Erani Mahal
अष्ट्रेलियामा चल्याे चालक बिहीन रेल
train_QvUORYwxOU

सिड्नी । अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ ।

यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको अष्ट्रेलियाको एक अनलाइन पोर्टल नाइन न्यूजले लेखेको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ ।


सिड्नी मेट्रो रेलमा कार्यरत नेपाली इन्जिनियरहरु अर्जुन पोखरेल, शिशिर नेपाल र अनन्त कार्की पनि छन् । उनीहरुले भने, ‘चालकविहीन नभए पनि अष्ट्रेलियामा चल्ने लाइट ट्रेन जस्तै रेल सेवा नेपालमा पनि सन्चालन गर्न सम्भव छ ।’

बेलाबिस्ता भन्ने स्टेसनबाट चढेका एक जना नेपाली इन्जिनियर विनोद श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सिड्नीको पहिलो चालकविहीन रेल सेवा अष्ट्रेलिया पूर्वाधारको रुपमा आधुनिक भएको उदाहरण हो ।’

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update