Erani Mahal
पाल्पामा हावाबाट बिजुली निकालेर १ सय ८० घर उज्यालो बनाउन अन्तिम तयारी
hawa-bata-bijuli1-1

पाल्पा - जिल्लाको पूर्वी भेगमा रहेको निस्दी गाउँपालिकास्थित मित्यालमा हावाबाट बिजुली निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य उर्जाबाट बिजुली निकाल्ने काम अन्तिम चरणमा पुगेको हो ।

एक वर्षअघि १२ सय किलोवाट क्षमताको हावाबाट बिजुली उत्पादन सफल भएपछि निस्दीको रुक्सेभाङ्ज्याङ्, काफलडाँडा र झ्यालटुङ् गाउँमा हावाबाट विद्युत् उत्पादन गर्ने योजना बनेको थियो । तीन वटा गाउँका एक सय ८० घरधुरीमा हावाबाट र सौर्य उर्जाबाट बिजुली उत्पादन गरेर गाउँ उज्यालो बनाउने योजनाको काम अन्तिम चरणमा पुगेको वायु तथा सौर्य उर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताउनुभयो ।


हावाबाट र सौर्य उर्जाबाट निकालिएको बिजुली बाल्ने अन्तिम तयारी भईरहेको छ सुनारीले भन्नुभयो दशक अघि घरमा बिजुली बत्ति बाल्ने सपना पूरा हुँदैछ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको दुई करोड, गाउँपालिकाको ४२ लाख, स्थानीय बासिन्दाको श्रमदान गरी तीन करोड लागतमा यहाँ २५ किलोवाट विद्युत् उत्पादन हुने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । यस्तै विद्युत् पावर हाउस निर्माण, पोल तथा तार बिस्तारको काम, घरमा वायरिङ्को काम सकिएको छ । सौर्य उर्जाबाट १० किलोवाट विद्युत् उत्पादन गर्न सक्ने गरी काम पूरा भईसकेको निस्दी गाउँपालिका–४, मित्यालका स्थानीय समाजसेवी सन्तवीर सुनारीले बताउनुभयो ।

विद्युत् उत्पादन भएपछि विद्यालय र सरकारी कार्यालयको काम समेत सहज हुने यहाँका सरोकारवाला निकायले अनुमान गरेका छन् । हावा र सौर्यबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा छ अब व्याट्री ल्याएर जडान गर्ने काम बाँकी छ उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले भन्नुभयो २०७६ असारभित्रै बिजुली बालेर गाउँ उज्यालो बनाउने योजना छ ।

केही वर्षअघिसम्म हावाबाट बिजुली निकाल्नु गफ मात्रै हो भन्ने सुनिन्थ्यो तर अहिले हावाबाटै बिजुली बाल्ने क्रममा छौँ स्थानीय बासिन्दा निरज सुनारीले भन्नुभयो अहिले डाँडाबस्ती गाउँ उज्यालो बनाउन हावाबाट बिजुली निकाल्न राम्रो जस्तो लाग्छ । हावा र सौर्यको मिश्रित प्रणालीले बाह्रै महिना व्याट्री चार्ज हुने र हावा नलाग्ने समय असार, साउन, भदौँ, असोज महिनामा पनि विद्युत् उत्पादन भईरहने गाउँपालिकाको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update