Erani Mahal
किन राजधानी अन्तै सारे यी देशले ?
why_did_these_countries_change_capital_1526810434

बीबीसी । केही समय अगाडि मात्र इन्डोनेशियाले ट्राफिकको चपेटमा दबिँदै गएको जर्काता सहरबाट राजधानी अन्तै सार्ने घोषणा गरेको थियो । यसका लागि आधिकारिक रुपमा छनौट गरिएको सहर भने सार्वजनिक गरिएको छैन र अहिलेसम्म कुनै समय सीमा तोकिएको छैन । तर पनि राष्ट्रपति जोको वीडोडोले औपचारिक रुपमै १६ अगस्टमा सो प्रस्ताव संसदमा अघि राखेका हुन् । यसरी राजधानी नै सार्नुपर्ने अवस्था आउनुका पछाडि प्रायः गम्भीर कारण हुने गरेका छन्  ।

 

जस्तै जकार्ताको सन्दर्भमा त्यहाँको जमिन वार्षिक १ देखि १५ सेन्टिमिटरले दबिँदै गएको र हाल सो सहर समुद्री सतहभन्दा तल रहेको छ । जकार्ता अवस्थित भूमिमुनि १३ वटा नदीहरु बगिरहेको छ । 

त्यस्तै त्यहाँको ट्राफिक जाम पनि अत्यन्तै चिन्ताजनक स्थितिमा पुगिसकेको बताइएको छ ।  सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणअनुसार सो सहर विश्वकै सबैभन्दा खराब ट्राफिक व्यवस्थापन भएको शहर हो ।  यस्तोमा धेरैपटक सरकारी मन्त्रीहरुले बैठकमा समयमै पुग्न पुलिसको मद्दत लिने गरेका छन् । त्यहाँको शहरी जनसङ्ख्या ३ करोड रहेको छ । यसरी नयाँ राजधानी स्थापित गराउनु कुनैपनि देशका लागि अत्यन्तै महङ्गो पर्न जान्छ । तरपनि इन्डोनेशिया त्यसो गर्ने पहिलो देश भने होइन । 

सन् १९९७ मा काजकस्तानका राष्ट्रपति नुरसुल्तान नाजरबेभले राजधानीलाई मुख्य शहर अल्माटीबाट अन्तै सार्ने निर्णय गरेका थिए ।  उनले चयन गरेको १२,०० किलोमिटर उत्तरमा रहेको सहर धुलोबाहेक केही थिएन । उनले सबैभन्दा पहिले त्यसको नाम ‘अकमोला’ बाट बदलेर ‘अस्तना’ राखेका हुन् । अक्मोलाको अर्थ चिहान थियो । 
यसपछि उनले विश्वभरबाट उत्कृष्ट आर्किटेकहरुलाई बोलाइ सो ठाउँलाई राजधानीका रुपमा निर्माण गर्न लगाए । जसक्रममा राष्ट्रपति भवनदेखि सबै नयाँ भवनहरु निर्माण गरियो । त्यसबेला काजकस्तानको इन्धन उद्योग द्रुत गतिमा अघि बढिरहेको थियो सन् २०१८ मा यस देशको आर्थिक वृद्धि दर ४.८ प्रतिशत पुगेको हो । यसकारण नै राजधानीको पूर्ण विकास सम्भव भएको बताइएको छ । 

त्यसैगरी लन्डनको क्षेत्र भन्दा चार गुणा ठूलो भएपनि आधा भन्दा कम मानिस बस्ने शहर ‘ने पी त’ को इतिहास पनि छोटो रहेको छ । सो सहर सन् २००५ मा मात्र तत्कालीन शाषक सेनाहरुद्वारा निर्माण गरिएको हो ।  यसको नामको अर्थ ‘राजाहरुको आसन’ हो । यसरी देशको सबैभन्दा ठूलो शहर यान्गनबाट राजधानीलाई ३७० किलोमिटर भित्र सार्नुका पछाडिको कारण भने अझै स्प्ष्ट भएको छैन । 

त्यस समयमा त्यहाँका सूचना मन्त्रीले बीबीसीसँग कुरा गर्दा रणनीतिक स्थान चुन्ने प्रयास अन्र्तगत राजधानी सारिएको भनेका थिए । तर विश्लेषकहरुले चाहिँ यसप्रति शंका व्यक्त गरेका छन् ।  यस्तोमा विदेशी शक्तिको अतिक्रमण खतरा वा सीमा क्षेत्रमा रहेका अल्पसङ्ख्यक जातिहरुमाथि नियन्त्रण गर्न सेनाले राजधानी सार्ने निर्णय गरेको हुन सक्ने बताइएको छ । 

