Erani Mahal
यो वर्ष  'विकासको अभियान वर्ष' हो :  नेता राना
dal-b-rana

मिलन विश्वकर्मा, पाल्पा – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं ५ नं. प्रदेशका सहइन्चार्ज दल बहादुर रानाले आर्थिक विकासको अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बुधबार नेकपा पाल्पाको क्षेत्रीय समन्वय कमिटी निर्वाचन क्षेत्र नम्बर १ को बैठकमा उहाँले गएको वर्ष आर्थिक विकासको आधार वर्ष भएको र यो वर्ष अभियान वर्ष भएको बताउनुभयो ।


सक्नेले पैसा लैजाने प्रवृत्ति हावी छ उहाँले भन्नुभयो यसरी लैजाने रकमको दुरुपयोगले जनता निरास छन् । अब जनताको आवश्यकता र मागलाई ख्याल गरेर गाउँगाउँमा विकासका काम गर्न स्थानीय तहका नेता र जनप्रतिनिधिलाई उहाँको सुझाव छ । पूर्वमन्त्री समेत रहनुभएका नेता रानाले संघीयता अझैपनि पूर्ण रुपमा व्यवस्थीत नभएको बताउनुभयो ।


मुलुक संघीयतामा गएपछि निर्माण भएको तीन तहको सरकार संचालन प्रक्रिया अभ्यासकै क्रममा छ उहाँले भन्नुभयो यो अवस्थामा सरकारबाट अपेक्षित काम हुन नसक्नुलाई अन्यथा लिनु हुदैन् । यसको पूर्णतासँगै जनता अधिकारसम्पन्न भएको महशुस गर्नेछन् उहाँको भनाई छ । यद्यपि विकाससँगै जनतालाई राजनितिक ज्ञान दिनुपर्ने नेता रानाले जोड दिनुभयो । विचारले पोख्त नहुँदासम्म विकासले फड्को नमार्ने उहाँको ठम्याइ छ ।


यस्तै अर्का केन्द्रीय सदस्य तथा नेकपा पाल्पा इन्चार्ज सोम प्रसाद पाण्डेले नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न नसकेको बताउनुभयो । विगतका सरकारले भन्दा अहिलेको सरकारले धेरै राम्रा काम गरेको छ तर प्रचार हुन सकेको छैन् संघीय सांसद समेत रहनुभएका पाण्डेले भन्नुभयो जनताको मर्म बुझेर एक मन एक ढिक्का भएर स्थानीय तहका नेता तथा कार्यकर्ताले काम गर्नुका साथै प्रचार पनि गर्नुपर्छ ।


अर्का केन्द्रीय सदस्य तथा पाल्पा जिल्लाका सह–इन्चार्ज तुलाराम घर्तिमगर बसन्तले संगठन कमजोर भए सत्ता पनि कमजोर हुने बताउनुभयो । प्रदेश सांसद समेत रहनुभएका घर्तिमगरले पार्टीको नीति र सिद्धान्त सहित विकास निर्माणका काम लिएर जनताको माझमा जान आवश्यक रहेको बताउनुभयो । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण प्रसाद आचार्यले इमान्दार र जिम्मेवार भएर जनताको काममा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update