Erani Mahal
तानसेन नगरले कृषि, पशुपालन र विदेशबाट फर्केका युवालाई सहुलियतमा ऋण दिने
65821999_10218236897570028_2953009166706278400_n

पाल्पा - तानसेन नगरपालिका र नेपाल वैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । तानसेनभित्रका कृषि र पशुपालन, वैदेशिक रोजगारबाट फर्केका युवासंग रहेको सीप उपयोग गर्न र महिला उद्यमशीलता वृद्धि गरी युवा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले दुई पक्ष बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौंतापत्रमा हस्ताक्षर भएको हो ।

नगरपालिकाभित्रका युवाले विना धितो ८ दशमलव ९२ प्रतिशत व्याजदरमा ऋण पाउनेछन् र वैंकको नियमानुसार असल ऋणीको हकमा महिला भए ६ प्रतिशत र पुरूषलाई ५ प्रतिशत व्याज छुट दिने व्यवस्था छ । सामूहिक जमानीमा बजार व्यवस्थाका लागि पनि ऋण प्रदान गर्ने नेपाल वैंकको नीति रहेको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले यो परियोजना ऋण प्रवाह गर्ने मात्र नभएर स्वाभिमानी र अात्मनिर्भर नागरिक तयार गर्ने कार्यक्रम हो भन्नुभयो । गरिवी निवारण, बेरोजगारी समस्याको अन्त्य गर्ने कुरा समृद्ध तानसेन निर्माणको संकल्प पूरा गर्ने कार्यभार पनि हो नगरपालिका प्रमुख शाहीको भनाई छ ।

नेपाल वैंक लिमिटेड प्रदेश कार्यालयका प्रमुख पासाङ दोर्जे शेर्पाले यो सम्झौता नेपालकै स्थानीय तहमा उल्लेखनीय संझौता हो भन्नुभयो । नेपालका ४६ जिल्लामा सरकारी कारोवार गर्दै अाएको नेपाल वैंकले १ सय ५० स्थानीय तहमा कारोबार गरेको उहाँले बताउनुभयो ।

पाल्पा शाखा प्रबन्धक सुरज घिमिरेले नेपाल वैंकले सेवालाई छिटो र छरितो बनाएको बताउनुभयो । कार्यक्रम उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालको सञ्चालन तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update