Erani Mahal
रुक्मागत शर्माकाे ‘नाचिहरन्छ कोही’ लघुकथा संग्रहको लाेकार्पण
64714866_1167285106809131_8554125022996725760_o-1

पाल्पा- स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी रुक्मागत शर्माले लेख्नुभएको दोस्रो साहित्यिक कृति ‘नाचिहरन्छ कोही’ लघुकथा संग्रहको एक भव्य समारोहको आयोजना गरी सार्वजनिक गरिएको छ । ‘नाचिहरन्छ कोही’ कृतिको लोकार्पण गर्दै वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार नवराज लम्सालले शर्माको लघुकथामा समाज मनोविज्ञान, सामाजिक बहुलता, सामाजिक जटिलता, नारी स्वतन्त्रता, प्रेम कुण्ठा, मानव अधिकार लगायतका विषय उल्लेख गरिएकाे बताउनुभयाे ।

अहिलेकाे नेपाली साहित्यिक सिर्जनामा मस्तिष्क बढी खेलेको र हृदय कम खेलेको भेटिन्छ, लम्सालले भन्नुभयो साहित्यमा देश, भुगोल, जाति, संस्कृति लेखिएन भने नेपाली मौलिकता जोखिममा पर्दै जानेछ । यौन, गाली, गरिवी मात्र नलेखेर कवि समाजप्रति जिम्मेवार हुनुपर्नेमा लम्सालले जोड दिनुभयो ।

साहित्यकार पुष्कर आचार्यले मानवीय चिन्तन र सोंच अभिव्यक्त गर्न लघुकथा सफल भएको बताउनुभयो । उहाँले कृतिमा घट्नाको बैठानमा समस्या, शीर्षकको पुुनरावृत्ती, व्यवस्थापनमा केही प्राविधिक कमजोरी रहेको पनि औंल्याउनुभयो ।


तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले लेखकका कृतिमा समाजका विम्ब झल्किने भएकाले कृतिकारमा परिपक्कता र निखारता झल्किनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिको विम्ब पनि कृतिले झल्काउने भएकोले मूलप्रवाहको लेखन र सामाजिक सचेतना जगाउने कृतिलाई साहित्यकारहरूबाट बाहिर आउनुपर्ने बताउनुभयो ।

तस्विर :

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष डुलबहादुर कुँवर, साहित्यकार मन गहिरे, लुम्बिनी मेडिकल कलेज पाल्पाका कार्यकारी अध्यक्ष गोपाल पोखरेल, औषधि व्यवसायी संघ ५ नं. प्रदेश अध्यक्ष शिव ज्ञवाली, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा लगायतले शर्माको कृतिले नव सर्जकलाई लेखनमा उत्प्रेरणा थपेको बताउनुभयो ।

धवल पुस्तकालयको प्रकाशन र साहित्यकार डा. शंकर गैरेको सम्पादन रहेको १३६ पृष्ठको कृतिमिा ८० वटा लघुकथा संग्रहित छन् । धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षता, सचिव टंक पन्थको स्वागत र महासचिव राजेशकुमार अर्यालको सञ्चालनका कार्यक्रम चलेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update