Erani Mahal
गुल्मीको ठूलोलुम्पेक गाउँ नै जोखिममा रहेको भूगर्भविद्को निष्कर्ष
Gulmi-Pahiro-1230

गुल्मी - गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको भूगर्भविद्को भनाइ छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ ।

विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर अध्ययन गरिरहेको छ । कमजोर चट्टान, अव्यवस्थित सडक निर्माण, स्लोप जमिन रहेकाले बस्ती जोखिमपूर्ण रहेको टोलीले जनाएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा प्रभावित क्षेत्रमा शुक्रबार टोली पुगेको थियो । मंगलबारदेखि वडा ४ लिम्घामा अध्ययन गर्ने जनाएको छ ।
‘गाउँअनुसार फरक–फरक कारण देखिएका छन्,’ टोलीमा संलग्न आचार्यले भन्नुभयो, ‘पहाडको स्लोप जता फर्केको छ, त्यतै चट्टान फर्किएको देखियो । जुन पहिरोका लागि बढी र सधैंको जोखिमपूर्ण भूगोल हो ।’ लुम्पेकका धेरै बस्ती र जंगल क्षेत्रसमेत सामान्य पानीले बग्ने खालको कमजोर माटो र कमजोर चट्टान रहेको उहाँले बताउनुभयाे । ‘त्यस्तोमा अझ बढी जोखिम हुन्छ,’ उहाँले भन्नुभयो, ‘यहाँका धेरै बस्ती त्यस्तै स्थानमै छन् ।’

त्यस्ता बस्ती स्थानान्तरण गर्नुपर्ने टोलीको सुझाव छ । तीन दिनमा लुम्पेकका पल्लोखोला, गेजाकोट डाँडा, कसिङथलामा अध्ययन सकेको छ । पहिरोले बढी प्रभावित सिङदी, थुम्का, जसकोट, ढुंगा चाल्नेलगायत बस्तीमा अध्ययन हुँदैछ ।
पहिरोका कारण ठुलोलुम्पेकमा ३ सय ७१ विस्थापित भएका थिए भने ५ को ज्यान गएको थियो । वडाध्यक्ष रुकबहादुर रानाका अनुसार अध्ययन टोलीले अध्ययन सकेका बस्ती जोखिमपूर्ण देखिएको बताउनुभयो । ‘पहिरो नगएको क्षेत्रसमेत जोखिमपूर्ण देखियो,’ उहाँले भन्नुभयो, ‘पहिरो क्षेत्रमा त समस्या छँदै छ ।’
पानी पर्न नरोकिएकाले विस्थापितको बसाइँ व्यवस्थान जटिल बन्दै गएको उनले सुनाए । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालका अनुसार लुम्पेकमा अहिलेसम्म १६ वटा टहरा निर्माण गरेर ४० परिवारलाई व्यवस्थापन गरिएको छ । अझै ३ सय बढी परिवार स्थानीय धर्मपुर माविमा छन् । ‘केही परिवार जोखिम भए पनि आफ्नै घरमा बस्न थालेका छन्,’ उहाँले भन्नुभयो, ‘घर नजिक धेरै पहिरा गएकाले हामीले अझै बस्नूस् भन्न सक्ने अवस्था छैन ।’ पहिरोपीडितका लागि राहत संकलनबाट ठूलै सहयोग पुगेको भए पनि विस्थापितको बसाइँ व्यवस्थापन चुनौतीबन्दै गएको उहाँले बताउनुभयो ।
सत्यवतीका लुम्पेक र लिम्घाका पहिरोपीडित र प्रभावितका लागि विभिन्न क्षेत्रबाट अहिलेसम्म ३२ लाख रुपैयाँ राहत संकलन भएको छ । त्यसबाहेक अन्य खाद्यान्न, लत्ताकपडा पनि संकलन भएको छ । गाउँपालिकाले पीडित मृतकका परिवारलाई प्रतिपरिवार १० हजार, बिरामीलाई १० हजारका दरले राहत उपलब्ध गराएको छ ।
थप प्रतिपरिवार २५ हजार पनि दिने तयारी भएको अध्यक्ष ढकालले बताए । पहिरोले लुम्पेकमा १८ घर पूर्ण क्षति र ३ सय ७ घर उच्च जोखिममा रहेको प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । ४ सय पशु चौपाया मरेका, ६१ गोठ भत्किएका र ६० भन्दा बढी शौचालय पहिरोले बगाएका छन् । त्यस्तै वडा ४ लिम्घामा ३ घर पूर्ण क्षति, २१ घर आंशिक क्षति र ५५ घर उच्चजोखिममा उहाँकाे भनाइ छ ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update