Erani Mahal
पाल्पामा लक्ष्यभन्दा २१ कराेड ३१ लाख बढी राजश्व संकलन
1563860058_1555916613

पाल्पा – करदाता सेवा कार्यालय पाल्पाले आर्थिक वर्ष २०७५/०७६ गतवर्षको तुलनामा २१ करोड ३१ लाख राजश्व बढी संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत बढी राजश्व सङ्कलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २३ करोड ९९ लाख ८२ हजार राजश्व सङ्कलन भएकोमा आव २०७५/०७६ मा ९० प्रतिशतले बढेर ४५ करोढ ३१ लाख पुगेकाे छ । यो गत वर्षको तुलनामा २१ करोड बढी हो ।

करदाता सेवा कार्यालयका अनुसार सबैभन्दा बढी व्यक्तिगत फर्मबाट १२ करोड ८५ लाख राजश्व सङ्कलन भएको छ । यस्तै परामर्श तथा ठेक्काबाट छ करोड ८३ लाख, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट छ करोड ८६ लाख, पारिश्रमिक आयकरबाट तीन करोड ८४ लाख, बहाल करबाट दुई करोड १९ लाख, पूँजीगत लाभकरबाट एक करोड ६७ लाख राजश्व सङ्कलन भएको छ ।


आर्थिक वर्ष २०७५/०७६ मा ३३ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर आवको असार मसान्तसम्ममा ४५ करोड ३१ लाख तीन हजार राजश्व सङ्कलन भएको कार्यालयका प्रमूख सागर पोखरेलले जानकारी दिनुभयो ।


व्यक्तिगत प्यान, सेवाक्षेत्र विस्तार, प्रभावकारी अनुगमन र करदाता शिक्षाका कारण राजश्व बढेको हो । आव २०७४/०७५ मा १८ हजार तीन सय ६१ करदाता कर प्रणालीमा आबद्ध भएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा व्यक्तिगत प्यान लिनेको सङ्ख्या तीन हजार छ सय ३२ रहेकोमा बढेर पाँच हजार आठ सय ६० पुगेको छ । यस्तै भ्याटमा दर्ता हुने फर्मको सङ्ख्या १४ हजार आठ सय ४८ पुगेको छ ।


अन्तशुल्कमा दर्ता हुने फर्मको सङ्ख्या एक हजार छ पुगेको करदाता सेवा कार्यालय पाल्पाले जनाएको छ । सेवा क्षेत्र बिस्तार र दर्ता हुने फर्मको सङ्ख्या बृद्धि भएका कारण राजश्व बढेको पोखरेलले जानकारी दिनुभयो ।


पाल्पा र गुल्मी जिल्लालाई सेवा क्षेत्र मानेर काम गरेको कार्यालयले आव २०७५÷०७६ मा पाल्पाको रामपुर, आर्यभाङ्ज्याङ्, तानसेन, छहरा लगायतका स्थानमा करदाता शिक्षा सञ्चालन गरेको थियो । तानसेनको विभिन्न स्थान, डुम्रे, हार्थोक, रामपुर, आर्यभाङ्ज्याङ् लगायतका स्थानमा बजार अनुगमन भएको प्रमूख पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update