Erani Mahal
बेलचौर प्रावि कचलको २२ औं वार्षिकउत्सव सम्पन्न
61373557_2295783400673232_7297911255728128000_n-1

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. १ कचल आरखोङ्दीमा रहेको बेलचौर प्राथमिक विद्यालयको २२ औं वार्षिकउत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमान सिंह चिदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले विद्यालयको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यार्थी, अभिभावक र शिक्षकको तालमेल भएमा शैक्षिक विकास गर्न सकिने बताउनुभयो । सोही अवसरमा प्रमुख अतिथि घर्तीले विद्यालयको दुईकोठे भवनको उद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले आफू २०५४ सालमा गाविस अध्यक्ष हुँदा विद्यालयको स्थापना गरेको बताउँदै विद्यालयको शैक्षिक र भौतिक सुधारमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा सदस्य देउबहादुर पुन, स्थानीय बुद्धिजीवि धनबहादुर घर्ती, भीम बहादुर घर्ती, खड्क पुन, लगायतले विद्यालयको प्रगतिको शुभकामना दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक टोमबहादुर पुनले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र आय व्यय प्रतिवेदन पेश गर्नुभएको थियो । शिक्षक इन्द्रा चिदीको स्वागत, कर्णबहादुर उचैले कार्यक्रम संचालन गर्नुभएको थियो ।
विद्यालयमा २ पक्की भवन, २ शिक्षक दरबन्दी सहित ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update