अहिले त्यहाँ संसदबाट राष्ट्रपति भवनसम्म पुग्ने बाटो २० लेन फराकिलो बनाइएको छ भने अत्यन्तै थोरै ट्राफिक हुन्छ । यसका साथै विभिन्न सपिङ मल, खालि भएपनि प्रशस्त लक्जरी होटलहरु र सफारी पार्कदेखि चिडियाखाना र तीनवटा स्टेडियम पनि रहेका छन् । त्यस्तै अन्य क्षेत्र जसरी त्यहाँ बिजुलीको समस्या छैन । 
यता बोलिभियाका पनि दुईवटा राजधानी सहरहरु छन्ः सुक्रे र ल पाज । सन् १८९९ सम्म सुक्रे मात्र बोलिभियाको एकमात्र राजधानी थियो । 

तर ल पजसँग एउटा छोटो गृहयुद्धमा पराजित हुनुपरेपछि संसद र सार्वजानिक सेवा सबै त्यहाँ सारिएको हो ।  त्यसैले अहिले न्यायलय मात्र सुक्रेमा अवस्थित छ । सुक्रे देशको केन्द्रमा पर्छ र १८९५ मा बोलिभियाको स्थापना पनि त्यहीँ भएको थियो । यसको जनसङ्ख्या ला पाजको १७ लाखको तुलनामा केबल दुई लाख ५० हाजर मात्र रहेको छ । 

यसपछि २००७ मा एउटा आधिकारिक प्रस्ताव अघि सारिएको हो जसमा संसद र सरकारी निकायहरुलाई सुक्रेमै सार्न भनियो । तर त्यसले उल्टै ला पाजमा देशकै सबैभन्दा ठूलो द्वन्द्व सिर्जना गरायो र सो योजना रद्द भयो ।  सन् १९९१ सम्म नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोस त्यहाँको राजधानी थियो । तर यसबीच राजधानीलाई त्यहाँबाट अबुजामा सार्नुपर्ने अनेकौँ कारणहारु उत्पन्न भए । 

जस्तै पहिलो कुरा त लागोस देशको केन्द्रमा नभएर सबैभन्दा किनारामा अवस्थित थियो जसकारण मैडुगु्रीबाट १६०० किलोमिटर टाढा, लागोस पुग्न दुई दिन लाग्थ्यो ।  अर्कोतर्फ तुलनात्मक रुपमा अबुजा धेरै नजिक छ । त्यस्तैे लागोस अत्यन्तै संकुचित शहर थियो । यता अबुजा चाहिँ राजनीतिक र जातिय रुपमा पनि तथष्ट भूमी मानिन्छ । यसरी लागोस प्राकृतिक रुपमा सहरमा परिणत भएको भएपनि अबुजा भने नाइजेरियामा पहिलोपटक योजनागत् रुपमा निर्माण गरिएको शहर हो । अहिले राष्ट्रिय सांस्कृतिक संस्था लगायत सर्वोच्च अदालत अनि राष्ट्रिय सभा र राष्ट्रपति भवन अबुजामा छन् तरपनि अझै थुप्रै संघीय एजेन्सीहरु अनौपचारिक रुपमा लागोसमै अवस्थित छन् । 
१३ वर्षसम्म पोर्चुगलको राजधानी लिज्बन नभएर रियो डी जेनेरियो थियो भन्ने धेरैलाई थाहा छैन । 

सन् १८०७ –१४ का बीच भएको प्रायद्विप युद्धमा फ्रान्सले पोर्चुगललाई तीनपटकसम्म कब्जा गरेको थियो । १८०७ मा त्यसरी नियन्त्रणमा लिनुको केही दिन अगाडि मात्र ब्रागान्जा शाही परिवार ब्राजिल भागेका थिए, जुन त्यस समयमा पोर्जुचलको कोलोनी थियो । 

र, १८०८ मार्चमा उनीहरु रियो डि जेनेरियो पुगे । १९ औँ शताब्दीको सुरुवातमा रियो ठूलो शहरमा विकसित भयो जहाँ सुन, हिरा र चिनी प्रशस्त पाइन्थ्यो । तरपनि सो शहरमा एक तिहाइ जनसङ्ख्या दासहरुको थियो । तर ‘प्रिन्स रिजेन्ट डोम जोआओ भीआइ’ ले पोर्चुगल ब्राजिल र अल्ग्रेभ्सको संयुक्त राज्य बनाउने घोषणा गरेपछि भने ब्राजिलले एउटा उपनिवेशित क्षेत्रबाट पोर्चुगल समानको दर्जा पायो र अधिक प्रशानिक स्वतन्त्रा पनि प्राप्त गर्यो । 

१८२१ मा मात्र पोर्चुगेली राज परिवार लिस्बनमा फर्कियो र १९१० मा राजतन्त्र अन्त्य हुन्जेल त्यहीँ रह्यो । यसरी छोटो समय शाही परिवार रियोमा रहनुले पछिसम्म ब्राजिलमा ठूलो प्रभाव पार्यो र आर्थिक विकाससँगै स्वतन्त्रताको बाटोतर्फ लगेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update