Erani Mahal
पाल्पाको रम्भा सबै वडामा निःशुल्क ल्याब सेवा प्रदान गर्दै पहिलाे बन्याे
Ramba

गाउँपालिका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ ।

बिरामीलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।

 गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । ल्याबहरूमा १५ प्रकारका परिक्षणहरू हुने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे ।

उनका अनुसार पहिलो वर्ष रम्भा गाउँपालिका–१ को हुँगी, ५ को ताहुँ र ३ को पिपलडाँडाबाट ल्याब सेवा सुरू गरिएको थियो ।

यसपालीबाट वडा नं २ को फोक्सिङकोट र ४ को यसै आर्थिक वर्षको साउन २९ गते हुमिनमा ल्याब सेवा शुरु गरेपछि गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयाे ।

'गाउँपालिकाले ल्याब सेवा पुनःसञ्चालन गर्नका लागि कर्मचारी तथा आवश्यक पर्ने सामग्रीको पूरै प्रबन्ध गरेको छ, अब प्रसूति, गर्भपतन र ल्याब परीक्षण सेवाका लागि अन्यत्र बिरामी भौतारिनुपर्ने अवस्था छैन', उनले भने ।

गाउँपालिकामा ल्याब सेवा नहुँदा बिरामीलाई सदरमुकाम तानसेन र स्याङ्जाको गल्याङलगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको अध्यक्ष भण्डारीले बताउनुभयाे । यसै आवदेखि गाउँपालिकाले ल्याब परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

यी सबैमा करिब १५ लाख रूपैयाँ खर्च भएको उनको भनाइ छ। परिक्षणका लागि आवश्यक उपकरणहरू राष्ट्रिय प्रयोगशालाबाट किनिएको हो।

गाउँपालिकाको वडा नं १ मा हुँगी स्वास्थ्यचौकी, वडा नं २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।

ल्याब संचालनका लागि प्रत्येक वडामा खरदार स्तरका प्राविधिकहरूलाई नियूक्त गरिएको छ।'ल्याब संचालनका लागि ढाई लाखको बजेट बिनियोजन गरिएको छ। त्यो रकमले निशुल्क सेवा संचालन गर्न सकिने भएको देखेर गत वर्ष प्रतिपरिक्षण ३५ देखि ५० रूपैयाँ लिदैं आएको भएपनि यस वर्षबाट कुने पनि प्रकारको शुल्क नलिने निर्णय गरेका छौं', अध्यक्ष भण्डारीले भन्रुभयाे । उहाँले थप बजेट आवश्यक परे त्यसको लागि कुने समस्या नहुने जानकारी दिनुभयाे ।

त्यसैगरी अध्यक्ष भण्डारीले गाउँपालिकाको उच्च क्षेत्रमा पर्ने ताँहुमा १५ शैयाको अस्पताल संघिय सरकारबाट घोषणा भइसकेको बताउँदै थप एक अस्पतालका लागि पहल गरिरहेको जानकारी पनि दिनुभयाे ।

ल्याब सेवाको शुरवात भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताउनुभयाे ।

'ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्, यो कार्यक्रमले गरीब, विपन्न व्यक्तिलाई ठूलो राहत पुगेको छ', उहाँले भन्रुभयाे ।

यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा १०० देखि ५०० रूपैयाँ सम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य थिए । अब भने गाउँमै निःशुल्क ल्याब परीक्षण गराएर उपचार सेवा पाएपछि उत्साहित भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update