Erani Mahal
तानसेन नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम 'पर्यटन केन्द्रित'
DSC_9361

पाल्पा – तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा 'पर्यटन केन्द्रित' कार्यक्रमलाई प्राथमिता दिएको छ । पाँचौ नगरसभामा नगरपालिकामा प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तानसेन नगरपालिकाका लेखा प्रमूख दिवाकर अर्यालले तानसेनभित्र पर्यटक लक्षित पूर्वाधारहरूको विकास गरी तानसेनलाई आन्तरिक पर्यटकको केन्द्र बनाउने उल्लेख छ ।


मंगलबार सभामा प्रस्तुत नीतिमा नेपाल भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्ष २०७६ लाई केन्द्रित गरी 'तानसेन जाउँ, प्रकृति र संस्कृतिसँगै रमाउ' भन्ने अभियान सञ्चालन गरिने उल्लेख छ । पर्यटन प्रबद्र्धन गर्न नगरपालिकाले तानसेनको श्रीनगरमा बीग बुद्ध बनाउने, तानसेनको रिङ्रोडको स्तरउन्नति गर्ने, गुफाचउरमा गणेशधाम बनाउने, रानीमहलको एकीकृत विकास गर्ने, ऋषिकेश अर्गलीको एकीकृत विकास गर्नेलगायतका कार्यक्रम अघि सारेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै तानपा प्रमूख अशोककुमार शाही ।


तानसेनमा लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने उसले कार्यक्रम अघि सारेको छ । पब्लिक प्राइभेट पार्टनरसीपका आधारमा लगानी भित्र्याउन नगरपालिकाले लगानी सम्मेलन गर्ने जनाएको छ । तानसेनको कृषि तथा पशुपालन क्षेत्रलाई प्रबद्र्धन गर्न ३० रोपनीभन्दा बढी जग्गामा कृषि तथा पशुपालन गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने नीति नगरपालिकाले आगामी वर्षका लागि अख्तियार गर्ने उल्लेख छ ।

सभाको अध्यक्षता गर्नुहुँदै तानपा प्रमूख अशोककुमार शाही ।


तानसेनभित्रका सय पुराना सार्वजनिक, सांस्कृतिक, पुरातात्विक महत्वका घरहरूको संरक्षण गर्न कर छुट तथा अनुदानको व्यवस्था गर्ने आव २०७६÷०७७ को नीति तथा कार्यक्रममा उल्लेख छ । पाल्पाली ढाका र करुवाको उत्पादन र बिक्री गर्न व्यवसायीहरूलाई करमा छुट गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तानसेन नगरपालिकाका लेखा प्रमूख दिवाकर अर्याल ।

विपन्न, गरिब र २०३७ सालभन्दा अघि मृत्यु भएकाहरूको मृत्यु प्रमाणित गर्न रिफारिस र नवीकरण शुल्कमा छुट गरिएको छ । नगरपालिकाभित्रका शिक्षाको विकास गर्न राम्रो उत्कृष्ट विद्यालयहरूलाई पुरस्कृत, अनुगमन र इहाजिरी व्यवस्थालाई नगरपालिकाले निरन्तरता दिएको छ । परम्परागत ज्ञान र खानपान र भेषभूषा आदिको युवा क्षेत्रमा संस्कृति हस्तान्तरण गर्न संस्कृति आदानप्रदान कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ ।


स्वास्थ्य विमा कार्यक्रम यो वर्षदेखि रातो र निलो परिचयपत्र पाएका अपाङ्ग नागरिकलाई समेत उपलब्ध गराउने र रातो र निलो परिचय पाउने अपाङ्गलाई उपचार गर्न आउँदा यातायात खर्च दिने उल्लेख छ । विवाहित एकल महिला र एचआइभी संक्रमित व्यक्ति तथा फरक क्षमता भएका व्यक्तिहरूले तानसेनभित्र व्यवसाय गरे करमा ५० प्रतिशत छुट दिने उल्लेख छ ।

पाँचौ नगरसभामा सहभागी नगरसभाका सदस्यहरु ।


समुदायको लगानी दीगो विकासको थालनी नीति अख्तियार गरी विकासमा ६०/४० को साझेदारी गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सञ्चालित ठूला योजनाको सम्पन्न पश्चात तेस्रो पक्षबाट अनुगमन र मुल्याङ्कन गर्ने व्यवस्था गर्ने नयाँ नीतिमा उल्लेख छ ।


तानसेनमा निरन्तर रहेको सडक अतिक्रमणलाई हटाएर वातावरणमैत्री र हरित नगरको रुपमा विकास गर्न कार्यक्रम गर्ने, तानसेनको वनदेवीमा हरियाली बस टर्मीनल अवधारणा अन्तर्गत सम्बन्धित निकायसँगको समन्वयमा काम गर्ने उल्लेख छ ।

पाँचौ नगरसभामा सहभागी नगरसभाका सदस्यहरु ।

तानसेनको शित्तलपाटी क्षेत्रमा ढुङ्गा छाप्ने कार्य भईरहेको र अन्य क्षेत्रमा पनि अध्ययन् गरी ढुङ्गा छाप्ने कार्य अगाडि बढाउने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका बैशाख मसान्तसम्ममा योजना फरफारक गर्ने वडालाई ५ लाख थप रकम उपलब्ध गराउने उल्लेख छ ।

पत्रकारिता क्षेत्रको विकासका लागि पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारको संचालन गर्ने, पत्रकार महासंघसँगको सहकार्य र समन्वयमा समानुपातिक विज्ञापन नीति अवलम्बन गरिने उल्लेख छ । पत्रकारको क्षमता विकास गर्ने, संचार संस्थाको सबलीकरण गर्न कार्य सम्पादनको आधारमा अनुदान सहयोग गर्ने, सूचना केन्द्र स्थापना गर्ने उल्लेख छ । तानसेन नगरपालिकाले आव २०७६÷०७७ का लागि एक अर्बको बजेट प्रस्ताव गरेको छ ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभाका सदस्यहरू नेत्रप्रसाद गैरे, कुलप्रसाद नगरकोटी, प्रशान्त मल्ल, नारायण न्यौपाने र विष्णुबहादुर कार्कीले सुझाव तथा आफ्नो धारणा राख्नुभएको थियो । प्रस्तुत नीति तथा वार्षिक् कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । सभा तानसेन नगरपालिकाका प्रमूख अशोकुमार शाहीको अध्यक्षतामा संचालन भएको हो ।


सभामा तानसेन–१० का वडा अध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले आर्थिक विद्ययेक, वडा नं. १४ का अध्यक्ष कमल रानाले विनियोजन विद्ययेक र तानसेन–१ का अध्यक्ष रामप्रसाद बस्यालले स्वास्थ्य सेवा सम्बन्धी विद्ययेक प्रस्तुत गर्नुभएको थियो । सभामा तानसेन नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update