Erani Mahal
तानसेनमा २५ औं विश्व आदिवासी दिवस मनाइयो
68719394_713542255757109_3010416184915918848_n-1

पाल्पा – २५ औं विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम सहित शुक्रबार तानसेनमा सम्पन्न भएको छ । दिवसको सन्दर्भमा आयोजित सभामा बोल्दै ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले वर्तमान संविधानमा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

आदिवासी जनजातिले मुख्य गरी राज्यसत्तासँग प्राप्त गर्ने अधिकार र एजेण्डा स्पष्ट गर्नुपर्ने र त्यसलाई कसरी प्राप्त गर्ने हो त्यस अनुसारको संघर्षको कार्यक्रम तय गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले संविधानमा स्पष्ट रुपमा उल्लेख भएका अधिकारहरु कार्यान्वयन गर्न र प्रयोग गर्न आदिवासी जनजातिहरु सक्षम आफै हुनुपर्ने बताउनुभयो ।

आदिवासी जनजातिहरुले आफ्ना छोराछोरीलाई सरकारले निजामति लगायत विभिन्न क्षेत्रमा दिएको सुबिधा प्रयोग गर्नका लागि प्रेरित गर्नुपर्ने बताउनुभयो । मन्त्री बरालले आदिवासी जनजातिले कतिपय विषय सकारात्मक भए पनि पाएको अधिकार समेत प्रयोग गर्न नसकेको प्रशंग उठाउँदै आफ्नो समुदायमा भएको केही विकृति हटाउनका लागि सरकारले हटाउदैन, त्यो विकृति हटाउने आफैले हो उहाँले भन्नुभयो ।


कार्यक्रममा प्रदेश सभाका सभासद् वीरबहादुर रानाले वर्तमान सरकारले आदिवासी जनजातिलगायतलाई दिएको अधिकार कुण्ठित गर्न उद्दत रहेको आरोप लगाउनुभयो । यस्तै अर्का सभासद् पुरनमान बज्राचार्यले ५ नं. प्रदेश सरकारले आदिवासी जनजातिका अधिकारलाई कार्यान्वयन गर्न विशेष ध्यान दिएको बताउनुभयो ।


कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमूख अशोककुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले शुभकामना मनतव्य राख्नुभएको थियो ।

यस्तै रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष चेतकुमारी थापा, नेकपा पाल्पाका सचिव गीरबहादुर थापा(बीरबल), नेपाली कांग्रेसका उपसभापति देवराज ढकाल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल अर्लामी, राप्रपा संयुक्तका प्रतिनिधि रेवन्तबहादुर विष्ट, आदिवासी जनजाति महासंघका सल्लाहकार गमबहादुर थापा, नेपाल मगर महिला संघ ५ नं. प्रदेशका अध्यक्ष प्रतिक्षा सिंजाली, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले शुभकामना दिनुभएको थियो ।


कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष केहरसिंह रानाको अध्यक्षता, आदिवासी जनजाति पत्रकार महासंघ ५ नं. प्रदेशका प्रमूख देव पचभैँयाको संचालन र महासंघका उपाध्यक्ष प्रेमसागर शाहीको स्वागतमा सम्पन्न भएको थियो । यस्तै आदिवासी जनजाति दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिता र नृत्य प्रतियोगितामा उत्कृष्ठ भएका प्रतियोगीलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update