Erani Mahal
प्रशासनकाे छड्के अनुगमन : पाल्पामा एकै दिन ३४ जना कर्मचारी अनुपस्थित !
new-bawan-of-jilla-prasasan-1000x642

पाल्पा - पाल्पा जिल्लास्थित सरकारी कार्यालयहरूमा बिहीबार ३४ जना कर्मचारी अनुपस्थित भएका छन् । कार्यालयमा जानकारी नै नदिइ पाल्पाका ३२ वटा सरकारी कार्यालयका ३४ जना कर्मचारी अनुपस्थित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेकाे छड्के अनुगमनका क्रममा २३ जना कर्मचारीले ताेकिएकाे पाेशाक नलगाएकाे पाइएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी हुमबहादुर पाण्डेले इरानीमहललाइ जानकारी दिनुभयाे ।

कार्यालयमा कर्मचारी अनुपस्थित हुँदा सेवाग्राही सेवा लिनबाट बञ्चित हुने, सेवाग्राहीकाे काम समयमै नहुने, राज्यले दिने सेवा प्रवाहमा असर गर्ने, कर्मचारीमा मनपरी माैलाउने हुन्छ । यस्तै कार्यालयले दिने सेवामा समेत बाधा अड्चन आउने गर्दछ ।

प्रशासनले बिहीबार पाँच वटा टाेली बनाएर पाल्पाका विभिन्न ३२ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाइ विभागीय कारबाही गर्नका लागि सम्बन्धित निकायलाइ सिफारिस गरिने प्रमूख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयाे । कार्यालयमा कर्मचारीले पालना गर्नुपर्ने शर्त पालना नगरे कर्मचारीलाइ विभागीय कारबाही गर्ने, स्पष्टीकरण लिने प्रावधान छ ।

पछिल्लाे समयमा सरकारी कार्यालयमा प्रभावकारी अनुमगन नहुँदा कर्मचारीहरू जानकारीबिनै व्यक्तिगत कामका लागि कार्यालयमा उपस्थित नहुने, कार्यालयमा समयमा नआउने, बेलुकी कार्यालय समयसम्म नबस्ने, सरकारी सवारीसाधनकाे दुरूपयाेग गर्ने गरेकाे गुनासाे बढेकाे थियाे । सर्वसाधारणकाे गुनासाे र कार्यालयकाे नीति अनुसार अनुगमन गरिएकाे प्रशासनले जनाएकाे छ ।

अनुगमनका क्रममा कार्यालय प्रमुख ३, अधिकृत ७, नासु सरहका, १२, खरिदार सरह २, हलुका सवारी चालक ५ र कार्यालय सहयोगी ५ जना अनुपस्थित भएका थिए ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका कर्मचारीहरू रमा श्रेष्ठ, हुमबहादुर पाण्डे, लक्षमण घिमिरे, हरि पन्थी र दिनेश बस्यालकाे नेतृत्वमा पाँच वटा टाेलीले अनुगमन गरेकाे थियाे । पाल्पामा सडक डिभिजन कार्यालय, खानेपानी कार्यालय, स्वास्थ्य कार्यालय, वन कार्यालय, भूसंरक्षण, प्रधानमन्त्री आधुनिकीकरण कार्यालय, कृषि ज्ञान केन्द्र, नापी, विशेष नापी, मालपाेत, हुलाक, काेष तथा लेखा नियन्त्रण, पशु कार्यालय, कर दाता सेवा कार्यालयलगायत छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update