Erani Mahal
पाल्पाको गर्वः चर्चित पाल्पाली साहित्यकार र लेखकहरू
11111

विष्णुहरि कार्की, पाल्पा जिल्ला प्राकृतिक छटा र सुन्दरताले जति भरिपूर्ण छ त्यति नै मात्रामा सिर्जनशीलताका दृष्टिले उन्नत पनि छ । शिक्षाको धनी पाल्पाले धेरै साहित्यकार र लेखकहरु जन्माएको छ । पाल्पाका यी सर्जकहरु राष्ट्यि रुपमा नै प्रख्यात छन् । पाल्पाली चेली जिल्ला नीलम कार्की निहारिका को ‘योगमाया उपन्यास’का कारणले पनि पाल्पा चर्चित छ ।

मदन पुरस्कार गुठीले २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो । योगमाया साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो । १९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन्। उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन्। तिनै योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो ’योगमाया’। नीलम कार्की निहारिका का दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।

पाल्पा प्रसिध्द साहित्यकार माधव प्रसाद देवकोटाको जन्मथलो हो विभिन्न पुरस्कारहरुवाट पुरस्कृत माधव प्रसाद देवकोटा पाल्पाका इज्जत हुन् । उनका छोरा कुलमणि देवकोटा साहित्यका अर्का हस्ती हुन् । उनका राष्ट्यि लोकगीत, छरिएका फूल, साक्षरताको प्रसार, पुतलीको फूल,गाईजात्रा, सञ्चयनी, बुध्दलोक लगायतका कृतिहरु प्रकाशित छन् । पाल्पा मदनपोखराका भवेश्वर पंगेनी इतिहासका जानिफकार हुन् । उनका डा. के. आइ सिंहको चीन प्रवास, पाल्पामा प्रजातान्त्रिक आन्दोलनको सय दिन, नेपालको प्रशासनिक इतिहास, चन्द्र शमसेरको पालामा भारतमा पठइएका विद्यार्थीहरुको छात्रवृत्ति सम्बन्धी व्यवस्था लगायतका कृतिहरु प्रकाशित छन् । पाल्पामा प्रजातान्त्रिक आन्दोलनको सय दिनले २०४९ सालको मदन पुरस्कार पाउन सफल भएको थियो । पाल्पा ध्रुवघाटका वनमाली निराकार आधुनिक नेपाली कथाका सशक्त हस्ताक्षर हुन् । उनको समयको पर्खाल,लोकतन्त्रको शंखनाद, पत्र संचयन, विवरुका कथाहरु प्रकाशित भएका छन् । अहिले उनी भैरहवावाट साहित्य सेवामा समर्पित छन् ।


कविराज दशरथमान सिंहको पाल्पाको शताव्दी चित्र अर्को महत्वपूर्ण सिर्जना हो । उनका छोरा रामचन्द्रमान सिंहको नेपालको भन्सार पुस्तक प्रकाशित छ । उनका अर्का छोरा शंकरमान सिंह पनि आर्थिक लेखनमा संलग्न छन् । राजनीतिक तथा साहित्यकार पाल्पा मेहलधाराका कमल राज रेग्मीको आमा, म र पाल्पा, मदनमणिको लेखनधर्मिता, चन्द्रहास, शर्मिला, पादुका दान, दोश्रो विवाह नामक कृतिहरु प्रकाशित छन् । उनका छोरा डा. प्रकाशराज रेग्मीको स्वस्थ मुटु सम्बन्धी लेखहरु निरन्तर आइरहन्छ । शैक्षिक अग्रज पाल्पा नारायणस्थानका जगत वहादुर जोशीका जसवन्ते र आज सूर्य विरामी छ कृति प्रकाशित भएको छ । पत्रकार विनय कुमार कसजूका बाल रचना अति चर्चित छन् । प्राध्यापक तथा वीमा समितिका पूर्व अध्यक्ष फत्त बहादुर के सी को कर्मचारी व्यवस्थापनको सिध्दान्त विश्व विद्यालयका विद्यार्थीहरुको हातमा रहने गर्दछ ।

