Erani Mahal
गुल्मीको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुग्याे
gulmi

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उहाँका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको टाउकोमा चोट लागेकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले बताउनुभयाे ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ ।

बुधबार साँझ हेलिकप्टरबाट २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलोलुम्पेकमा पुर्याएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयाे । विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा पुर्याइएको हो । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update