Erani Mahal
पाल्पा अपडेट : 'अस्पतालबाट घाट, घाटबाट अस्पताल' ल्याइएकी महिलाको कथा
lmc-img-60-1

पाल्पा – अस्पतालबाट दाहसंस्कारका लागि रिडी घाटमा पुर्‍याइएकी नर्मदा ज्ञवालीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृगौलाको डायलाशिस गर्ने सुरू गरिएको छ । रैनादेवी छहरा गाउँपालिका—१, सिद्धेश्वर असारे निवासी ३६ वर्षकी ज्ञवालीलाई सोमबार अन्तिम संस्कार गर्न भनेर रिडी घाटमा पुर्‍याइएको थियो । तर घाटमा अर्धजल दिने बेलामा उहाँ जिउँदो रहेको पत्ता लागेपछि तत्कालै रिडी प्राथमिक उपचार केन्द्रमा लगिएको थियो ।


त्यसपछि थप उपचारका लागि तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा सोमबार राति नै थप उपचारका लागि ल्याइएको थियो । ज्ञवालीको स्वास्थ्यमा थप सुधार हुँदै गएको र आज (बुधबार) मृगौलाको डायलाशिस गर्ने सुरू गरिएको बिरामीका आफन्त भेषराज पोखरेलले जानकारी दिनुभयो ।

तस्विर स्राेत : गुगल ।

२०७६ असार २५ गते गाउँमा फैलिएको झाडापखालाका कारण गम्भीर बिरामी पर्नुभएका ज्ञवालीको १० दिनदेखि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा निको नभएपछि मिसन अस्पतालका चिकित्सकले डायलाशिस गर्नुपर्ने भन्ने सल्लाह बिरामीका आफन्तलाई दिएको थियो । तर बिरामीका आफन्तबाट २/३ दिनसम्म पनि डायलाशिसका लागि पहल नभएको र बिरामीका आफन्तले नै घरमै लैजान्छौँ भनेर मिसन अस्पतालबाट बिरामीकै सल्लाहमा डिस्चार्ज दिएको अस्पतालले जनाएको छ ।


कसरी भयो नसोचेको घटना ?
सिद्धेश्वर गाउँमा फैलिएको झाडापखालाबाट गम्भीर हुनुभएका नर्मदा ज्ञवालीलाई गत असार २५ गते मिसन अस्पताल तानसेनमा भर्ना गरियो । ज्ञवालीको १० दिनसम्म सोही अस्पतालमै उपचार भयो । तर बिरामीको थप उपचार गर्नुपर्ने भयो । मृगौलामा गम्भीर समस्या देखिएको भनेर अस्पतालले डायलाशिस गर्नुपर्ने सल्लाह दियो । तर थप उपचार गर्न परिवारका आफन्तले क्रियाशिलता देखाएनन् । यसलाई आर्थिक समस्याका कारण बिरामीका आफन्तले डायलाशिस गर्न आनाकानी गरेको बुझ्न सकिन्छ ।

उपचारकै क्रममा अस्पतालका केही चिकित्सकले बिरामीको अवस्था गम्भीर रहेको बताएको थियो थिए । बिरामीका लागि दिएको अक्सिजन निकाल्ने हो भने बिरामीको स्थिति गम्भीर हुन सक्छ भनेर अस्पतालले भनेको पनि थियो । यही क्रममै आफन्तले बिरामी घर लैजान्छौँ भनेर अस्पताललाई आग्रह गरे । सोही अनुसार २०७६ साउन ६ गते अस्पतालले एम्बुलेन्सको व्यवस्था समेत गरेर घरसम्म लैजान अनुमति दियो ।


बीच बाटोमै पुग्दा एम्बुलेन्समा बसेका केही आफन्तले एउटा अक्सिजन निकालेको एम्बुलेन्सका चालक मोहनीलाल कुँवरको भनाई छ । सोही क्रममा एम्बुलेन्स भित्र बसेका एक जना आफन्तले नर्मदाको घर रैनादेवी छहरा—१, सिद्धेश्वर असारेका आफन्तलाई फोनमार्फत अब बिरामीको अवस्था गम्भीर छ मुख हेर्न आउनुप¥यो भने । त्यसपछि गाउँलेमा एउटा सूचना तरङ्गित बन्यो, नर्मदाको मृत्यु भईसक्यो, अन्तिम संस्कारका लागि तयारी गरेर रिडी घाटमा छिटोभन्दा छिटो पुग्नुप¥यो ।

नर्मदाको अवस्था गम्भीर छ भन्ने सूचनाले गाउँमा नर्मदाको लाश जलाउनका लागि दाउरा र आवश्यक अन्य सामग्रीसहित रिडीमा झर्नुप¥यो भन्ने गलत सूचना प्रवाह भयो । घरमा लैजाने क्रममा नर्मदाको मृत्यु भइसक्यो भन्ने भ्रम एम्बुलेन्समा गएका आफन्तलाई समेत भयो । यही भ्रमले रिडीमा एम्बुलेन्समा गएका आफन्तले नर्मदाको मृत्यु भईसकेको भनेर कहिले गुल्मी घाट त कहिले पाल्पातर्फको घाटमा नर्मदाको जीवित शरीर दौडायो । पानी परेकाले अन्तिममा पाल्पातर्फ एम्बुलेन्स ल्याइयो ।

हिन्दु संस्कार अनुसार मानिसको मृत्यु भएपछि अर्धजल दिने गरिन्छ । त्यहाँ नर्मदाको जिउँदो लाशलाई अर्धजल दिन निधो भयो । अर्धजल दिने क्रममा नर्मदाले आफू मरेको होइ्रन, जिउँदै रहेको प्रमाण आँखा खोलेर र शरीर चल्मलाएर दिनुभयो । यसपछि घाटमा अन्तिम संस्कारका लागि गएका मलामीहरू भागाभाग भए ।

केहीले नर्मदा बाँच्छिन् भनेर रिडी प्राथमिक उपचार केन्द्रमा लगे र त्यहाँका स्वास्थ्यकर्मीको सल्लाहमा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइयो । अहिले उहाँको उपचार भईरहेको छ । स्वास्थ्य समेत सुधारउन्मुख छ । उहाँको डायलाशिस गर्ने क्रम सुरु भईसकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update