X
135
Shares

लोक सेवा परीक्षा तयारीका सात सरल उपाय

रानीमहल संवाददाता || ४ भाद्र २०७६,बुधबार १८:४५

दामोदर रेग्मी

. पुस्तकको छनौट 
बजारमा लोकसेवा परीक्षालाई लक्षित गरेर लेखिएका थुप्रै पुस्तकहरु पाइन्छन् उचित सन्दर्भ सामग्री प्रयोग भएका सामयिक विषयको छनौट र परीक्षाको प्रस्तुतिमा ध्यान दिएर लेखिएका लेखकहरुको पुस्तक छनौट गर्दा राम्रो हुन्छ। परीक्षाको समयलाई मात्र लक्ष्य बनाएर तथा नाफाको उदेश्यवाट मात्र प्रेरित पुस्तकमा कम ध्यान दिदा राम्रो हुन्छ । पुस्तक यस्तो किनौं जो परीक्षाका अतिरिक्त अन्य समय र सन्दर्भमा समेत उपयोगी बनोस ।जसले परीक्षामा उत्तीर्ण गराउनुको साथै पछि पनि काम लागोस् । पुस्तकको छनौट गर्नुपूर्व कुन पदको परीक्षा दिदैछौ सो को पाठ्यक्रम के छ, सो जानकारी हुनु पर्दछ । यसपछि सो पाठ्यक्रममा समावेश भएका सवै विषय रहेका जुनसुकै पुस्तकहरुलाई आफ्नो मूल पाठ्यसामग्री वनाउन सकिन्छ ।

शुरुमा पढिने यी पुस्तकहरु छोटो छरितो र सरल भाषामा भएको भएमा विषय र अवधारणा बुझ्न सजिलो हुन्छ। शुरुको यो पढाइले हामीलाई पाठ्यक्रमको समग्र विषयसंग परिचित गराइदिन्छ । यो पढाइले हामीमा एक तहको क्षमता विकास गरिदिन्छ । तर यो चरणको पढाइले मात्र निखारता आइसकेको हुदैन र प्रतिस्पर्धाको लागि पूर्ण बनाएको पनि हुदैन । यसर्थ अब आधिकारिक किताव जसमा पाठ्यक्रमका विषयहरुलाइ सैध्दान्तिक पक्ष अन्तरार्ष्ट्रिय र राष्ट्रिय परिवेशमा प्रयोगको अवस्था प्रवृत्ति अवसर र चुनौतीहरु लगायतका पक्षमा वर्णनात्मक प्रस्तुति रहेका पुस्तक पढ्नु पर्दछ । दोश्रो चरणको यो पढाइले हामीमा आत्म विश्वास बढाइदिन्छ। यसपछि सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ । यसको लागि सम्बन्धित संस्थाका वेवसाइट जर्नल प्रतिवेदन विभिन्न सर्च इन्जिनवाट नयां सामग्री खोज्ने गर्नु पर्दछ । तेश्रो तहको पढाइले हामीलाई अरु प्रतिस्पर्धी भन्दा भिन्न आकर्षक र सवल वनाइदिन्छ । पढाइमा यी तीन तहको श्रृंखलाबध्द संयोजनको आवश्यकता रहन्छ ।

२. ट्युसन आवश्यक हुन्छ ?
ट्युसनको काम हाम्रो ज्ञान वा क्षमताको तहमा अभिवृध्दि गराउने हो । जसरी हामी स्कुल वा कलेजमा आफ्नो पढाइले नपुगेको अवस्थामा ट्युसनमा जाने गर्दछौ यहाँ पनि यस्तै हुने गर्दछ । ट्युसनमा जानु अघि कम्तीमा पाठ्यक्रमको विषयसंग केही हदसम्म परिचित भएर एक चरणको पढाइ सकाएर जाँदा राम्रो हुन्छ । यसको अतिरिक्त ट्युसनले हामीलाई अन्य प्रतिस्पर्धीहरुको समूहमा रहेर आफ्नो र अन्य प्रतिस्पर्धी का क्षमता वीच तुलना गर्न सक्ने बनाइदिन्छ। यसले परीक्षामा सामेल हुनुपूर्व आफ्नो रणनीति निर्माणमा सहयोग गर्दछ ।

३. लिखित परीक्षाको तयारी र लेखन शैली
लिखित परीक्षाको तयारी पढाइको तयारी संगै शुरु हुनुपर्दछ । पढ्दा पाठ्यक्रमका सवै विषयको न्यूनतम जानकारी राख्ने र एक शीर्षकको अन्य शीर्षक संग अन्तर सम्बन्ध खोज्ने गर्नु पर्दछ । पढाइ लेखाइ दुवैले आवश्यक सूचनाको अतिरिक्त नवीनता, सिर्जनशीलता र पूर्णताको माग गर्दछ । पढाइ इनपुट हो भने शीर्षकहरु र मुद्दाहरुवीच अन्तरसम्बन्ध कायम गर्ने विषय प्रोसेस हो लेखाइ आउटपुट हो । इनपुट र प्रोसेस वीच सामन्जस्यता हुन सके मात्र राम्रो आउटपुट निस्कन्छ । यी तीन प्रक्रियाको सवल समायोजन ले राम्रो आउटकम अर्थात राम्रो अंक प्राप्तिमा सहयोग पुर्याउंदछ । लोक सेवा वा अन्य यस्ता प्रकृतिका प्रतिस्पर्धात्मक परीक्षाको लेखाई राम्रो भएर मात्र पुग्दैन अरु प्रतिस्पर्धीको भन्दा विचारोत्तेजक,सिर्जनशील र वस्तुपरक हुनु अति आवश्यक हुन्छ । जसले परीक्षामा सफलता हासिल गर्नमा सहयोग पुर्याउंदछ ।

