Erani Mahal
रम्भा गाउँपालिकालाई 'स्मार्ट' बनाउने योजना अघि सारेका छौँ : अध्यक्ष भण्डारी
2

पाल्पा – स्मार्ट गाउँपालिका बनाउने योजना सहित रम्भा गाउँपालिकाले योजना अघि सारेको छ । विभिन्न आधारहरू पूरा गरेपछि गाउँपालिकालाई स्मार्ट गाउँपालिका बनाउन सकिने धारणा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले राख्नुभएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष भण्डारीले टुकी रहित, बालमैत्री, खरको छानामुक्त, पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम अहिले भईरहेको बताउनुभयो । आर्थिक वर्ष २०७७ को असार मसान्तभित्रमा बालमैत्री गाउँपालिका, पूर्ण सरसफाईयुक्त गाउँपालिका, टुकीरहित गाउँपालिका, खरको छानामुक्त गाउँपालिका बनाउने गरी कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।


यस्तै स्मार्ट गाउँपालिका बनाउनका लागि अन्य दर्जनौँ इन्डिकेटर पूरा गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकको पाँचौ गाउँसभाबाट ४० करोड बढीको योजना तथा कार्यक्रम ल्याएको छ । हामीले स्मार्ट गाउँपालिका बनाउने गरी आधारहरु तयार गर्दै पूरा गर्दै जाने योजना छ अध्यक्ष भण्डारीले भन्नुभयो काममा लागेपछि यो कुरा पूरा हुन्छ भन्ने विस्वास छ ।


गाउँपालिकाले मासु र दुधमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । किसानलाई अनुदान दिने र आवश्यक उपकरणमा सहयोग गरेर दुध र मासुमा गाउँपालिकालाई आत्मनिर्भर गराइने अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै महिला तथा युवालाई तालिम पश्चात अनुदान समेत दिनका लागि गाउँपालिकाले ३८ लाख बजेट विनियोजन गरेको जनाएको छ ।


गाउँपालिकाले यो वर्ष पनि सडक निर्माण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलको विकास र पर्यटक आकर्षित गर्ने पूर्वााधर निर्माण गर्ने, प्रावि तहसम्मका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम, वडा कार्यालय देखि गाउँपालिकासम्म पुग्ने सडकको स्तरउन्नतिका लागि बजेट विनियोजन भएको जानकारी उहाँले दिनुभयो ।

बजेट सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कार्यबहाक अध्यक्ष भरत शर्माले मदिरा नियन्त्रण गर्ने, संचार क्षेत्रलाई परिचालन गर्ने लगायतका कार्यक्रम समेट्न सुझाव दिनुभयो । कार्यक्रम रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठको स्वागत, प्रमूख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालको संचालन र गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update