Erani Mahal
'जात्रा तथा पर्व संरक्षणमा सरकारले चासाे दिनुपर्छ'
News

पाल्पा - स्थानीय जात्रा पर्वको संरक्षणमा स्थानीय सरकारले चासो दिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्थानीय सरकारको दायित्व संस्कृति र जात्रा पर्वको महत्वलाई उजागर गर्दै सभ्यता र पहिचान रक्षा गर्नु पनि रहेको कार्यक्रमका सहभागीको भनाई थियो ।

बगनासकाली साहित्य परिषद् पाल्पाले शुक्रबार तानसेनमा आयोजना गरेको पाल्पाका जात्रा, चाडपर्व संरक्षणको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले भाषा, कला, साहित्य र संस्कृतिको विकास विना सभ्यता र पहिचान हराउने भएकोले संस्कृति संरक्षणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभएकाे थियाे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले आर्थिक अभावका कारण परम्परादेखि चल्दै आएको जात्राहरू लोप हुँदै गएकोले स्थानीय सवै स्थानीय तहले श्रोतको व्यवस्था गरी लोप भएका जात्रा पर्वहरूको संरक्षण गर्नुपर्ने बताए । उनले संस्कृति संरक्षणको लािग सरोकारवाला निकायले वर्षभरी मनाइने जात्रा चाडपर्वहरूको लगत राख्ने, नयाँ पुस्तालाई संस्कृति संरक्षणमा प्रेरित गर्ने, संस्कृति सम्बन्धी पुराना, नयाँ विषयवस्तुलाई संग्रहालयमा सुरक्षित गर्ने र स्थानीय तहमा हुने मेला महोत्सवलाई प्रसस्त मात्रामा प्रचार गर्न सकेमा मात्र लोपोन्मुख जात्रा पर्वहरूको संरक्षण हुने बताउनुभयाे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै बुद्धिजीवी एवम् संस्कृतिविद् निर्मल श्रेष्ठले हाम्रा जात्रा, पर्व र संस्कृति जीवनसँग साटिने भएकोले संस्कृति संरक्षणको क्षेत्रमा लाग्नेहरूले यथार्थताको धरातलमा रहेर पहिचन भुल्न नहुने बताउनुभयाे । उहाँले संस्कृति र संस्कार विज्ञानसँग रहेकोले संस्कृतिलाई पहिचा र सभ्यताको रूपमा बुझ्न आग्रह गर्नुभयाे । श्रेष्ठले धर्म संस्कृतिले अनुशासन र सभ्यता सिकाउने भएकोले जात्रा चाड पर्वलाई समाज परिवर्तनको रूपमा विकास गर्दै लैजानुपर्ने बताउनुभयाे ।

परिषद्का सल्लाहकार राजेन्द्रगोपाल सिंहले पाल्पा धर्म संस्कृतिमा धनी रहेकोले धार्मिक सहिष्णुताको विकास गर्दै जिल्लालाई धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समृद्ध बनाउनुपर्ने बताउनुभयाे । उहाँले संस्कृति संरक्षणमा अभियान्तहरूबाट सुधारको प्रतिवद्धता हुनुपर्ने जनाए । सिंहले धर्म संस्कृतिलाई विरोधाभास र अराजक बनाउन नहुनेमा जोड दिनुभयाे ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाको विकास हुनु नै समग्र पाल्पाको विकास हुनु हो भन्ने उदाहरण दिदै जिल्लाका सवै गाउँपालिकाहरूमा संस्कृति र जात्रापर्वको संरक्षणमा बगनासकालीले समन्वय गर्न तयार रहेको बताउनुभयाे । उहाँले स्थानीय तहले बजेटलाई बाटो र माटोमा मात्र नसकी आफ्नो पहिचान र सभ्यता झल्किने सम्पदा र संस्कृति रक्षामा समेत खर्चिन सकेमा समग्र पाल्पाको जात्रा पर्वहरूको संरक्षण हुने औंल्याउनुभयाे ।

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, रणउजिरेश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय, मीनबहादुर केसीले धारणा राख्नुभयाे ।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update