Erani Mahal
पाल्पाकाे दोभानमा पर्यटक केन्द्रित नयाँ होमस्टे
64894090_2393914667295674_8913312923212840960_n

पाल्पा - तिनाउ गाउँपालिकाकाे दोभानमा नयाँ होमस्टे शुरु भएको छ । तिनाउ गाउँपालिका वडा नं. २ स्थित झ्याङ्लामा शुरु गरिएको होमस्टेको मंगलबार बेलुका उद्घाटन गरिएको हो ।
यो संगै तिनाउ गाउँपालिकामा चारवटा होमस्टे संचालनमा आएका छन् ।

दोभानको झ्याङ्ला यसअघि नै प्रदेश ५ सरकारबाट स्मार्ट कृषि गाउँ घोषणा भइसकेको गाउँ हो । स्मार्ट गाउँलाई थप स्मार्ट बनाउन होमस्टे संचालन गरिएको स्थानीयले बताएका छन् । तिनाउ गाउँपालिकाको सहयोगमा स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिले होमस्टे संचालनमा ल्याएको हो ।


होमस्टे उद्घाटन कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले कृषिमा उत्कृटता हासिल गरेको गाउँमा होमस्टे संचालन गरेर जनताको आयआर्जनमा समेत टेवा पुर्याउने कोशिस गरिएको बताउनुभयो ।

कृषि उत्पादनले स्मार्ट बन्दै गएको झ्याङ्लामा होमस्टे संचालनपछि आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षण बढ्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो । होमस्टे संचालनका लागि गाउँपालिकाको सधै सहयोग रहने पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले अन्य ठाउँको भन्दा अझ उत्कृष्ट झ्याङ्लाको होमस्टे बनाउन सकिने भन्दै स्थानीय उत्पादनकै स्वाद दिने गरी खानाका परिकार बनाउन स्थानीयलाई सुझाव दिनुभयो । होमस्टेका नाममा कतिपय ठाउँमा विकृति देखिएको भन्दै उहाँले त्यस्ता विकृति झ्याङ्लामा हुन नदिइने विश्वास ब्यक्त गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुले स्थानीय उद्पादनलाई नै प्राथमिकतामा राखेर होमस्टे संचालन गर्नुपर्ने बताउनुभयो । स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीले स्मार्ट कृषि गाउँलाई सबै पूर्वाधारसहितको विकसित गाउँ बनाउन होमस्टे संचालन गर्न लागिएको बताउनुभयो ।

गाउँका अर्गानिक उत्पादन मात्र होमस्टेका परिकार हुने भन्दै उहाँले खाद्यान्य तथा माछामासुमा समेत झ्याङ्ला गाउँ आत्मनिर्भर भएको उल्लेख गर्नुभयो । होमस्टे संचालनपछि झ्याङ्ला आन्तरिक तथा बाह्य पर्यटककोे यस क्षेत्रको मुख्य आकषर्णको केन्द्र बन्न सक्ने विश्वास समेत गिरीले ब्यक्त गर्नुभयो । स्थानीय दिलु योञ्जन, रुद्र जीसी लगायतले बोल्दै होमस्टे संचालनपछि स्मार्ट गाउँ थप स्मार्ट हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय परिकारले पाहुनलाई स्वागत गर्नुको साथै सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।


यस होमस्टेमा हाललाई सभा हलसहित चारवटा कोठाको भवन तयार गरिएको छ । निकट भविश्यमै झ्याङ्लाका सातवटा घरमा पाहुनलाई बसाउने ब्यवस्था मिलाईने अध्यक्ष गिरीले बताउनुभयो । तिनाउ गाउँपालिकामा यसअघि सुकेताल, सत्यवती र जन्तीलुङमा होमस्टे संचालन भईसकेका छन् । तर सत्यवतीको होमस्टे बाहेक अन्य होमस्टे भने ब्यवस्थित छैनन् ।

संचालनको शुरुवातमा केही समय निकै चर्चा पाएको सुकेताल होमस्टे विस्तारै ओझेल परेको छ । ब्यवस्थापकीय कमजोरी साथै नजिकै ढुंगा खानी संचालनपछि यहाँको भौगोलिक आकर्षण समेत विस्तारै घट्दै गएको सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update