Erani Mahal
पाल्पा र दैलेखको पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
petroliam-khani-1

पाल्पा– पाल्पा र दैलेखमा रहेको पेट्रोलियम पदार्थको अनुसन्धान गर्न चिनियाँ विशेषज्ञको टोली नेपाल आउने भएको छ । २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी अनुसार चिनियाँ टोलीले यहाँको पेट्रलियम पदार्थको सम्भाव्यता, परिणाम, उत्खनन् लगायतका विषयमा अध्ययन गर्न नेपाल आउने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा चिनसँग नेपालमा भएका पेट्रोलिय पदार्थको अनुसन्धान र उत्खनन् कार्यको लागि समझदारी भएको थियो । सोही अनुसार पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा चिनियाँ टोलीले अध्ययन गर्ने तयारी गरिएको छ । चिनियाँ टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम विज्ञ टोलीले गर्नेछ ।


पाल्पाको मस्याम र दैलेखको पादुका लगायतको क्षेत्रबाट पेट्रोलिय पदार्थ, ग्याँस निस्कने विभागको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लामो प्रक्रिया र कसरतपछि खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेसँग १६ फागुनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधीर रजौरेका अनुसार चिनियाँ टोली सन् २०१९ को जुनको पहिलो हप्ता भित्रमा नेपाल आउने तयारी गरेको छ ।


शुरुको समझदारी अनुसार काम भएको भए यतिखेर नेपालको भूभागभित्र के कति मात्रामा पेट्रोलियम पदार्थ छ र आर्थिक रुपमा त्यस्ता खानी सञ्चालनमा ल्याउन सम्भव हुन्छ कि हुँदैन भन्ने समेत पत्ता लागिसक्थ्यो । ढिलै भए पनि चीनको चाइना जिओलोजिकल सर्भेको टोली नेपाल आउन लागेको छ । टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ ।


इन्धन भण्डार पत्ता लगाउन विभिन्न क्षेत्रमा ड्रिलिङ गर्ने र भण्डार के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ । पत्ता लागेका खानीमा विशेष अध्ययन गरेपछि मात्रै पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रुपमा सम्भाव्य भए नभएको पत्ता लगाउनेछ । विभागका उपमहानिर्देशक सुधीर रजौरेले भन्छन् ‘चिनियाँ टोलीले पहिलो चरणमा पूर्वतयारीको काम गर्नेछ । पूर्वतयारी सम्पन्न गरेपछि प्राविधिक टोलीले आगामी वर्षदेखि मात्रै ड्रिलिङको काम गर्नेछ ।’


अध्ययनपछि मात्रै नेपालको भूभागभित्र रहेको इन्धनको भण्डार र क्षमता कति छ ? खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भव छ वा छैन ? भन्ने तथ्यसमेत पत्ता लाग्ने भएकाले पूर्वतयारीको काम थप बढी प्रभावकारी बनाउनु आवश्यक छ । सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो ।


दैलेखको पादुका क्षेत्रमा बलिरहेको ज्वालाले पेट्रोलियम पदार्थ छ भन्ने देखाए पनि त्यहाँ के कति मात्रामा उपलब्ध छ भन्ने विषय पत्ता लगाउन भने थप अध्ययन तथा ड्रिलिङको आवश्यकता पर्ने रजौरेले बताउनुभयो ।
जानकारहरुका अनुसार चुरे पर्वत शृङ्खलाको आसपासमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको छ । मोरङको बाहुनी भन्ने स्थानमा त ०४२ सालमा नै पत्ता लागेको थियो । नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा अध्ययन गरिएको थियो ।


इटालीको साइपम नामक कम्पनीले तीन हजार ५०० मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो । तर लामो समयसम्म बाहुनी क्षेत्रमा अन्वेषणको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । विसं २०७२ को वैशाखमा चिनियाँ टोलीले सोही क्षेत्रमा स्थलगत निरीक्षणबाहेक हालसम्म अरू काम अगाडि बढेको छैन ।


भारत र पाकिस्तानले पनि चुरे जस्तै पर्वत शृङ्खलाको आसपासमा भएको पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धान गरिरहेको छ । त्यस आधारमा पनि नेपालको चुरेभन्दा दक्षिणको क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update