्न रिफर कार्ड बनाउनुपर्छ । रिफर कार्ड बनाउन समेत पाल्पा अस्पतालमा सहज नहुँदा सास्ती बेहोर्न बाध्य भएको तानसेन–१०, तेल्घाका उमेश न्यौपानेले बताउनुभयो ।


पहिलो पटक सरकारी अस्पतालमा रिफर लिन आउनुपर्छ, बिहानै आए बेलुकीसम्म रिफर कार्ड पाइने तर दिउँशो आए सो दिन कार्डका लागि लाइनमै बस्दा ठिक्क हुने न्यौपानेले भन्नुभयो । रिफर कार्ड बनाएर उपचार पाउदा तीन दिन लाग्ने बिरामीको भनाई छ ।


पहिले विमाबाट राम्रो सेवा पाएका थियौँ त्यसैले स्वास्थ्य विमा ग¥यो तर अहिले सेवा भन्दा बढी दुःख पाएका छौँ तानसेनका स्थानीय बासिन्दा अग्रज भण्डारीले भन्नुभयो । बिरामी मान्छेले रिफर लिन र उपचार स्थलसम्म पुग्दा बिरामी बाटैमा मर्ने अवस्था भयो । बिरामीले सिधै चाहेको अस्पतालमा उपचार गर्न पाउनुपर्छ भनेको धेरै भयो अहिलेसम्म गुनासो सुनुवाई भएको छैन उहाँले भन्नुभयो ।


पाल्पा अस्पतालमा अहिले दैनिक चार सय बढी रिफर कार्डका लागि पाल्पा अस्पतालमा बिरामी आउँछन् । अस्पतालमा रिफर गर्ने छुट्टै डेस्क समेत नहुँदा रिफरमा समस्या भएको अस्पतालका निमिक्त डा. पुष्प ज्ञवालीले बताउनुभयो । हामीले सकेसम्म छिटो रिफर कार्ड बनाउने र अस्पतालमै सहज हुने सेवा दिएका छौँ तर बिरामीको चाप र आवश्यक उपचार, औषधि नहुँदा समस्या भएको छ ।


विमा कार्यालयकाे फोन नै उठ्दैन
अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति विना नै स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको सरोकारवालाहरूको भनाई छ । स्वास्थ्य विमा कार्यक्रम सरकारी अस्पतालबाट सञ्चालन गर्ने भनियो तर विमा सम्बन्धी काम गर्ने र आवश्यक औषधि, जनशक्ति र व्यवस्थापन नहुँदा समस्या थपिएको हो ।

तानसेनस्थित विमा कार्यालयको भने कुनै पनि बेला फोन सम्पर्क हुन सक्दैन । गाउँमा भएका विमाका एजेण्टले समयमा रकम नबुझाउँदा बिरामीको बिमा समेत इन्ट्री हुन सकेको छैन । यसले विमा कार्यक्रम जनताको सेवाका लागि भन्दा पनि दुःख दिनका लागि हो भन्ने बिरामीको ठम्याई छ ।

पछिल्लो समय स्थानीय तहहरुले समेत विपन्न, दलित, स्वास्थ्य स्वयम्सेविकालाई समेत लक्षित गरेर स्वास्थ्य विमा गरिरहेका छन् । यसबाट समग्र सर्वसाधारण उत्साहित भएपनि रिफर बनाउँदा झेल्नुपरेको समस्याले विमा गरेका सेवाग्राही निरास बनेका छन् ।

यो अस्पताल हेर्ने जिम्मा अहिले ५ नं. प्रदेश सरकारको हो तर प्रदेश सरकारको यो अस्पतालमा आँखा समेत परेका छैन । अचुवाको भरमा स्वास्थ्य संस्थामा अनुदान दिएको प्रदेश सरकारले स्वास्थ्य संस्था व्यवस्थापनमा भने ध्यान दिन नसकेको सरोकारवाला निकायको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update