Erani Mahal
आकाशबाट पानी नपरेपछि पाल्पाका किसानले धान रोप्न पाएनन
DSC_9892-4

पाल्पा - धान खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले पाल्पामा यस वर्ष धान रोपाईमा ढिलाई भएको छ । समयमा पानी पर्न नसक्दा धान रोपाई ढिलाई भएको हो । विगतका वर्षमा यो अबधिसम्ममा पाल्पाको अधिकांश धान खेती हुने क्षेत्र हरिया हुन्थे तर यो वर्ष अहिलेसम्म रोपाई सुरु हुन सकेको छैन ।


पाल्पाको माडीफँट, रामपुर फाँट, अर्गली, पूर्वखोला, झडेवा लगायतका फाँटमा यो वर्ष अझै पनि धान रोपाई हुन नसकेको हो । आकाशको पानीमा भर पर्नुपर्ने बाध्यताले धान रोपाई हुन नसकेको किसानको भनाई छ । विगतमा यो अबधिसम्ममा ५० प्रतिशत धान रोपेर सकिन्थ्यो तर यो वर्ष अहिलेसम्म धान रोप्न सकिएको छैन, बगनासकाली पोखराथोक माडीका किसान कृष्ण भण्डारीले भन्नुभयो ।
रोपाईका लागि राखेका धानका व्याड समेत सुकेका उहाँले बताउनुभयो ।

पाल्पामा आठ हजार सात सय हेक्टर बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर पछिल्लो समय यो क्षेत्रफल पनि घट्दो छ । पहाडी जिल्लामा धान खेती हुने जिल्लामध्ये पाल्पा पनि एउटा पर्छ । किसान पछिल्लो समयमा परम्परागत भन्दा पनि हाइब्रिड धान खेतीमा आकर्षित भएकाले धान उत्पादन बढेको छ । तर यो वर्ष अहिलेसम्म धान रोपाई सुरु हुन नसक्दा धान उत्पादन घट्ने हो की भन्ने चिन्ता किसानमा छ ।


पानी समयमै नपर्दा धान उत्पादन घट्न सक्छ माडी रुप्सेका किसान रामु नेपालले भन्नुभयो धान खेतीका लागि आवश्यक पर्ने पानी पर्न नसक्दा किसानमा धान उत्पादन घट्ने हो की भन्ने चिन्ता छ उहाँले भन्नुभयो । यो वर्ष पाल्पामा १० प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । अघिल्ला वर्षमा पाल्पामा असार १८ सम्ममा ५० प्रतिशतसम्म धान खेती हुन्थ्यो यो वर्ष भएको छैन कृषि ज्ञान केन्द्र पाल्पाका प्रमूख शिवप्रसाद अर्यालले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update