पाल्पाका निजामती सेवाका प्रशासकहरु को कलम पनि सिर्जनातर्फ अभिमुख भएको देखिन्छ । कविराज दशरथमान सिंहका छोरा नेपाल सरकारका पूर्व सचिव रामचन्द्रमान सिंहको नेपालको भन्सार पुस्तक प्रकाशित छ । रामचन्द्रमान सिंहका प्रशासन संग सम्बन्धित थुप्रै लेख रचना प्रकाशित भएका छन् । लेखाका कर्मचारी हुदै महालेखा नियन्त्रक कार्यालयका सचिव वाट अवकाश पाएका पाल्पा चिदीपानीका राजेन्द्र नेपालले दक्षिण कोरिया, सिंगापुर, चीन र डेनमार्कको अनुभवलाई संगालेर आर्थिक समृध्दि नामक पुस्तक प्रकाशित गरेका छन् ।

प्रशासनविद तथा संघीयताका विश्लेषक पाल्पा बर्तुंगका दामोदर रेग्मीको प्रशासन अनलाइनमा विगत दुई वर्ष देखि निरन्तर रुपमा साप्ताहिक रुपमा लेखहरु प्रकाशित हुदै आइरहेको छ भने उनको पुस्तक संघीय शासन प्रणाली, सुशासन र विकासले , नेपालमा संघीयताका अवसर र चुनौती, प्रजातन्त्रको सवलीकरणमा प्रशासनले राम्रो बजार लिइरहेको छ । सामान्य प्रशासन मन्त्रालयका पूर्व सहसचिव तथा पाल्पा कुसुमखोलाका भागवत नेपालका लेखन पनि जन समक्ष निरन्तर आइरहेको छ । वाणिज्य वैंकका कर्मचारी तथा पाल्पा पोखराथोकका विनोद नेपालका रचनाहरु पाठकले निरन्तर पढ्न पाइरहेका छन् ।

इतिहासकार निर्मल श्रेष्ठका पाल्पा संग सम्बन्धित विभिन्न अनुसन्धानात्मक पुस्तकहरु प्रकाशित छन् जसमा सेन वंशीय इतिहास, भगवती मास्टर र मुझुंगेली कार्की पर्दछन् । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पा का अध्यक्ष पूस्कर राज रेग्मी पनि थुप्रै सिर्जनाका सर्जक हुन् । उनका अफसोच, अष्टदूत,अनुसन्धान अवलोकन,अठार, अनुसन्धान सिध्दान्त, आमा, अमृतान्जली, अन्तराल,अन्ततः नामक अ बाट नाम शुरु भएका कृतिहरु प्रकाशित छन् । वेणीमाधव ढकालको निर्णयसिन्धु र श्रीगणेशपुराणम, चुडामणी बन्धुको नेपाली लोक साहित्य, डायमन शमशेरको सेतो बाघ र बसन्ती पाल्पाका अति चर्चित सिर्जनाहरु हुन् ।

गोपीकृष्ण शर्मा,डा. विष्णु खनाल, डा. श्रीकृष्ण श्रेष्ठ, पृथ्वीराज लिगल, मोहनमान सैजु, पूर्व सचिव रामेश्वर खनाल, डा. पोषराज पाण्डे, गभर्नर चिरन्जिवी नेपाल, डा. गोपीनाथ रेग्मी लगायत यहां नाम छुट्न गएका अन्य थुप्रै सर्जक हस्तीहरुले पाल्पाको गरिमा, पाल्पाको पहिचान र पाल्पाको श्रीवृध्दि गरेका छन् ।पाल्पाका यी सर्जकहरुको ख्याति पाल्पा भित्र मात्र नभएर देश भरिनै रहेको छ । यो पाल्पाको लागि गर्वको कुरा हो ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update