Erani Mahal
पाल्पामा पनि डेंगुका बिरामी बढ्दैं
dengu-1

पाल्पा - पछिल्लाे समय पाल्पामा पनि डेंगुका विरामी बढ्दै गएका छन् । पाल्पा जिल्लामा ७ जना डेंगुका विरामी देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पछिल्लाे समय पाल्पामा गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालेकाे सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयाे ।

तराइका छिमेकी जिल्लासँग सम्पर्क र सम्बन्ध बढेका कारण पनि पाल्पामा यस्ता बिरामी बढ्दै गएका छन् । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो, गर्मीका कारण पहाडमा डेंगुको संकमण भएकाे लामखुट्टे पहाडमा देखिएकाे उहाँकाे भनाइ छ ।

डेंगुकाे भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको हाे ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

पछिल्लाे समय पाल्पा सहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी, रूपन्देही, दाङ् जिल्लामा समेत डेंगुका बिरामी बढेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update