Erani Mahal
शिद्धबावा क्षेत्रमा सुरूङ् मार्ग निर्माण गर्न एक अर्ब बजेट विनियाेजन
20150406_155027

पाल्पा - सिद्धार्थ राजमार्ग अन्तर्गतकाे दाेभानदेखि चिडियाखाेलासम्मकाे क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न एक अर्ब बजेट विनियोजन भएको छ । संघीय सरकारले आव २०७६/०७७ का लागि प्रस्तुत गरेको बजेटमा शिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न एक अर्ब बजेट विनियोजन गरेको हो ।

लामो समयदेखि सुरुङ् मार्ग बनाउन या अरु नै प्रविधि अपनाउने भन्ने विषयमा अध्ययन् गरेको सरकारले यो वर्षदेखि काम सुरु गर्ने गरी बजेट विनियोजन गरेको जनाएको छ । पूर्वमन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेयले सुरुङ् मार्गको डिटेल प्रोजेक्ट निर्माणको अन्तिम चरणमा रहेकाले अब छिट्टै यो बाटो बन्न सुरु हुने विस्वास गर्नुभयो ।

प्रतिनिधिमुलक तस्विर, स्राेत गुगल ।

संघीय सरकारको प्राथमिकतामा रहेको यो मार्ग निर्माण गर्न अहिले स्वीस् सरकारले नै प्राविधिक टोली खटाएर डिटेल प्रोजेक्टको अध्ययन् तथा छलफल गरिरहेको छ । डिटेल प्रोजेक्ट तयार भएपछि सरकारले नै काम सुरु गर्ने योजना छ । याे सडक क्षेत्रमा भएकाे जाेखिम न्युनीकरण गर्न र सुरूङ् मार्ग निर्माण गर्न पूर्व मन्त्री एवं संघीय सांसद दलबहादुर रानाले समेत भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

- सिद्धार्थ राजमार्गको शिद्धबावा क्षेत्रमा सुरुङ् मार्गको काम यसै वर्ष सुरु हुनेछ ।
- सिद्धार्थ राजमार्गको चौडा गर्न दुई अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।
- तानसेन खानेपानी, ख्याहा खानेपानीका लागि समेत बजेट छुट्याएको छ ।
- कालीगण्डकी कोरिडोर र मदनभण्डारी राजमार्गका लागि बजेट विनियोजन भएको छ ।

सांसद पाण्डेयले आफू विगतदेखि नै यो सडकमा देखिएको समस्या समाधान गर्न निरन्तर लागेको बताउँदै त्यसमा विविध विकल्प अपनाइएको तर सुरुङ् मार्ग नै बनाउनुपर्ने निष्कर्ष आएको बताउनुभयो । उहाँले अहिले आवश्यक परेको स्थानमा सुरुङ् मार्ग (१ हजार ७ सय मीटर) बनाउने गरी तयारी भईरहेको बताउनुभयो ।

त्यसका लागि करिब ७ अर्ब बजेट लाग्नेछ । उक्त मार्ग बनाउन नपुग बजेट जुटाउन विभिन्न दातृ निकायसँग छलफल भईरहेको पाण्डेयको भनाई छ । यस भेगका सर्वसाधारण नागरिकको चासोको केन्द्रमा रहेको शिद्धबावा खण्डको बैकल्पिक मार्गको रुपमा सुरुङ् मार्गलाई अघि सारिएको हो ।

फाइल तस्विर ।

सुरुङ् मार्ग बनेपछि यो सडक भएर आवतजावत गर्ने यात्रुलाई सहज हुनेछ । अहिले बाहै्र महिना सडकमा पहिरो खस्ने, हिलो हुने तथा सडक जाम हुँदा यात्रुहरूले सास्ती बेहोर्न बाध्य छन् । उक्त सडकखण्डमा पहिरो खस्ने र सडक जाम हुने समस्याले यस सडकमा यात्रा गर्ने यात्रुले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था समेत छ ।

- सिद्धबावा क्षेत्रमा मात्र वर्षमा २० भन्दा बढीले ज्यान गुमाउनु परेको छ ।
- माथिबाट वर्षात्देखि हिउँदमा समेत पहिरो खस्ने गरेको छ ।
- पहिरोले राजमार्गमा हिडेका सवारी र यात्रु च्यापिने गरेका छन् ।
- ५ नं. प्रदेश सरकारले समेत यो मार्गको विकल्प खोजिरहेको छ ।
- सडकको विजोग बन्दा सर्वसाधारणले सरकार र नेताको आलोचना गर्ने गरेका छन् ।

चुनावताका र चुनाव अघिपनि नेताहरूले सिद्धबावा क्षेत्रको सडकको विकल्पमा योजना अगाडि बढाउने घोषणा र प्रतिबद्धता गरेका थिए । यो सडकलाई प्रदेश सरकारले समेत विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

प्रदेश सरकारले समेत संघीय सरकारसँग सहकार्य गर्ने र यो सडकको विकल्पमा बैकल्पिक सडक बनाउन भनेर गत वर्षदेखि नै योजना तथा बजेट विनियोजन गर्दै आएको ५ नं. प्रदेश सभासद् तुलाराम घर्तीमगर (वसन्त)ले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update