Erani Mahal
'पुष्पलाल' स्मृति दिवसमा तानसेनमा कार्यक्रम
IMG_0258

पाल्पा - नेकपा पाल्पाले तानसेनमा ४१ औं पुष्पलाल स्मृती दिवस मनाएको छ । स्मृति दिवसमा नेकपा केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज सोम प्रसाद पाण्डेयले कम्युनिष्ट पार्टीको बिउ रोप्ने पुष्पलाललाई अबिचलित नेताको रुपमा चित्रण गर्नुभएको छ ।

सयौं पटक सही तरिकाले विश्लेषण नगरी पदबाट हटाउने र असफल बनाउने प्रयास गरिँदा पनि पुष्पलाल बिचलित नभएको बताउनुभयो । पुष्पलालले आफ्नो नामको पछाडि थर कहिल्यै नलेखेको प्रशंग उठाउँदै नेता पाण्डेयले जातीय किचलोमा फँसेर देश र नागरिकको समृद्धि नहुने सन्देश दिएको उल्लेख गर्नुभयो ।

"पुँजीवादी वर्गको परिचालनमा कम्युनिष्ट विचारलाई अदृश्य रुपमा नष्ट गर्न अनेक पक्ष लागिपरेको छ ।" नेता पाण्डेयले भन्नुभयो - "प्रतिपक्षले संसदीय अभ्यासलाई समेत लत्याउँदै कम्युनिष्ट सरकार माथि आक्रमण गरेको छ ।"

नेता पाण्डेयले वर्तमान संघीय सरकारले जनताको पक्षमा कुनै पनि कसर नरहने गरी कार्यसम्पादन गरिरहेको भन्दै कुनै कुनै विषयमा कमजोरी रहेको हुनसक्ने र त्यसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य तथा पाल्पा सह-ईन्चार्ज तुलाराम घर्तीमगर बसन्तले कम्युनिष्ट पार्टिका संस्थापक नेता पुष्पलाललाई अबीर र माला लगाईदिएर मात्र सम्मान नहुने भन्दै उहाँको बिचारधारालाई पछ्याउनुपर्ने बताउनुभयो ।

घर्तीले कम्युनिष्ट सरकार र विचारधारालाई असफल पार्न विभिन्न पक्षहरु कस्सिएर लागेको भन्दै पुष्पलालको बिचारलाई असल तरिकाले पछ्याउँदै गए जनताले गरेको बिरोध र बैरिले गरेको बिरोध चिनिने बताउनुभयो ।

"ठेकेदार, ठग कर्मचारी, बिचौलिया र कालोबजारिहरुको पक्षमा सार्वजनिक खरिद ऐन तुरुन्तै संशोधन हुनुपर्छ ।" फरक प्रसंग उठाउँदै घर्तीले भन्नुभयो :- "असारे विकासको विकृती समाधान गर्ने बिकल्प ऐन संशोधन नै हो ।" घर्तीले कम्युनिष्ट नीति र सिद्धान्तलाई गति दिन एमाले माओवादी नभनी एक भएर लाग्नुपर्ने बताउनुभयो ।

संविधान सभा सदस्य नारायणी शर्माले देशको समृद्धि कम्युनिष्ट बिचारधाराले मात्र संभव हुने बताउँदै त्यसको सम्पूर्ण श्रेय पुष्पलाललाई जाने बताउनुभयो । शर्माले कम्युनिष्टहरुको राजनैतिक आन्दोलन समाप्त भएको भन्दै अब आर्थिक विकासको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।

नेकपा प्रदेश सदस्य चक्रब्युह थापाले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जीवनी प्रस्तुत गर्दै अनेक दुख र कष्ठ सहेर पार्टी स्थापना गरेको बताउनुभयो । थापाले पुष्पलालले स्थापना गरेको पार्टी अहिले देशकै ठूलो पार्टी भएको भन्दै कम्युनिष्ट आन्दोलन सफल भएको बताउनुभयो । स्मृति दिवस नेकपा पाल्पाका सचिव गीर बहादुर थापाको सञ्चालन र अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैबीच पुष्पलाल स्मृति दिवसमा जिल्लाभर नै विविध कार्यक्रम भएका छन् । रामपुर नगरपालिका, बगनासकाली, रम्भा, तिनाउ, रैनादेवी छहरा, रिब्दीकाेट, निस्दी, माथागढी, पूर्वखाेलमा पनि नेकपाले विविध कार्यक्रम गरेकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update