Erani Mahal
लुम्बिनी मेडिकल कलेज पाल्पाबाट शिशु चोर्ने महिला कारागार चलान
Untitled-1-copy

लुम्बिनी मेडिकल कलेज, प्रभासबाट शिशु चोरी अभियोगमा पक्राउ गरेकी स्याङ्जाको गल्याङ नगरपालीका–५ की विमकला पाण्डे पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको इजलाशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले जानकारी दिनुभयो । उनलाइ थुनछेक बहस पछि कारागार चलान गर्ने आदेश अदालतबाट भएको हो ।

श्रेस्तेदार सिग्देलका अनुसार अभियुक्त पाण्डेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान हुनेछ। गत असार २७ गते शुक्रबार तानसेन नगरपालिका–९ मदनपेखराकी २२ वर्षीया जमुना रानाबाट जन्मिएको शिशु चार घण्टामै हराएको थियो ।

फाइल तस्विर : इरानीमहल ।

अस्पतालको बेडबाट नै शिशु हराएपछि सबै आश्चर्यमा परेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा गएको प्रहरीको टोलीले ४० वर्षीया अभियुक्त पाण्डेलाई गत असार २८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीबाट शिशुसहित पक्राउ गरेको थियो ।

पहिलो श्रीमान्को निधन भएपछि अभियुक्त पाण्डेले एक वर्षअघिमात्र अर्को पुरुषसँग विवाह गरेकी थिइन् । विदेशमा रहेका पछिल्लो श्रीमानसँगको सम्बन्ध मजवुत बनाउन छोराको आवश्यक ठानेकी उनले अर्काको शिशु चोरेको वयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update