Erani Mahal
पाल्पामा जनजाति महासंघले साताव्यापी 'विश्व आदिवासी दिवस' मनाउने
DSC03770

पाल्पा – नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले २५ औँ विश्व आदिवासी दिवस विबिध कार्यक्रम सहित मनाउने भएको छ । महासङ्घले संविधानको पूर्ण कार्यान्वयनको माग सहित साताव्यापी रुपमा कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाउने जनाएको छ ।


महासंघ पाल्पा शाखाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष केहरसिंह रानाले संविधानको मर्म अनुसार वर्तमान सरकार चल्न नसकेको आरोप लगाउनुभयो । उहाँले देशमा फेरी पनि द्वन्द्व चाहने तत्व सक्रिय रहेको भन्दै सबैको अपनत्व हुने गरी संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।


संविधानमा उल्लेख भएको समावेशी र समानुपातिक सिद्दान्त अनुसार अहिले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञप्ति संविधानको भावना बिपरीत रहेको अध्यक्ष रानाको जिकिर छ । नेपाल सरकार संयुक्त राष्ट्र संघको सदस्य भएकाले राष्ट्र संघसँग भएको सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा उहाँले सो अवसरमा राख्नुभयो ।


महासंघले विश्व आदिवासी दिवसका अवसरमा पाल्पामा सक्रिय रहेका विभिन्न जातीय तथा भाषिक संघसंस्थासँग छलफल अन्तरक्रिया गर्ने, पत्रकार भेटघाट गर्ने, चित्रकला प्रतियोगिता गर्ने, जातीय सद्भाव कायम गर्न सर्वपक्षीय अन्तरसंवाद गर्ने, आदिवासी जनजाति सम्बद्ध लोक संस्कृतिमा आधारित खुल्ला नृत्य प्रतियोगिता गर्ने र सबैको सहभागितामा मूल समारोह गर्ने कार्यक्रम तय गरेको छ । महासंघले साउन १८ गतेदेखि नै विविध कार्यक्रम गरिरहेको जानकारी दिदैँ साताव्यापी कार्यक्रम साउन २४ गतेसम्म गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update