४. उत्तरको शुरुवात कसरी ?
उत्तरमा कुनै प्रश्नका सवै विषाय सम्बोधन हुनु आवश्यक छ । जस्तो के , किन कसरी , कहिले, कसले, कसरी । उत्तरको शुरुवात प्रश्नको मूल आशयको सम्बोधन वाट हुनु आवश्यक छ । यसपछि सो विषयको अवधारणात्मक पक्ष के हो यसको प्रयोग अन्तर्राष्ट्यि रुपमा कसरी भैरहेको छ । के कस्ता नवीनतम अवधारणाहरु प्रयोग भएका छन् , नेपालमा कानूनी नीतिगत र संस्थागत व्यवस्था के कस्तो छ । सकारात्मक पक्षहरु के के छन् र कमजोरीका क्षेत्रहरु कहां कहां छन र ती कमजोरी हटाउन के कस्ता सुधारहरुको आवश्यकता छ भन्ने विषयलाई समय सीमा भित्र रहदै समेटिनु आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको एउटा प्रश्नमा धेरै विषय संग जोडेर प्रश्नहरु सोधिएका हुन्छन् यसरी सोधिएका सवै विषयलाई उत्तरले सम्बोधन गर्नु पर्दछ र सकारात्मक र नकारात्मक सम्बन्ध वा प्रभावका क्षेत्रहरु पहिचान गरिदै जानु पर्दछ ।

५. उत्तर बुँदागत कि अनुच्छेद ?
शुरुवात सधै अनुच्छेदवाट गर्ने, राम्रा पक्ष, नराम्रा पक्ष, नीतिगत र संरचनागत पक्षहरुलाई उप शीर्षक बनाइ बूंदागत रुपमा पनि लेख्न सकिन्छ । समस्याको पहिचान वा समाधानका उपायहरु पनि बूंदामा लेख्दा राम्रो देखिन्छ । तर यसरी बूंदामा लेखिएका विषयहरुलाइ थप विश्लेषण गर्नु पर्ने हुन्छ, विश्लेषण अनुच्छेदमा कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरिनु राम्रो हुन्छ । निष्कर्ष वा प्रश्नले माग गरेको उत्तरको निचोड पनि अनुच्छेदमा आउनु राम्रो हुन्छ ।यसरी उत्तरमा बूंदा र अनुच्छेद दुवै प्रयोगमा आउन सक्दछन् । सूचनाको सामान्य प्रस्तुती वूंदा मार्फत र त्यसको विश्लेषण अनुच्छेदमा आउनु पर्दछ । बूंदाको प्रस्तुतिले परीक्षार्थीहरुको ज्ञानको स्तर मापन गर्न सकिन्छ भने अनुच्छेदले सिर्जनशीलता । बूंदा लेखनले समयको वचत हुन्छ तर त्यसको प्रभावकारी प्रस्तुतिको लागि विश्लेषण आवश्यक हुन्छ ।यी दुवै पक्षको समायोजनले हाम्रो प्रस्तुति आकर्षक हुने र समय व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।

६. उत्तरको खण्ड विभाजन 
यसमा कम्तीमा तीन खण्ड हुनु पर्दछ । पहिलो सोधिएको पक्षको अवधारणात्मक पक्ष, दोश्रो प्रश्न केन्द्रित रहेको पक्षको स्थिति विश्लेषण तथा समाधानका संभाव्य क्षेत्रहरु र तेश्रो आशावादिता वा सकारात्मक समाधान सहितको निचोड । पहिलो र तेश्रो खण्ड का प्रस्तुति छोटो,आकर्षक र पत्यारिलो हुनु आवश्यक हुन्छ भने दोश्रो भागले पहिलो र तेश्रो भागको वीचमा सामन्जस्यता र अन्तरसम्बन्ध स्थापित गरेको हुनु पर्दछ र सूचनाको व्यवस्थापन आकर्षक ढंगले गरिनु पर्दछ ।

७. परीक्षामा समय व्यवस्थापन कसरी ?
अधिकांश परीक्षार्थीहरुमा समय ब्यवस्थापनको समस्या देखिने गर्दछ । यो कौशलताको बुध्दिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने , वढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, वढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा वढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना वनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ । प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरका आकार व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुती आकर्षक वनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys