Erani Mahal
विदेशबाट फर्किएर भैँसीपालनमा रमाउँदै पाण्डे
IMG_1168-vaisi-palan

पाल्पा - स्वदेशमै मिहिनेत र परिश्रम गरे त्यसको फल अवश्य प्राप्त हुन्छ भन्ने प्रमाणित यहाँका एक किसानले गर्नुभएको छ । युवा कमाउन गाउँघर र परिवार छाडेर विदेशमा गएका बेला तानसेन–९, मदनपोखराका किसान टोपबहादुर पाण्डेक्षेत्री भने विदेशबाट फर्किएर परिवारसँगै मिलेर व्यावसायिक भैँसी पालन सुरु गरेपछि राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।


खाडी मुलुकमा पाँच वर्ष विदेशमा बस्नुभएका टोपबहादुरले विदेशमा दुःख पाएपछि घरमै आएर भैँसीपालनमा रमाउनुभएको हो । किरण डेरी फर्म खोलेर पाँच वटा भैसीसँगै उहाँ रमाउन थाल्नुभएको छ । वि.स. २०७० सालमा एउटा दुहुनो भैँसीबाट व्यावसायिक भैँसीपालन सुरु गर्नुभएका टोपबहादुरले २०७३ सालदेखि निरन्तर पाँच वटा दुहुनो भैँसी पालेर दुध बिक्री गर्दै आउनुभएको छ ।

तस्विर : सुमन कार्की ।


विदेशमा गरेको दुःख स्वदेशमै गर्ने हो भने त्यो भन्दा राम्रो गर्न सकिने रहेछ टोपबहादुरले आफ्नो अनुभव सुनाउनुभयो । अहिले विदेशमा भन्दा दोब्बर आम्दानी गरेको छु । सानो परिवारलाई सुख दिन विदेशमै जान नपर्ने रहेछ टोपबहादुरले थप्नुभयो घरपरिवार मिलेर घरमै केही गर्ने हो भने विदेशमा भन्दा धेरै सुख गरेर बढी आम्दानी गर्न सकिने रहेछ । विदेशमा रहँदा मासिक ३५ हजार कमाई भएको तर स्वदेशमै खर्च कटाएर दोब्बर कमाएको उहाँले बताउनुभयो ।


उहाँको फर्मबाट अहिले दैनिक ३० लिटरभन्दा बढी दुध घरैबाट बिक्री भईरहेको छ । भैँसीको दुध भएकाले स्थानीय उपभोक्ताहरू घरमै दुध लिन आउने गरेको टोपबहादुरले बताउनुभयो । बजारमा भैँसीको दुधको प्रतिलिटर मुल्य ८० रुपियाँ छ । दही र घ्यु पनि बिक्री घरबाटै बिक्री भईरहेको छ । यसबाट आफूले खर्च कटाएर मासिक ७० हजारभन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो । दैनिक ५० लिटरभन्दा बढी दुध बिक्री गर्ने लक्ष्य सहित अझैँ भैँसी थप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।


टोपबहादुरलाई भैँसीपालनमा आमा र श्रीमतीले समेत सघाउनुभएको छ । श्रीमती उमा र आमा पूर्णकलाले भैँसीपालनमा आफूलाई साँझबिहान सघाएको उहाँको भनाई छ । भैँसीका लागि घाँसको व्यवस्थापन गर्न ३० रोपनी जग्गा समेत लिजमा लिएर घाँस लगाएको टोपबहादुरले बताउनुभयो ।
विदेशबाट फर्किएका युवालाई सरकारले अनुदान र सहुलियत दरमा ऋण दिने भने पनि आफूले भने अनुदान नपाएको उहाँको गुनासो छ ।

वडापालिका, नगरपालिका कहीकतैँबाट पनि अनुदान पाएको छैन उहाँले भन्नुभयो फर्म दर्ता गरेर अनुदान पाउने भनेपनि फर्म दर्ता गरेर पनि अनुदान अहिलेसम्म पाएको छैन ।

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update