Erani Mahal
वर्षातको समय सुन्तलाको लागि जोखिमयुक्त सिजन
IMG_5723-1

मिलन विश्वकर्मा, पाल्पा - पाल्पाबाट गत आर्थिक वर्षमा २५ हजार सुन्तलाजातका विरुवा निर्यात भएको छ। जिल्लाको सदरमुकाम तानसेनमा रहेको सुन्तलाजात फलफुल विकास केन्द्रबाट सुन्तला, जुनार र कागतीका विरुवा निर्यात भएको हो। विरुवा पाल्पासहित स्याङजा, गुल्मी, अर्घाखाँची, म्याग्दी जिल्लाका किसानले खरिद गरेर लगेको केन्द्र पाल्पाका वरिष्ठ वागवानी अधिकृत बमबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार ८ लाख रुपयाँ बराबरको विरुवा बिक्री भएको हो। विरुवाको दर भने फरक फरक रहेको छ । नर्सरीमै उमारिएका विजु विरुवालाई २२ रुपयाँ पर्छ भने विजु पोलिव्यागमा राखेको २५, कलमी विरुवा नर्सरीमै रहेको ३९, कलमी तर पोलिव्यागमा राखिएको विरुवालाई ४५ रुपयाँ पर्छ । चालु आर्थिक वर्षमा ४५ हजार विरुवा उत्पादन गर्ने लक्ष्य रहेको वरिष्ठ वागवानी अधिकृत थापाले बताउनुभयो ।

बर्षातको समय सुन्तलाको लागि जोखिमयुक्त हुन्छ :–
वर्षातको सिजन सुन्तलाजात खेतीको लागि अत्यन्तै जोखिमको समय मनिन्छ । यो समयमा बोटविरुवामा बढी रोग लाग्ने गर्छ । केन्द्रका बरिष्ठ वागवानी अधिकृत थापाले भन्नुभयो तापक्रम बढ्ने र आकासबाट पानी परिरहेने गर्छ जसले गर्दा आद्रता बढ्ने हुँदा सुन्तलाजातका बोट विरुवामा यो समयमा सबैभन्दा बढी रोग र किराले आक्रमण गर्छ । यो समयमा लागेको रोग र किरा समयमै नियन्त्रण गर्न नसके बगैचा नै नष्ट हुन सक्छ ।


यो समयमा किसान बगैचामा डुलिराख्नुपर्छ। रोग र किराको निरन्तर अनुगमन गरिराख्नु पर्छ उहाँले भन्नुभयो देखिनासाथ तुरुन्तै नियन्त्रणका उपाय खोज्नुपर्छ । रोगको पत्ता लगाउन सके आफैले औषधि गर्ने तर नसकेको अवस्थामा तुरुन्तै कृषि प्राविधिकलाई खबर गर्नुपर्ने बरिष्ठ वागवानी अधिकृत थापाले सुझाउनुभयो ।


पछिल्लो समयमा एचएलभी अर्थात सिट्रस ग्रिनिङ रोग नेपालमा भित्रिएको छ। जुन रोगले आक्रमण गरेपछि बगैचा नै सखाप हुन्छ। रोग लागेपछि उपचार गर्न समेत सकिदैन् । उहाँले भने मानिसलाई एचआइभीको संक्रमणले आक्रमण गरेजस्तै हो । त्यसैले बोटविरुवाको हेरचाह निरन्तर गर्नुपर्छ ।


के हो एचएलभी रोग ?
एचएलभी रोगबारे उहाँले प्रष्ट पार्दै भने सिटरस सिल्ला भन्ने एउटा किरा हुन्छ जुन पातको मुनी बस्ने गर्दछ । प्रायः रोगी बोटमा बस्ने गर्छ यो किरा । एउटा बोटमा बसेर रस चुस्छ र उडेर जाँदा निरोगी बोटमा जान्छ । निरोगी बोटमा बसेर रस चुस्दा त्यसको ¥यालमार्फत त्यो बोटमा पनि रोग सर्ने गर्दछ। यो किराले सारेको रोग असाध्यै हानीकारक हुन्छ। जुन रोग लागेपछि निको हुँदैन ।
उहाँका अनुसार वर्षातको समयमा सुन्तलाको बोटमा खरानी रोग, जरा कुहिने रोग र पिङ्क रोग पनि लाग्ने गर्दछ। नयाँ पालुवा आउँदा खरानी रोग लाग्छ।

फागुन–चैत, जेठ–असार र भदौमा गरी तीनपटक बोटमा नयाँ पालुवा आउने समय मानिन्छ । यतिबेला विशेष ध्यान दिनुपर्छ बरिष्ठ वागवानी अधिकृत थापाले भन्नुभयो बोट हेर्दा राम्रो देखिने तर पात पहेंलो हुँदै गएमा त्यसको जरा कुहिन थालेको छ भन्ने बुझ्नुपर्छ । पिङ्क रोगले अहिले हाँगामा गम जस्तो पदार्थ देखिने र मङ्सिर पुस महिनामा हाँगा सुक्ने गर्दछ। समयमै रोग पत्ता लगाउन बगैचा र नर्सरीको समेत हेरचाह गरिरहनुपर्छ उहाँले सुझाव दिनुभयो ।

स्वस्थ विरुवा उत्पादन गर्न माउबोट जालीघरको प्रयोग :–
स्वस्थ विरुवा उत्पादन गर्न माउबोट जालीघर प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । आफुहरुले माउबोट जालीघरमा स्वस्थ र गुणस्तरीय विरुवा उत्पादन गरिरहेको उहाँले बताउनुभयो । निरोगी विरुपा उत्पादन गर्न सकियो भने ठूलो बोट भएपछि अन्य रोगले आक्रमण गर्नमा कमी आउँछ । जालीघरमा कुनै रोग सार्ने किरा प्रवेश गर्न सक्दैन् । तानसनेमा रहेको वागवानीमा ६ वटा जालीघरमा विरुवा उत्पादन भइरहेको छ ।


सुन्तलाजातको कलमी गरेको विरुवाले तीन वर्षमा फल दिन्छ भने विजु विरुवाले कम्तिमा ६ वर्षमा फल दिन्छ। निरोगी बोटले एक क्वीण्टल बराबर फल दिनसक्छ ।

सुन्तलाको खेती हुने ३८ जिल्ला मध्य एउटा मात्र सुन्तलाको फार्म पाल्पामा छ । विशेष गरी यहाँको कार्यालयले स्याङजा, गुल्मी, अर्घाखाँचीका किसानलाई सेवा दिदै आएको छ। यो कार्यालयले खासगरी नयाँ प्रविधिको फिल्डमा प्रमाणिकरण गर्ने र बगैचा लगाउने कृषकलाई हस्तान्तरण गर्ने काम गर्छ बरिष्ठ वागवानी अधिकृत थापाले बताउनुभयो । यस्तै गुणस्तर र स्वस्थ विरुवा उत्पादन गर्ने र कृषकलाई बिक्री वितरण यहाँबाट गरिन्छ । उहाँका अनुसार प्राविधिक सेवा, आवश्यक अनुसार सुझाव सल्लाह र किसानलाई तालिम समेत दिइन्छ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update