Erani Mahal
सामसुङको फोल्डेबल माेबाइल बजारमा आउने
555

सामसुङको अल्ट्रा प्रिमियम स्मार्टफोन सामसुङ ग्यालेक्सी फोल्ड प्राप्त गर्न प्रयोगकर्ताहरुले अझै केही समय कुर्नुपर्ने भएको छ ।

कोरियन हेलाल्डको रिपोर्ट अनुसार सामसुङले यसअघि भनिएको जुलाई महिनामा सामसुङ फोल्ड स्मार्टफोन लञ्च गर्नेछैन ।

यसअघि सामसुङको फोल्डेबल फोन अप्रिल महिनामा र त्यसपछि जुलाई महिनामा बजारमा ल्याउने बताइएको थियो ।

तर अप्रिलको मितिमा फोल्डेबल फोन बजारमा आएन भने जुलाई महिनाको मिति पनि टर्ने देखिएको रिपोर्टमा उल्लेख छ ।

फोल्डेबल फोनको डिस्प्लेमा देखिएको समस्याका कारण फोनको लञ्चिङमा ढिलाइ भइरहेको बताइएको छ । यद्यपि सामसुङका अधिकारीहरुले भने फोल्डेबल फोनको डिस्प्लेमा देखिएको समस्याको समाधान गरिसकिएको बताएका छन् ।

समाचार अनुसार सामसुङले आफ्नो रिडिजाइन्ड मोडेलको परीक्षणको काम अमेरिकाका विभिन्न ३ वटा मोबाइल कम्पनीसँग गरिसकेको छ । ग्यालेक्सी फोल्डका फिचर्सका बारेमा कुरा गर्दा यसमा ७.४ इन्चको इन्फिनिटी भी फ्लेक्स डिस्प्ले रहेको छ । डिस्प्लेको रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल रहेको छ ।

फोल्ड गरिसकेपछि फोनको आकार घटेर ४.६ इन्चको बन्दछ र त्यसको डिस्प्ले रिजोलुसन ८४० गुणा १९६० पिक्सेल रहेको छ ।

ग्यालेक्सी फोल्डमा ७ एनएम क्षमताको प्रोसेसर सँगै १२ जिबीको र्याम रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा, १२ मेगापिक्सेलको टेलिफोटो क्यामरा तथा अर्को १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा रहेको छ ।

फोनको सेल्फी क्यामरा १० मेगापिक्सेलको रहेको छ । यो फोन एन्ड्रोइड नाइन पाइमा आधारित सामसुङ वान युआई अपरेटिङ सिस्टममा चल्दछ । यसको ब्याट्री ४३८० मिली एम्पिएर आवरको रहेको छ । - एजेन्सी ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update